हिमपहिरोको उच्च जोखिममा कर्णालीका हिमाली क्षेत्र, बाढीले लिमिको तिलगाउँनै विस्थापित हुने संघारमा

सुर्खेत, ६ जेठ ।
हुम्लाको उत्तरी क्षेत्र (जो हिमाल पारीको गाउँका नामले चिनिन्छ) नाम्खा गाउँपालिका–६, तिलगाउँमा स्थानीय तिल्जुङ खोलामा एक्कासी आएको बाढीले १८ घरपरिवार विस्थापित भएका छन् । १ जेठमा अचानक खोलामा आएको बाढीले घर तथा खोतियोग्य जमिनमा ठुलो क्षति पुरयाएको छ ।

तिलगाउँमा ३१ घरपरिवारको बसोबास छ । तिल्चुङ खोलामा आएको लेदोसहितको बाढीले १५ किलोवाट क्षमताको जलविद्युत परियोजना, काठेपुल, सिँचाइ कुलो तथा चार/पाँच घरमा क्षति पुरयाएको छ । बाढीले तिलगाउँलाई यातायात सिञ्जालबाट बिच्छेद बनाएको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले अहिले तिलगाउँको अवस्था सामान्य रहेको बताए ।

उनका अनुसार बाढीको जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय विद्यालय तथा अस्थायी पालमा विस्थापितहरुको व्यवस्थापन गरिएको उनले बताए । बाढीको जानकारी प्रदेश तथा संघीय सरकारलाई गराइएको उनले बताए । यद्यपी, हालसम्म प्रदेश र संघीय सरकारले ठोस निर्णय लिन नसकेको उनले बताए ।

उनका अनुसार आवश्यक विपद् उद्दार तथा बन्दोवस्तीका सामग्रीसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको सुरक्षा फौज उक्त स्थानमा परिचालित भएको छ । पहिरो के कारण आएको हो भन्नेबारे एकिन जानकारी हुन नसकेको उल्लेख गर्दै अध्यक्ष लामाले पहिरोसँगै पानीको लेदो आएकाले गाउँको माथिल्लो भागमा रहेको हिमताल चुहिएको हुनसक्ने बताए । आशंका गरिएका स्थानमा हिमताल रहे नरहेका बारे बुझ्न सुरक्षाकर्मीसहितको टोलीलाई स्थलगत अनुगमनमा पठाइएको उनले बताए ।

तिलगाउँमा अकास्मात बाढी आएको यो पहिलो पटक भने होइन । पालिका अध्यक्ष लामाका अनुसार यसअघि पनि स्थानीय खोलामा ठुलो बाढी आउने गरेको छ । अघिल्लो वर्ष हल्जी गाउँको पारिपट्टी हिम ताल भन्दा माथिको चट्टान खसेर बाढी आएको थियो । चार पाँच वर्ष अघि पनि यस्तै ठुलो बाढी आएको तर त्यसले क्षति नपु¥याएको उनले बताए ।

‘यसअघि पनि यस क्षेत्रमा हिमताल फुट्ने तथा हिमपहिरोका कारण बाढी आउने गरेको थियो,’ अध्यक्ष लामाले भने, ‘तर अहिलेको बाढी फरक छ । गाउँको उत्तरतर्फ रहेको ताल बिचबाट चिरिएको छ । बर्खा नलाग्दै यति ठुलो बाढी आएको छ । अहिलेसम्म हिमताल फुटेको भन्ने छ, तर एकिन हुन सकेको छैन । यो विषयमा बिना अध्ययन यसै भन्न सकिने अवस्था छैन ।’ संघ तथा प्रदेश सरकारले तत्काल यो क्षेत्रको अध्ययन गरी थप क्षति हुनबाट जोगाउनुपर्ने उनले बताए ।

‘तत्कालका लागि मानिसहरुलाई सुरक्षित स्थानमा सारेका छौं । उनीहरुलाई विद्यालय तथा पालमा राखिएको छ । खानेपानीका संरचनाहरु भत्किएका छन् । राहत सामग्री जटाउने प्रयास भइरहेको छ । खाद्य संकट निम्तन सक्ने जोखिम रहेकाले तत्काल संघ तथा प्रदेश सरकारले उचित व्यवस्थापनमा ढिला गर्नु हुँदैन,’ अध्यक्ष लामाले भने ।

‘कर्णालीमा हिमपहिरको उच्च जोखिम छ’
कर्णालीको हिमाली क्षेत्र हिमपहिरोको उच्च जोखिममा रहेको बताउँछन्, मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीनसमेत रहेका जलवायु विज्ञ सुदिप ठकुरी । तिलगाउँमा आएको बाढी पनि यसैको निरन्तरता हुनसक्ने उनले बताए ।

यद्यपी बिना अध्ययन अहिले नै निष्कर्षमा पुग्नु हतारो हुने उनले बताए । केही वर्षअघि आफूले नेपालमा हिमपहिरोको जोखिमका बारेमा गरेको अध्ययनले पूर्वि नेपालमा झै कर्णाली क्षेत्रमा पनि हिमपहिरोको जोखिम उच्च रहेको उनले बताए । लिमिको तिल गाउँमा बाढी आउनुमा विभिन्न फ्याक्टरहरु जोडिने बताउँछन् उनी ।

‘जहाँसम्म हिमताल फुटेर बाढी आयो भनिएको छ, यसमा पहिलो कुरा त्यहाँको भौगोलिक अवस्थिती हेर्नुपर्छ,’ उनी भन्छन्, ‘भौगोलिक अवस्था अनुसार कर्णालीमा हिमतालको संख्या धेरै छैन । त्यो क्षेत्रमा भएका तालको अवस्था अनुसार बर्खाको समयमा बढी पानी भरिएर फुटेको हुनसक्छ ।’ माथिबाट हेर्दा हिउँ देखिने तर भित्र पानी जमेर बसेको अवस्थामा अचानक फुट्न गइ एक्कासी बाढी आएको हुनसक्ने उनी बताउँछन् । सो स्थानमा बाढी आउनुको अर्को कारण पहिरो गई खोला थुनिएर आएको पनि हुनसक्ने उनको ठम्याई छ ।

‘भिरालो जमिनका कारण बाहिरबाट हेर्दा हिमताल फुट्ने जोखिम छैन । तर हिमपहिरोको जोखिम छ । भिरालो जमिन भएकाले चट्टानहरु झर्ने, तिखो भीर हुँदा बाक्लो बरफ जमेको अवस्थामा पहिरो गएको हुनसक्छ ।’ उक्त क्षेत्रमा बाढी आउनुअघि र पछिका भूउपग्रह तस्वीरको विश्लेषणपूर्व हिमताल फुटेको वा हिमपहिरो आएको भन्ने विषयमा एकिन गर्न नसकिने उनले बताए ।

ठकुरीका अनुसार कर्णाली क्षेत्रमा ठुला अध्ययन भएका छैनन् तर, यो क्षेत्रमा सामान्य हिमपहिरो गइनै रहेका छन् । मानविय र भौतिक संरचानामा क्षति नपुगेको अवस्थामा आउने हिमपहिरोको लेखाजोखा नहँुने तर प्राकृतिकरुपमा वर्षौ पहिलेदेखि नै कर्णाली क्षेत्रमा हिमपहिरो जानेक्रम बढ्दै गएको उनले बताए । लिमिमा आएको बाढी नयाँ प्रकृतिको घटना भएको उल्लेख गर्दै विज्ञ ठकुरीले वास्तविक अवस्थाको अध्ययनमा ढिलाई गर्न नहुने बताए ।

स्थगत अवस्थाको अध्ययन नभई यही कारणले बाढी आएको हो भन्न नसकिने तर्क गर्दै पछिल्लो समय जलवायु परिवर्तनको चपेटामा हिमाली क्षेत्र पर्दै गएकाप्रति बेलैमा सचेत रहनुपर्ने ठकुरीले बताए । पछिल्लो तापमानमा आएको फेरबदलले तिलगाउँ माथिको हिउँले ढाकेको जमिन कमजोर हुँदै जादा चट्टानमा पानी छिरेर बाढी आएको पनि हुन सक्ने उनको आशंका छ ।

उनका अनुसार हिमताल वा हिउँले ढाकिएको क्षेत्रमा जमेको हिउँले जमिनलाई कसेर राखेको हुन्छ । यस्तो अवस्थामा तापक्रम बृद्धिका कारण हिमताल र हिउँले ढाकेको जमिन कमजोर हुँदै जादा चट्टानबाट छिरेको पानीले स्थायी हिमजमिनलाई बगाउदै जादा यसले तल्लो तटिय क्षेत्रमा बाढीको रुप धारण गर्ने जलवायु विज्ञ ठकुरीले बताए ।

प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन
गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको बैठकले पहिरोबाट विस्थापितहरूलाई तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएको हो ।

मन्त्री लेखकले विस्थापितहरूका लागि तत्काल हेलिकोप्टरबाट राहत सामग्री र स्थलगत अध्ययनका लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिए । बैठकमा मन्त्री लेखकले तत्काल विस्थापितहरूको खानेबस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न समेत निर्देशन दिए । राहत तथा स्थलगत अध्ययनका लागि कर्णाली प्रदेश सरकारसित आवश्यक समन्वय गर्न मातहतका निकायलाई निर्देशन दिए ।

हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले स्थानीय विस्थापित भएका छन् । त्यसैगरी बैठकमा मन्त्री लेखकले प्रिमनसुन पूर्व नै विपद प्रतिकार्यका लागि आवश्यक तयारी र समन्वय थाल्न निर्देशन दिए ।

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सातवटै प्रदश र ७७ वटै जिल्लाका सुरक्षा समितिसंग बैठक छलफल गरि प्रिमनसुन पूर्व नै तयारी थान निर्देशन दिएका हुन् । साथै विपद् प्रतिकार्यमा निजी सघ, संस्थाहरूसँग भएको स्रोत साधन र क्षमतालाई समेत उपयोग गर्ने गरी समन्वय तथा सहकार्य गर्ने व्यवस्था मिलाउन मन्त्री लेखकले जोड दिए ।

त्यसैगरी बैठकमा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले तत्काल राहत वितरणलाई अघि बढाउन जोड दिए । उनले जलवायु परिर्वतनका कारण हिमाली क्षेत्रमा उच्च जोखिम रहेको बताए । बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

हिमपहिरोको उच्च जोखिममा कर्णालीका हिमाली क्षेत्र, बाढीले लिमिको तिलगाउँनै विस्थापित हुने संघारमा

सम्पादकीय : गौरवका आयोजनालाई गति देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds