जुम्लाको तातोपानीमा आगलागी, तेस्रो तला पूरै नष्ट
जुम्ला ,२८ साउन।
तातोपानी गाउँपालिका–३ खरखडामा बुधबार साँझ भएको आगलागीले एक तिनतले कच्ची घरको तेस्रो तला पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
स्थानीय खेम बुढाको टिनले छाएको आठ कोठे घरमा साँझ करिब ६:३० बजे नास्ता पकाउने क्रममा आगो लागेको हो। आगोले तेस्रो तलामा रहेका अन्नपात, लत्ता,कपडा, भाँडाकुडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट गरेको छ।
आगलागीको कारण स्पष्ट नभए पनि प्रारम्भिक अनुमान अनुसार चुलोको आगो फैलँदा घटना भएको हुनसक्ने स्थानीयले बताएका छन्। छिमेकीको सहयोगमा आगो नियन्त्रणमा आए पनि घरधनीले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ।आगलागीमा मानवीय क्षति भने नभएको स्थानीयकाे भनाइ छ ।





