सम्पादकीयः सुरक्षित सुत्केरी
मानव विकास सुचचाकंमा कर्णालीको अवस्था कमजोर छ । अहिले पनि यहाँको वहुआयामिक गरिबीको दर ५१ प्रतिशत छ । यो भनेको यहाँका आधा नागरिकहरु अहिले पनि गरिबीसँग जुधिरहेका छन् । यस्तो अवस्थामा यहाँको स्वास्थ्य अवस्था कमजोर हुने नै भयो । स्वास्थ्य सेवाको पहुँच कमजोर भएका कारण नागरिकले भरपर्दो उपचार पाउन सकिरहेका छैनन् । अधिकांश वस्तीमा सडक संजाल छैन । भौगोलिक रुपमा विकट भएका कारण दुर्गममा स्वास्थ्य सेवा उपलब्ध छैन । न त स्वास्थ्यकर्मी नै त्यहाँ बस्न मान्छन्, न त त्यहाँ औषधि नै उपलब्ध छ । यसकारण पनि कर्णालीमा बर्सेनी दर्जनौं गर्भवती र सुत्केरी महिलाहरुको ज्यान जान्छ । अझ भनौं आमा र शिशुको ज्यान जोगाउन मुश्किल देखिएको छ । गर्भवती र सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउँदा यो समस्या समाधान हुन सकेको छैन । अस्पतालसम्म पुग्न नपाउँदै गर्भवती र सुत्केरीहरुको बाटोमै मृत्यु हुने गरेको छ । यही समस्या समाधानका लागि भन्दै प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको छ । हवाइ उद्धारदेखि पोषण कोशेलीसम्मका कार्यक्रमहरु संचालनमा छन् । तर पनि ति प्रभावकारी भने हुन सकेका छैनन् ।

सडक निर्माण हुनु वा भवन बन्नु मात्र विकास होइन । विकास हुनका लागि समाजको आर्थिक अवस्थामा सुधार हुनु पर्छ । त्यतिमात्र होइन, सामाजिक सुधारका कार्यक्रमहरुको प्रभावकारिता पनि आवश्यक हुन्छ । कर्णालीमा प्रदेश सरकारले पनि केही सामाजिक सुरक्षाका कार्यक्रम पनि संचालन गरिरहेको छ । दुर्गमका जिल्ला र बस्तीको मुख्य समस्या भनेकै आमा र शिशुको ज्यान सुरक्षित कसरी बनाउने भन्ने हो । अहिले पनि यहाँको सामाजिक संरचना, धार्मिक मान्यता, अशिक्षा र स्वास्थ्य सेवाको पहुँच नहुँदा महिलाहरु घरमै सुत्केरी हुने गर्दछन् । अझ कतिपय समुदायमा त सुत्केरी महिलालाई गोठमा राख्ने गरिन्छ । गर्भवती र सुत्केरी अवस्थामा महिलाहरुलाई विषेश स्याहार र स्वास्थ्यकर्मीको निगरानी आवश्यक पर्दछ । तर यसो नहुँदा आज दुर्गमका महिला र बालबालिकाको अकालमै ज्यान जाने गरेको छ । अर्कोतर्फ जन्मिएका बालबालिकाहरु पनि कुपोषणको शिकार बनिरहेका छन् । कुपोषणको जालोबाट बालबालिकालाई मुक्त गर्न पनि चुनौती बढेको छ ।
वास्तवमा पछिल्लो समय स्थानीय र प्रदेश सरकारहरु आमा र बालबालिकाको स्वास्थ्यप्रति केही संवेदनशिल बनेको देखिन्छ । यसका लागि कतिपय स्थानीय तहले गर्भतीहरुको निगरानी गर्न उनीहरुको घरमा हरियो झण्डा राख्ने, बारम्बार निगरानी गरेर स्वास्थ्य परामर्श दिने र आवश्यक पोषिलो खानासमेत उपलब्ध गराउँदै आएका छन् । यस्तै प्रदेश सरकारले त सुत्केरी पोषण कार्यक्रम नै संचालन गरेको छ । प्रदेशका गर्भवती र सुत्केरीहरुलाई पोषिलो खाना कोशेलीको रुपमा दिने गरेको छ । वास्तवमा सरकारका यस्ता कार्यक्रमले सुत्केरीको जीवन रक्षाका लागि महत्वपूर्ण सहयोग गरेका छन् । राज्य अर्थात सरकार नागरिकका अभिभावक हुन् । यसकारण पनि गर्भवती र सुत्केरीको मात्र होइन, गर्भमा रहेका र जन्मिएका बच्चाहरुको सुरक्षाका लागि पनि सरकार गम्भिर बन्नै पर्दछ । यो नै लोककल्याणकारी राज्यको दायीत्व पनि हो ।





