विस्थापित भोकै, गाउँमा छैन अन्न
सुर्खेत, १९ साउन ।
जाजरकोटको बारेकोट गाउँपालिका को वडा नम्बर ४ सार्कीटोलका करे सार्कीले पेटभरी खान पाएका छैनन् । पहिरोले घर पुरिदिएपछि विस्थापित भएको उनी भोकै छन् । न त पेटभरी खान पाएका छन्, न राम्रोसँग निद्रा नै परेको छ । उनको घरमा खाने अन्न छैन । ६ जनाको परिवार भोकमरीसँग जुधिरहेको छ । उनले भने,‘राम्रोसँग नसुतेको र नखाएको तीन हप्ता भइसक्यो ।’ उनले आफुसँग पैसा पनि नभएको र पैसा हुनेहरुले पनि किनेर खाने अन्न नपाएको सुनाए ।
खाद्य डिपोमा चामल नभएको र गाँउमा मौज्दात अन्न सकिएपछि भोकमरीको अवस्था देखिन थालेको छ । खानेकुरा नहुँदा भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । अहिलेसम्म राहत नपाएको उनको गुनासो छ । उनले भने, ‘हाम्रो पीडा सुनिदिने कोही भएन ।’ उनी मात्र होइन, त्यहाँका धेरै विस्थापीत परिवार भोकै बस्न बाध्य छन् ।
बारेकोट गाँउपालिकाका अनुसार गत २५ असारमा बारेकोट ४ सार्कीटोलमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । बारेकोटका विभिन्न वडामा गएको पहिरोमा परी अझै तीन जना बेपत्ता छन् । बाढीपहिरोको कारण एक हजार ५५ परिवारका ६ हजार पाँचसय सात जना विस्थापित भएका छन् । ५६ घर भत्किएका छन् । पहिरो प्रभावित बारेकोटमा चरम खाद्य संकट परेको छ । खानेकुरा नभएपछि विस्थापित परिवार समस्यामा परेका छन् ।
घरमा भएको अन्न सकिएपछि आफुहरु निकै समस्यामा परेको पीडितको भनाइ छ । बाढीपहिरोको त्रासले विस्थापित भएर स्थानीयहरु विद्यालय, गोठ र चौरमा बसिरहेका छन् । तर धेरै परिवारसँग खाने अन्न छैन । किन्ने खाद्यान्न पनि नपाइएपछि विस्थापितहरु भोकभोकै पर्न थालेको स्थानीय शिक्षक गोरखबहादुर सिंहले बताए । बारेकोट गाँउपालिकामा उत्पादित अन्नले बर्ष दिनमा ५/६ महिना मात्र खान पुग्छ । यातायातको असुविधाका कारण ढुवानी समस्याले निजी क्षेत्र खाद्य पसल छैनन् ।
मानिसहरु खाद्य संस्थानको चामलमै भर पर्ने गरेका छन् । तर खाद्य डिपो दुई महिनादेखि रित्तै हुँदा समस्या भएको हो । बारेकोटका जिरी, तल्लो जिरी, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्ली लगायतका गाँउका मानिस विस्थापित भएर स्थानीय विद्यालयमा बसिरहेका छन् । स्थानीय डम्बर बहादुर सिंह भने, ‘विस्थापित परिवारसँग खाने अन्न छैन, खाद्य डिपो रित्तै छ । गहँ मकै, कोदो पिस्ने घट्ट बाढीले बगाईदिएको छ । किने रखाने बजार छैन ।’
खाद्यान्न र एकलाख राहत दिने प्रदेश सरकारको निर्णय
कर्णाली प्रदेश सरकारले बाढीपहिरो प्रभावितलाई तीन महिनासम्म पुग्ने खाद्यान्न र एकलाख रुपैयाँ राहत दिने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी पहिरोबाट घर पूर्णरुपमा क्षति भएका परिवारको आवास निर्माणको लागि राहत स्वरुप एकलाख दिने निर्णय गरेको हो ।
त्यस्तै मन्त्रीपरिषदको बैठकले पीडितलाई तीन महिनासम्म पुग्ने खाद्यान्न उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिइन् । ‘पूर्णरुपमा घरमा क्षति भएका परिवारलाई आवास निर्माणका लागि तत्काल एक लाख रुपैयाँ र विस्थापित परिवारलाई तीन महिनासम्म पुग्ने खाद्यान्न उपलब्ध गराउँछौँ’ मन्त्री केसीले भनिन्, ‘तथ्याङ्क र क्षतिको आधारमा पीडितले तत्काल राहत पाउँछन् ।’
यस्तै जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निर्माणका लागि जग्गाको स्वामित्व प्राप्तिका लागि सहमति प्रदान गर्ने निर्णय गरेको छ । साविक जिल्ला अस्पतालको स्वामित्वमा रहेको जग्गा प्राप्तिका सम्बन्धमा सहमति प्रदान गर्ने निर्णय गरेको हो ।
सहयोग संकलन अभियान
पहिरोपीडितहरुको बिचल्ली हुन थालेपछि जाजरकोटमा सहयोग संकलन अभियान सुरु भएको छ । जाजरकोटका सक्रिय पत्रकारको नेतृत्वमा अभियान सुरु भएको हो । हालसम्म झण्डै चार लाख रकम संकलन भएको छ । जसमा समितिको संयोजक वीरबहादुर गिरी, डम्मर विष्ट, केशव श्रेष्ठ, हेमन्त केसी, भक्तबहादुर शाही, टकेन्द्र रोकाय र लोकेश सिंहले प्रतिव्यक्ति २५/२५ हजार सहयोग दिएका छन् ।
त्यस्तै जाजरकोटकै रेशम खड्का, दुर्गा श्रेष्ठ, सुर्खेतका दीपक बुढाले दश/दश हजार, रोल्पाका अर्जुन ओली, दाङका बालदिप शर्मा, सुर्खेतका गणेश भण्डारी, सप्तरीका बहमानन्द चौधरी, दैलेखका भिमसेन बस्नेतले पाँच/पाँच हजार सहयोग गरेका छन् । हालसम्म बारेकोट गाउँपालिका वडान नं. २ जाजरकोटका भूमिलाल रोकाय सबैभन्दा बढी अर्थात ३० हजार रुपैयाँ सहयोग गरेका छन् ।
हालसम्म संकलन भएको रकम र रकम घोषणा व्यक्तिहरुको रकम जोड्दा झण्डै चारलाख पुग्ने राहत संकलन अभियानका प्रतिनिधि हेमन्त केसीले जानकारी दिए । प्रदेश र स्थानीय सरकारले पीडितलाई राहत उपलब्ध गराउने नसकेपछि राहत संकलन अभियान सुरु गरेको न्यौपानेको भनाइ छ । (२०७७ साउन १९ गते सोमबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)