चौरजहारी सामुहिक हत्या घटनाप्रति ध्यानाकर्षण

सुर्खेत, १४ जेष्ठ ।
जिल्ला स्थित अधिकारकर्मी तथा विभिन्न नागरिक संघ संस्थाहरुले रुकुम पश्चिमको चौरजहारीमा जातिय विभेदको कारण कुटपिट गरी हत्या गरिएको घटनाप्रति आफुहरुको ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले जेठ १३ गते संयुक्त विज्ञप्ति जारी गरी ध्यानाकर्षण भएको जनाएका हुन ।

विज्ञप्तिमा रुकुमपश्चिम चौरजहारी नपा–८ सोतीगाउँमा जेठ १० गते साँझ कुटपिटबाट जाजरकोट जिल्ला भेरी नपा–४ का २१ वर्षीय नवराज विश्वकर्मा भेरी न.पा. ११ का १७ बर्षिय गणेश विएम र रुकुम जिल्ला चौरजहारी न.पा.–१ का २० वर्षीय टीकाराम विश्वकर्माको शव फेला परेको र अन्य तीन जना व्यक्ति सम्पर्कमा नआएको भनि विभिन्न संचार माध्यममा आएको घटनाका सम्बन्धमा कर्णाली प्रदेशमा कार्यरत हामी अधिकारकर्मी नागरिक संघ संस्थाहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

जाजरकोट जिल्ला भेरी न.पा.– ४ का नवराज विश्वकर्मा र १७ वर्षीया एक युवती बीच प्रेम सम्बन्धपछि उनीहरूको भागी विवाहका लागि साथ दिन गएका भनिएका व्यक्तिमाथि चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायतको संलग्नतामा कुटपिट भएको भन्दै प्रहरीले १० जनालाई गिरफ्तार गरेको तथा तीन जना व्यक्तिको शव फेला परेको र जाजरकोट जिल्ला भेरी नपा–११ का तीन जना क्रमशः १८ वर्षीय लोकन्द्र सुनार, १७ वर्षीय गोबिन्द शाही र २१ वर्षीय सञ्जु बिक हालसम्म घरपरिवारको सम्पर्कमा नभएको खुल्न आएको घटनाले स्तब्ध बनाएको विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्तीमा  भनिएको छ ‘जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन २०६८’ तत्कालीन व्यवस्थापिका संसदबाट छुट्टै कानून पारित भएको जेठ १० गते दलित समुदायले उत्सव मनाउने दिवसको दिन कर्णाली प्रदेशको एक मात्र छुवाछूतमुक्त स्थानीय तह चौरजहारी नगरपालिका क्षेत्रमा भएको यस घटना दुःखदायी भएको हाम्रो ठहर छ । घटनाको निष्पक्ष छानबिन, दोषी पत्तालगाई संलग्न व्यक्तिलाई कानुनी कारबाही र पीडित परिवारको न्यायमा कमीकमजोरी हुन नदिन सरकारका निकाय र सरोकारवाला सबै पक्षको ध्यानाकर्षण गराउँदै दोषीलाई कडा भन्दाकडा कारवाहीको माग पनि गर्दछौँ ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा उच्च वार एशोसियसन वीरेन्द्रनगर सुर्खेत, इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत, गैसस महासंघ कर्णाली प्रदेश, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश, आवाज, कर्णाली प्रदेश दलित अधिकार सञ्जाल, स्याक, गैसस महासंघ, सुन्दर नेपाल संस्था मानव अधिकार एलाइन्स, दलित महिला संघ र स्थानीय सरोकार समुह रहेका छन् ।

तपाईको प्रतिक्रिया