काठमाडौं, २४ जेष्ठ ।
सोती घटनाको छानबिन गर्न संसदीय समिति गठन गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ संसदीय समिति गठन गर्न माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले समिति गठनको घोषणा गरेका हुन् । प्रतिनिधिसभाको नियमावली १७७ बमोजिम संसदीय विशेष समिति गठन हुने सभामुख सापकोटाले सदनलाई जानकारी दिए । सो समितिमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलबाट प्रतिनिधित्व हुनेछ । दलहरूसँग परामर्श गरी समितिमा रहने सदस्यहरू तय गरिने उनले बताए ।
१० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन जाजरकोटबाट गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो । उनीहरूलाई गाउँलेले कुटपिट गरी भेरी नदीमा फालेको पीडित पक्षको दाबी छ । अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनालाई प्रमुख विपक्षी कांग्रेसले नरसंहारको संज्ञा दिँदै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका थियो । शुक्रबारको बैठक सुरु हुनासाथ सचेतक पुष्पा भुसालले संसदीय समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएकी थिइन् । लगत्तै सभामुख सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् ।
युग संवाददाता । । २४ जेष्ठ २०७७, शनिबार ०८:१६