सम्पादकीयः राउटेमा परनिर्भरता
राउटेको आफ्नै संस्कृति छ । आफ्नै परम्परागत सीप र कला छ । आफ्नै भाषा र संस्कृति भएको यो समुदाय जंगलमा फिरन्ते जीवन विताइ रहेको छ । पछिल्लो समय सहरको छेउमा बस्न थालेको यो समुदायको अस्तित्व संरक्षणबारे पनि वहस चलेको छ । लोपोन्मुख अवस्थामा रहेका राउटेलाई सरकारले हाल मासिक तीन हजारका दरले भत्ता दिइरहेको छ । उनीहरुको जीवन निर्वाहमा सहज होस् भन्नका लागि सरकारले भत्ता उपलब्ध गराउँदै आएको छ । कर्णाली प्रदेशका दैलेख र सुर्खेतका विभिन्न स्थानमा घुमन्ते जीवन विताउने राउटेलाई प्रदेश सरकारले पनि मासिक दुई हजारका दरले भत्ता उपलब्ध गराउने घोषणा गरेको छ । कर्णाली सरकारले घोषणा गरे अनुसारको रकम उपलब्ध गराएमा प्रति राउटेले मासिक पाँच हजारका दरले भत्ता पाउनेछन् । झट्ट हेर्दा सरकारी भत्ता उपयुक्त नै देखिन्छ । तर भत्ताले राउटेहरुको अस्तित्व नै संकटमा पर्न थालेको छ । उनीहरुले पछिल्ला दिनमा काम अल्छी गर्न थालेका छन् । अर्थात सरकारी भत्ता र राहतले नै छाक टर्न थालेपछि राउटेले आफ्नो परम्परागत पेशा र काम गर्न छाडेका छन् ।

कुनै समयमा राउटेको मुख्य आम्दानीको स्रोत भनेको काठका भाँडा थिए । त्यही काठका सामान बिक्री गरेर उनीहरुले जीवन गुजरा गर्दै आएका थिए । जंगलमा शिकार गरेर पेट भर्थे । पैसा छुँदा पाप लाग्छ भन्ने राउटेहरु हिजोआज बस्तीमा पुग्ने जोकोहीसँग रकम माग्ने गर्दछन् । सरकारी भत्ताले नै छाक टर्न थालेपछि काम गर्न छाडेका छन् । त्यतिमात्र होइन, उनीहरु कुलमा समेत फस्दै गएका छन् । हातमा पैसा हुन थालोपछि मदिरा र सुर्तीको लतमा फस्दै गएका छन् । यसले राउटेका अगुवाहरु नै चिन्तित बनेका छन् । कामै नगरी पैसा हुन थालेपछि पछिल्लो पुस्ताले काम गर्न मान्दैन । यसले गर्दा उनीहरुले परम्परागत काठको काम गर्ने सीप सिक्न मान्दैनन् । यसको असर नयाँ पुस्ताले आफ्नो मौलिक पेशा छाड्ने खतरा बढ्दै गएको छ । अर्कोतर्फ सामुदायीक वनमा काठ काट्न नपाइने, काठका भाँडा बिक्री नुहने र जंगलमा शिकार गर्न नपाइने भएकाले पनि आफूहरु थप संकटमा परेको राउटेहरुको गुनासो छ ।
यस्तो अवस्थामा सरकारी तथा गैरसरकारी निकायले दिने राहत र भत्ताको भरमा उनीहरु जीवन गुजरा गर्दै आएका छन् । यसले राउटे समुदायमा परनिर्भरता बढेको छ । उनीहरु काम गर्न अल्छि मान्न थालेका छन् । यसकारण पनि अब राउटेलाई राहत र भत्तासँगसँगै आत्मनिर्भर हुने बाटो पनि देखाउनुपर्ने हुन्छ । आत्मनिर्भर बनाउनका लागि उनीहरुलाई आधुनिक सीप सिकाउने, काठका सामान बनाउने आधुनिक हतियारको व्यवस्थापन गर्ने, कृषि कर्ममा जोड्ने र स्थायी बसोबास गर्दै आयआर्जनमा जोड्नेतर्फ राज्यको ध्यान जान जरुरी छ । यसो भएमा मात्र राउटे समुदायको दिर्घकालिन व्यवस्थापन हुन सक्छ । नत्र हातमा पैसा थमाएर मात्र अगाडि बढ्ने हो भने राउटेको अस्तित्व संकटमा पर्ने छ भने उनीहरु परनिर्भर हुनेछन् ।





