चाडपर्वमा नेपाली बजार सुनसान, सीमापारि रुपैडियामा नेपालीको भीड

बाँके ,३० असोज ।
पश्चिम् तराईको प्रमुख आर्थिक तथा व्यापारिक केन्द्रको रूपमा परिचित छ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको बेला नेपालगञ्ज र कोहलपुरको बजारमा उपभोक्ताको चहलपहल, भिडभाड र उत्साहले भरिएको हुनुपर्ने हो । तर, पछिल्लो समय यहाँको बजारको अवस्था केही फरक देखिएको छ । व्यापारीहरू ग्राहक कुरेर बस्न बाध्य भएका छन् भने सीमापारि भारतीय बजार रुपैडियामा भने उपभोक्ताको भीड थामिनसक्नु छ ।
नेपालगञ्ज र कोहलपुरको बजार आयात व्यापारमा निर्भर छ । यहाँका धेरै वस्तुहरू भारतबाट आयात गरिन्छन्, तर उपभोक्ताहरू नेपालभन्दा भारतमा सामान सस्तो पाइने आशामा भारतीय बजारतिर आकर्षित भएका छन् । यसले गर्दा नेपालगञ्जको व्यापारमा कमी आएको छ । उपभोक्ताले रुपैडियामा सजिलै र सस्तो मूल्यमा सामान पाउने भएपछि नेपाली बजारको व्यापारमा प्रत्यक्ष असर परेको छ । व्यापार नभएका कारण दसैँको समयमा पनि नेपालगञ्जका कतिपय सटरहरू खाली देखिन्छन् ।
सीमापारि उपभोक्ताको भीड
व्यापारीहरूले सीमा नाकामा कडाइ नहुँदा अवैध रूपमा वस्तुहरू आयात भइरहेकाले व्यापारमा गिरावट आएको बताएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव भीम रानाभाटका अनुसार, यस विषयमा सरोकारवाला निकायहरूसँग पटक–पटक पहल गर्दा पनि खासै सुनुवाई भएको छैन । उनका अनुसार, अवैध व्यापार र सीमापारिको सहज पहुँचले गर्दा नेपाली व्यापारीहरू प्रतिस्पर्धा गर्न नसकेका हुन् ।

हालको परिप्रेक्ष्यमा, सीमापारिको भारतीय बजारमा नेपालीहरू बढी आकर्षित हुने मुख्य कारण भनेको त्यहाँको तुलनात्मक रूपमा सस्तो मूल्य हो । तर, यो सस्तोपनको कारण वस्तुको गुणस्तर हो कि कर प्रणाली भन्ने प्रश्न पनि उब्जिन्छ । नेपालमा भन्सार महसुल र १३ प्रतिशत भ्याट लाग्ने भएकाले भारतमा आयात भएका सामानहरूको मूल्य झन्डै ३० देखि ४० प्रतिशतले महँगो पर्छ । यद्यपि, व्यापारीहरूको भनाई अनुसार, धेरैजसो सामान नेपालमै सस्तोमा पाइन्छ भन्ने कुरा जनचेतनामा कमीका कारण उपभोक्ताले बुझ्न सकेका छैनन् ।
खुला सीमा भएको कारण भारतीय सामानको चोरी निकासी बढेको छ । यसले गर्दा कर तिरेर वैध बाटोबाट ल्याइएका सामानहरू बिक्री गर्न कठिन भइरहेको छ । यो समस्याले स्थानीय व्यापारीहरूको व्यापार मन्दीमा परेको छ। यसबाट उबरिनका लागि स्थानीयले पनि व्यवसायीहरूले आफ्नो व्यावसायिक नीति सुधार्नुपर्ने सुझाव दिएका छन् ।
नेपालगञ्ज र कोहलपुरको व्यापारमा सुधार ल्याउन व्यापारिक नीतिहरूलाई पुनरावलोकन गर्न आवश्यक छ भने उपभोक्ताहरूलाई पनि नेपाली बजारमा उपलब्ध वस्तुहरू बारे जागरूक गराउनु आवश्यक छ । अवैध आयातलाई नियन्त्रण गर्दै नेपालगञ्ज र कोहलपुरको व्यवसायलाई पुनर्जीवित गर्न सरोकारवाला निकायहरूको सक्रियता र व्यापारीहरूको सुधार अपरिहार्य देखिन्छ ।






