विस्थापित भोकै, गाउँमा छैन अन्न

सुर्खेत, १९ साउन ।
जाजरकोटको बारेकोट गाउँपालिका को वडा नम्बर ४ सार्कीटोलका करे सार्कीले पेटभरी खान पाएका छैनन् । पहिरोले घर पुरिदिएपछि विस्थापित भएको उनी भोकै छन् । न त पेटभरी खान पाएका छन्, न राम्रोसँग निद्रा नै परेको छ । उनको घरमा खाने अन्न छैन । ६ जनाको परिवार भोकमरीसँग जुधिरहेको छ । उनले भने,‘राम्रोसँग नसुतेको र नखाएको तीन हप्ता भइसक्यो ।’ उनले आफुसँग पैसा पनि नभएको र पैसा हुनेहरुले पनि किनेर खाने अन्न नपाएको सुनाए ।

खाद्य डिपोमा चामल नभएको र गाँउमा मौज्दात अन्न सकिएपछि भोकमरीको अवस्था देखिन थालेको छ । खानेकुरा नहुँदा भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । अहिलेसम्म राहत नपाएको उनको गुनासो छ । उनले भने, ‘हाम्रो पीडा सुनिदिने कोही भएन ।’ उनी मात्र होइन, त्यहाँका धेरै विस्थापीत परिवार भोकै बस्न बाध्य छन् ।

बारेकोट गाँउपालिकाका अनुसार गत २५ असारमा बारेकोट ४ सार्कीटोलमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । बारेकोटका विभिन्न वडामा गएको पहिरोमा परी अझै तीन जना बेपत्ता छन् । बाढीपहिरोको कारण एक हजार ५५ परिवारका ६ हजार पाँचसय सात जना विस्थापित भएका छन् । ५६ घर भत्किएका छन् । पहिरो प्रभावित बारेकोटमा चरम खाद्य संकट परेको छ । खानेकुरा नभएपछि विस्थापित परिवार समस्यामा परेका छन् ।

घरमा भएको अन्न सकिएपछि आफुहरु निकै समस्यामा परेको पीडितको भनाइ छ । बाढीपहिरोको त्रासले विस्थापित भएर स्थानीयहरु विद्यालय, गोठ र चौरमा बसिरहेका छन् । तर धेरै परिवारसँग खाने अन्न छैन । किन्ने खाद्यान्न पनि नपाइएपछि विस्थापितहरु भोकभोकै पर्न थालेको स्थानीय शिक्षक गोरखबहादुर सिंहले बताए । बारेकोट गाँउपालिकामा उत्पादित अन्नले बर्ष दिनमा ५/६ महिना मात्र खान पुग्छ । यातायातको असुविधाका कारण ढुवानी समस्याले निजी क्षेत्र खाद्य पसल छैनन् ।

मानिसहरु खाद्य संस्थानको चामलमै भर पर्ने गरेका छन् । तर खाद्य डिपो दुई महिनादेखि रित्तै हुँदा समस्या भएको हो । बारेकोटका जिरी, तल्लो जिरी, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्ली लगायतका गाँउका मानिस विस्थापित भएर स्थानीय विद्यालयमा बसिरहेका छन् । स्थानीय डम्बर बहादुर सिंह भने, ‘विस्थापित परिवारसँग खाने अन्न छैन, खाद्य डिपो रित्तै छ । गहँ मकै, कोदो पिस्ने घट्ट बाढीले बगाईदिएको छ । किने रखाने बजार छैन ।’

खाद्यान्न र एकलाख राहत दिने प्रदेश सरकारको निर्णय
कर्णाली प्रदेश सरकारले बाढीपहिरो प्रभावितलाई तीन महिनासम्म पुग्ने खाद्यान्न र एकलाख रुपैयाँ राहत दिने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी पहिरोबाट घर पूर्णरुपमा क्षति भएका परिवारको आवास निर्माणको लागि राहत स्वरुप एकलाख दिने निर्णय गरेको हो ।

त्यस्तै मन्त्रीपरिषदको बैठकले पीडितलाई तीन महिनासम्म पुग्ने खाद्यान्न उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिइन् । ‘पूर्णरुपमा घरमा क्षति भएका परिवारलाई आवास निर्माणका लागि तत्काल एक लाख रुपैयाँ र विस्थापित परिवारलाई तीन महिनासम्म पुग्ने खाद्यान्न उपलब्ध गराउँछौँ’ मन्त्री केसीले भनिन्, ‘तथ्याङ्क र क्षतिको आधारमा पीडितले तत्काल राहत पाउँछन् ।’

यस्तै जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निर्माणका लागि जग्गाको स्वामित्व प्राप्तिका लागि सहमति प्रदान गर्ने निर्णय गरेको छ । साविक जिल्ला अस्पतालको स्वामित्वमा रहेको जग्गा प्राप्तिका सम्बन्धमा सहमति प्रदान गर्ने निर्णय गरेको हो ।

सहयोग संकलन अभियान
पहिरोपीडितहरुको बिचल्ली हुन थालेपछि जाजरकोटमा सहयोग संकलन अभियान सुरु भएको छ । जाजरकोटका सक्रिय पत्रकारको नेतृत्वमा अभियान सुरु भएको हो । हालसम्म झण्डै चार लाख रकम संकलन भएको छ । जसमा समितिको संयोजक वीरबहादुर गिरी, डम्मर विष्ट, केशव श्रेष्ठ, हेमन्त केसी, भक्तबहादुर शाही, टकेन्द्र रोकाय र लोकेश सिंहले प्रतिव्यक्ति २५/२५ हजार सहयोग दिएका छन् ।

त्यस्तै जाजरकोटकै रेशम खड्का, दुर्गा श्रेष्ठ, सुर्खेतका दीपक बुढाले दश/दश हजार, रोल्पाका अर्जुन ओली, दाङका बालदिप शर्मा, सुर्खेतका गणेश भण्डारी, सप्तरीका बहमानन्द चौधरी, दैलेखका भिमसेन बस्नेतले पाँच/पाँच हजार सहयोग गरेका छन् । हालसम्म बारेकोट गाउँपालिका वडान नं. २ जाजरकोटका भूमिलाल रोकाय सबैभन्दा बढी अर्थात ३० हजार रुपैयाँ सहयोग गरेका छन् ।

हालसम्म संकलन भएको रकम र रकम घोषणा व्यक्तिहरुको रकम जोड्दा झण्डै चारलाख पुग्ने राहत संकलन अभियानका प्रतिनिधि हेमन्त केसीले जानकारी दिए । प्रदेश र स्थानीय सरकारले पीडितलाई राहत उपलब्ध गराउने नसकेपछि राहत संकलन अभियान सुरु गरेको न्यौपानेको भनाइ छ । (२०७७ साउन १९ गते सोमबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

विस्थापित भोकै, गाउँमा छैन अन्न

‘खेत बेचेको पैसाले लोकसेवाको तयारी गरे’

विस्थापित भोकै, गाउँमा छैन अन्न

चक्रपथ निर्माणमा भएको ढिलाईले स्थानीयलाई सास्ती

Leave a comment

Your email address will not be published. Required fields are marked *