डेढ करोड लगानीमा विद्यालय भवन निर्माण

जुम्ला, २२ असोज ।
विकास साझेदार संस्था दातृ निकाय युएनडिपी, किर्डाक नेपाल र तिला गाउँपालिकाको संयुक्त लगानीमा विद्यालय भवन निर्माण गरिएको छ । सो गाउँपालिका–५ ढिमकोटमा डेढ करोड लगानीमा विद्यालयको भौतिक संरचना निर्माण भएको छ । युएनडिपीको ८५ लाख २६ हजार ४ सय र तिला गाउँपालिकाको ५५ लाख गरी जम्मा एक करोड ५५ लाख ८४ हजार रुपैया बढीको लागतमा दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि सामुदायिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विद्यालय भवन निर्माण गरिएको हो ।

विद्यालय पहुँच बाहिर रहेका किशोरीलाई विद्यालय पहुँचमा ल्याउन मैत्रीपूर्ण शौचालयदेखि पुस्तकालय, विद्यालय व्यवस्थापन समितिको छुट्टै बैठक हल, सफा कक्षाकोठा र डेक्स–बेन्चसहितको दुईतले आठकोठे पक्की नमूना भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको किर्डाक नेपाल जुम्लाका संयोजक रेशम शाहीले बताए । किर्डाक नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त भवन जिल्लाकै नमूना सुविधायुक्त छ । महिनावारी भएको बेला विद्यालयमा नआउने किशोरीलाई विद्यालयको पहुँचमा ल्याउन स्यानिटरी प्याडदेखि छुटाछुटै शौचालयको व्यवस्था गरिएको किर्डाक नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले बताए ।
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले दिगो विकास लक्ष्यको अवधारणाअनुसार नै शिक्षा क्षेत्रको लगानीमा जोड दिइएको बताए । जिल्लाकै नमूना भवन निर्माण भए पनि भवनजस्तै नमूना र गुणस्तरीय शिक्षा दिने चुनौती आएकाले योजनाबद्ध ढङ्गबाट शिक्षा क्षेत्रको सुधारमा अघि बढ्ने उनले प्रतिबद्धता जनाए । विभिन्न योजना अनुगमनका क्रममा जुम्ला पुग्नुभएका कर्णाली प्रदेश सामाजिक विकासमन्त्री दल रावलले दक्ष जनशक्ति उत्पादन गर्न, स्वावलम्बन नागरिक बनाउन, शिक्षा क्षेत्र पहिलो जग भएको बताए ।






