सम्पादकीयः बजेट उपलब्ध गराऊ
कोरोना महामारी बढ्दो क्रममा छ । कर्णालीमा पनि पछिल्लो समय संक्रमणको दर बढि रहेको छ । यद्यपी सरकारी प्रयासहरु पनि जारी छन् । देशका अन्य प्रदेशको तुलनामा कर्णालीमा कोरोनाको संक्रमण र मृत्युदर कम छ । तर पनि यसो भनेर रोकथाम र उपचारका प्रयासहरु नै नगर्ने अवस्था छैन । सुरुका चरणमा संक्रमणको दर घटाउन कर्णालीमा भएका प्रयासहरुको आलोचना भयो । तर पनि यहाँको स्रोत र साधन अनुसार ति प्रयासहरुले केही हदसम्म रोकथाम गरे । सुरुवातकै चरणबाट कोरोना रोकथाममा स्थानीय तह र प्रदेश सरकारले बजेट कोरोना रोकथाममा लगानी गरे । राहत र स्वास्थ्य सामग्री खरिदमा पनि बजेट खर्च भयो । तर कति सदुपयोग भयो वा भएन त्यसको लेखाजोखा हुने नै छ । तर स्थानीय र प्रदेश सरकारले बजेट अभाव हुन दिएनन् । बरु विनियोजन भएको र जिल्लामा पठाइएको बजेट खर्च हुन सकेन । यस्तो अवस्था रहेको कर्णालीमा पछिल्लो समय भने कोरोना रोकथाम र उपचारमा बजेट अभाव भएको गुनासो सुनिन थालेको छ ।

देशका अन्य प्रदेशमा कोरोनाको उपचारमा प्रभावकारी मानिएको प्लाज्मा थेरापी विधि सुरु भएको छ । तर हालसम्म कर्णालीमा यसको सुरुवात हुन सकेको छैन । अस्पताल र चिकित्सकहरुका अनुसार बजेट अभावमा यो सेवा सुरु हुन नसकेको बुझिएको छ । वास्तवमा यो राम्रो र सुखद् खबर भने होइन । कोरोना महामारी कर्णालीको समस्या मात्र होइन । आज विश्वका शक्तिशाली भनिएका देशमा पनि अवस्था जटिल छ । यस्तो अवस्थामा राज्यको सबै शक्ति र स्रोतको लगानी हुनुपर्ने हुन्छ । तर कर्णालीमा प्रदेश र स्थानीय सरकारले चाहेमा बजेट अभाव हुने भन्ने हुँदैन । तर पनि जनशक्ति, प्रविध, उपकरण र क्षमता हुँदाहुँदै पनि किन प्लाज्मा थेरापी सेवा सुरु गर्न सकिएन ? आज यो प्रश्न गम्भिर रुपमा उठेको छ । प्रदेश अस्पताल प्रशासनले त यो सेवा सुरु हुन नसक्नुको मुख्य कारण बजेट अभाव भनेको छ । यदी यसो हो भने प्रदेश सरकारले किन बजेट उपलब्ध गराउन सकेन ? महामारी नियन्त्रण र नागरिकको ज्यान जोगाउने विषयमा किन ढिलासुस्ती ? यसबारे प्रदेश सरकारले अब कुनै पनि वहानामा अलमल र आनाकानी गर्नु हुँदैन ।
जटिल खालका कोरोना संक्रमितलाई अहिले पनि उपचारका लागि प्रदेश बाहिर पठाउनुपर्ने बाध्यता छ । कर्णामलीमा सम्भावना भएर पनि सेवा सुरु हुन नसक्नु दुखद् हो । यसतर्फ यहाँको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वले किन वेवास्ता गरेको ? स्वास्थ्य र मानिसको ज्यानभन्दा ठूलो अरु केही हुन सक्दैन । यसकारण पनि कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा यसलाई घटाउने उपायबारे अब गम्भिर भएर सोच्नै पर्दछ । महामारी नियन्त्रणमा कुनै पनि हालतमा बजेट अभाव हुनु हुँदैन । बरु विकास खर्च काटेर कोरोनाको उपचारमा बजेट लगानी गर्नु पर्दछ । यसतर्फ प्रदेश सरकारले बेलैमा गम्भिर बनोस् । आवश्यक बजेट उपलब्ध गराएर यो सेवा सुरु गरोस् ।





