२०८२ बैशाख १७ गते
×

Now Playing

बर्सेनी साढे दुई अर्बको क्षति

सुर्खेत, ३० असार ।

कर्णालीमा प्राकृतिक प्रकोपका कारण बर्सेनी अर्बौको क्षति हुने गरेको छ । बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपबाट हरेक वर्ष नागरिकले ज्यान गुमाउने गरेका छन् । यस्तै भौतिक क्षति पनि धेरै हुने गरेको सरकारी तथ्याकंले देखाएको छ ।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार कर्णालीमा बार्षिक साढे दुई अर्ब भन्दा बढीको क्षति हुने गरेको छ । प्रहरीको तथ्याङक अनुसार चालु आर्थिक वर्षमा प्राकृतिक प्रकोपबाट प्रदेशले दुई अर्ब ६३ करोड १९ लाख २३ हजार दुईसय सात रुपैयाँ बराबरको भौतिक तथा आर्थिक क्षति बेहोरेको छ । जसमध्ये पनि बाढी र पहिरोबाट सबैभन्दा बढी धनजनको क्षति हुँदै आएको छ । यस्तै चालु आर्थिक वर्षमा बाढी र पहिरोबाट ३१ जनाको मृत्यु भएको छ ।

त्यस्तै ३२ जना घाइते भएका छन् । बाढीबाट प्रदेशमा एक अर्ब दुई करोड ७० लाख ३८ हजार नौ सय ३४ रुपैयाँ क्षति पुगेको छ । चालु आर्थिक वर्षमा प्रदेशभर दुईसय ९४ वटा स्थानमा बाढी गएको छ । यो आर्थिक वर्षमा मात्र सुर्खेतमा एकसय ५१, दैलेखमा ११, कालिकोटमा चार, जुम्लामा २६, हुम्लामा १५, जाजरकोटमा २५, सल्यानमा १४ र रुकुमपश्चिममा ४८ वटा स्थानमा बाढी गएको छ ।

बाढीले ११ वटा पशु चौपाया मरेका छन् । त्यस्तै पछिल्लो एक वर्षको अवधिमा कर्णालीमा एकसय ३८ स्थानमा पहिरो गएको छ । जसमध्ये दैलेखमा ६, कालिकोटमा चार, हुम्लामा चार, डोल्पामा १४, जाजरकोटमा ४५, सल्यानमा १३ र रुकुमपश्चिममा ५२ स्थानमा पहिरो गएको छ । पहिरोबाट १८ वटा पशु चौपाया मरेका छन् । यही अवधिमा पहिरोबाट ६४ करोड २८ लाख सात हजार चार रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै चट्याङबाट ८५ लाख १४ हजार पाँच रुपैयाँ बराबरको क्षति भएको छ । प्रदेशभर एक वर्षमा ४९ स्थानमा चट्याङ परेको छ । चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । त्यस्तै चार सय ७९ वटा पशु चौपाया मरेका छन् । जसमध्ये सुर्खेतमा आठ, दैलेखमा १३, कालिकोटमा चार, जुम्लामा एक, जाजरकोटमा दुइ, सल्यानमा १२ र रुकुमपश्चिमा विभिन्न नौ वटा स्थानमा चट्याङ परेको छ ।

त्यस्तै हावाहुरीबाट एक करोड ३५ लाख ८५ हजार नौं सय ९१ रुपैयाँ बराबरको क्षति भएको छ । हावाहुरीबाट दुई जना नागरिक घाइते हुँदा दुइ वटा पशु चौपायाको मृत्यु भएको छ । हावाहुरीले दैलेखका तीन, मुगुमा चार, हुम्लामा तीन, डोल्पामा दुई, जाजरकोटमा एकसय ८४, सल्यानमा १५ र रुकुमपश्चिममा एक ठाउँमा गरी दुई सय १२ वटा स्थानमा क्षति पुगेको छ ।

त्यस्तै प्रदेशभर चालु आर्थिक वर्षमा एकसय ६० स्थानमा आगलागी हुँदा एक अर्ब १५ करोड ६४ लाख आठ हजार आठसय ७० रुपैयाँ क्षति भएको छ । आगलागीबाट सुर्खेत, जुम्ला, सल्यान र रुकुमपश्चिमा गरी चार जनाको मृत्यु भएको छ । त्यस्तै सात जना नागरिक घाइते हुँदा ८१ वटा पशुचौपाया मरेका छन् ।

आगलागीका घटना मध्ये मुगुमा सबैभन्दा बढी अर्थात ३८, सुर्खेतमा १९, दैलेखमा १५, कालिकोटमा दश, जुम्लामा आठ, हुम्ला र डोल्पामा ६÷६, जाजरकोटमा ३३, सल्यानमा १४ र रुकुमपश्चिका ११ घटना भएका छन् । त्यस्तै जुम्ला र डोल्पामा चार÷चार स्थानमा हिमपहिरो जाँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । त्यस्तै २७ लाख ३८ हजार चारसय रुपैयाँ बराबरको क्षति भएको छ ।

सुर्खेतमा धेरै क्षति

कर्णालीका दश जिल्ला मध्ये प्राकृतिक प्रकोपबाट सुर्खेतले सबैभन्दा बढी क्षति व्यहोरेको छ । तथ्याङकअनुसार चालु आर्थिक वर्षमा बाढीपहिरो, हावाहुरी र आगलागी जस्ता घटनाबाट सुर्खेतमा एक अर्ब ४२ करोड ८२ लाख चारहजार ६ सय रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै दैलेखमा ६ लाख ८२ हजार सातसय पाँच रुपैयाँ, कालिकोटमा ६५ लाख एक हजार ६ सय, जुम्लामा पाँच करोड ५० लाख तीनहजार ७० रुपैयाँ, मुगुमा ९४ करोड ४३ लाख ३४ हजार ६ सय, हुम्लामा तीन करोड २४ लाख तीन हजार दुईसय, डोल्पामा ९८ लाख, २९ हजार सातसय ७६ रुपैयाँ, जाजरकोटमा ७६ करोड ४४ लाख आठहजार ६ सय ५६ रुपैयाँ, सल्यानमा ५१ लाख १५ हजार र रुकुमपश्चिममा चार करोड १७ लाख ६२ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

विपद् प्रतिकार्यमा जुट्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद् प्रतिकार्यमा केन्दित्र हुन सबैलाई आग्रह गरेका छन् । पछिल्लो समय बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति हुन थालेपछि उनले प्रतिकार्यमा केन्द्रित हुन सुरक्षा निकाय र जनप्रतिनिधि लगायतलाई आग्रह गरेका हुन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले अबको तीन महिना प्रतिकार्यका खटिनुपर्ने बताए ।

विपद्को जानकारी हुने वित्तिकै उद्दारकार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । वर्षायामको शुरुवातसँगै बाढी, पहिरो, डुवान र सडक अवरोध लगायतका विपद्का घटनाहरु बढ्ने भन्दै मुख्यमन्त्री शाहीले उच्च सतर्कता र प्रतिकार्यको तयारीलाई बलियो र प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले जनपथ प्रहरीको नेतृत्वमा हरेक स्थानीय तहमा उद्दार टोली निर्माण गरी सक्रिय बनाउने, उद्धार कार्यका लागि आवश्यक सामग्रीको व्यवस्था मिलाउने, विपद्बाट प्रभावित समुदायको लागि खाद्यान्न, लत्ताकपडा लगायतका वन्दोवस्तीका सामग्री व्यवस्थापन गर्ने, यातायात पहुँच भएका क्षेत्रमा एम्वुलेन्स र पहुँच नभएका क्षेत्रका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिने बताए । त्यस्तै पहिरोका कारण सडक अबरुद्ध हुन नदिन जोखिमपूर्ण सडकहरुमा स्काभेटर तयारी अवस्थामा राख्न पनि निर्देशन दिए ।

बर्सेनी साढे दुई अर्बको क्षति

बजारमा सोलार बत्ती जडान

Leave a comment

Your email address will not be published. Required fields are marked *