नेपालगञ्जमा दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिपको तयारी, देशभरका दुई सय खेलाडीबीच प्रतिस्पर्धा हुने

बाँके ३० असोज ।

आगामी कात्तिक १४ र १५ गते नेपालगञ्जमा दोस्रो ‘नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५’ हुने भएको छ। नेपालगञ्ज स्वीमिङ क्लबले स्वीमिङ खेलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

क्लबका अध्यक्ष केशवराज न्यौपानेका अनुसार प्रतियोगितामा देशभरका करिब दुई सय खेलाडीले विभिन्न उमेर समूहका ५६ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता अण्डर–८, १०, १२, १४ र १७ वर्षका उमेर समूहका साथै खुला समूहका खेलाडीबीच हुनेछ।

अण्डर–८ समूहका खेलाडीले २५ मिटर दुरीमा प्रतिस्पर्धा गर्नेछन् भने अण्डर–१० र अन्य खेलाडीहरूले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै अण्डर–१२ र १४ उमेर समूहका प्रतियोगीबीच ५० र १०० मिटरका विभिन्न इभेन्टमा प्रतिस्पर्धा हुनेछ। खुला समूहमा भने २०० र ४०० मिटर दुरीका विभिन्न इभेन्टहरू समावेश गरिएका छन्।

क्लबले प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। इच्छुक खेलाडीहरूले क्लबले उपलब्ध गराउने गुगल फारम भरेर आवेदन दिन सक्नेछन्। आवेदन फारम भर्दा प्रत्येक खेलाडीले १ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने क्लबले जनाएको छ।

बाँके बाहेकका जिल्लाबाट सहभागी हुने खेलाडीहरूलाई प्रतियोगिता अवधिभर निःशुल्क खाजा, खाना र बसोबासको व्यवस्था गरिने उपाध्यक्ष सुर्यमणि अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताको उद्घाटन नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठले गर्नेछन्। उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका पदाधिकारीहरू, स्थानीय निकायका प्रतिनिधि तथा खेलकुद क्षेत्रका व्यक्तिहरू सहभागी हुनेछन्।

प्रतियोगिताको सफल आयोजनाका लागि लुम्बिनी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद, विभिन्न व्यापारिक प्रतिष्ठान, बैंक, अस्पताल, खेलप्रेमी र उद्यमी व्यवसायीहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनमा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

नेपालगञ्जमा दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिपको तयारी, देशभरका दुई सय खेलाडीबीच प्रतिस्पर्धा हुने

नेपालगन्जमा चाडपर्वको बेला बजार अनुगमन नहुँदा उपभोक्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds