सञ्जिवनीमा पश्चिम नेपालकै पहिलो अत्याधुनिक ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा

बाँके ,२ जेष्ठ।
मस्तिष्कघात (स्ट्रोक) भएका बिरामीको शीघ्र र प्रभावकारी उपचारका लागि नेपालगञ्जस्थित सञ्जिवनी कलेज एण्ड मेडिकल साइन्सेस प्रालिले पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर सञ्चालनमा ल्याएको छ।

सञ्जिवनी कलेजका न्युरो सर्जन डा. मनिष कोलाक्षपतिका अनुसार मस्तिष्कघात सुरु भएको ४ देखि ५ घण्टाभित्र अस्पताल ल्याउन सके बिरामीलाई जीवनभरको अपाङ्गता हुनबाट जोगाउन सकिने सम्भावना उच्च हुन्छ। स्ट्रोक हुँदा मस्तिष्कका नशा क्रमशः मर्दै जान्छन्, जसले गर्दा उपचारमा ढिलाइ भयो भने स्थायी पक्षघातको जोखिम बढ्छ।

“हामीकहाँ स्ट्रोकका शल्यक्रिया पहिलेदेखि नै भइरहेका छन्,” डा. कोलाक्षपति भन्नुहुन्छ “अब कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर सञ्चालनमा आएसँगै १६ वेडको विशेष न्युरो आइसीयू वार्ड समेत स्थापना गरिएको छ।”

न्युरो सर्जन तथा न्युरोलोजी विभाग प्रमुख डा. निरज घिमिरेका अनुसार यस केन्द्रको सञ्चालनले स्ट्रोक उपचारका लागि भारत वा काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको छ। सञ्जिवनीमा ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, मेरुदण्डको समस्या लगायत जटिल शल्यक्रिया पनि नियमित रूपमा हुँदै आएका छन्।

डा. घिमिरे स्ट्रोकसम्बन्धी जनचेतना फैलाउन स्थानीय पालिकाहरुसँग सहकार्य गर्दै समुदायस्तरमै कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुहुन्छ। उहाँले स्वस्थ जीवनशैली अपनाउने, नियमित व्यायाम गर्ने तथा उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्नेजस्ता उपाय अपनाउन आग्रह गर्नुभयो।

सञ्जिवनी कलेजका सिइओ डा. नितेश कुमार कनोडियाले सेन्टरका लागि आवश्यक जनशक्ति र प्रविधि तयारी अवस्थामा रहेको जनाउँदै, “हाम्रो लक्ष्य सम्पूर्ण नशा सम्बन्धी समस्याको विशिष्ट उपचार सेवा उपलब्ध गराउनु हो, स्ट्रोक सेन्टर यसै प्रयासको एक हिस्सा हो,” भन्नुभयो।

उक्त केन्द्रको नेतृत्व डा. कोलाक्षपतिले गर्नुहुन्छ भने उहाँको टोलीमा न्युरोसर्जन, कार्डियोलोजिस्ट, रेडियोलोजिस्ट, न्युरो क्रिटिकल केयर, एनेस्थेसियोलोजिस्ट, आपतकालीन सेवा विशेषज्ञ र न्युरो रिहाबिलिटेसन विशेषज्ञहरु समावेश रहनेछन्।

कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टरको औपचारिक उद्घाटन आज साँझ नेपालगञ्जमा एक विशेष समारोहका बीच सम्पन्न हुँदैछ।

 

 

सञ्जिवनीमा पश्चिम नेपालकै पहिलो अत्याधुनिक ‘कम्प्रिहेन्सिभ स्ट्रोक सेन्टर’ सञ्चालनमा

कर्णालीमा एकै वर्ष थपियो आन्तरिक आम्दानी बराबरको

Leave a comment

Your email address will not be published. Required fields are marked *