जुम्ला साक्षर जिल्ला घोषणा, ९६.०७ प्रतिशत साक्षर


जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले साक्षर घोषणा कार्यक्रममा जुम्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । कार्यक्रम अध्यक्षता जिल्ला समन्वय सिमितका प्रमुख तथा साक्षर घोषणा अभियानका संयोजक गौरीनन्द आचार्यले गरेका थिए ।
घोषणा कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य शाहीले घोषणा गरेर मात्र भएन यसलाई दिगोपन दिनको लागि सबै लाग्नु पर्ने बताए । साक्षर घोषणा अभियानलाई सफल बनाउन स्थानिय तहको महत्वपूर्ण भुमिका रहने सदस्य शाहीको भनाइ छ ।
उनले भने, ‘अब छिट्टै विद्यालय मर्च गर्नुपर्ने ओैल्याए । साक्षर जिल्ला घोषणा गर्दछु, साक्षर बनाउँदा आज हामी जुन किसिमको खुशी व्यक्त गरिरहेका छौँ ।’
उनले जुम्लालाई पूर्ण साक्षर बनाइनु पर्नेमा जोड दिए । जुम्लाका ८ वटै स्थानीय तहलाई साक्षर घोषणा गरिएसँगै बुधबार ओैपचारिक कार्यक्रमको आयोजना गरि जिल्लालाई पनि साक्षर घोषणा गरीएको हो । शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश मल्लका अनुसार हाम्रो साक्षरता दर १५ देखि ६० वर्ष उमेरका जनसङ्ख्यालाई लिइएको थियो ।
साक्षर हुनको लागि १२ वटा सुचकहरुमध्ये छ वटा अर्थात् ५० प्रतिशत सुचक पुरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको उनले बताए । स्थानीयले आफ्नो नाम लेख्न सक्ने,१ देखि १० सम्म गन्न सक्ने,मोबाईल चलाउन सक्ने,फोन गर्न सक्ने,ट्राफिक नियम पालना गर्न सक्ने लगायतका १२ वटा सूचकको ५० प्रतिशत पुरा गरेमा साक्षर गाउँपालिकादेखि जिल्ला घोषणा गर्न मिल्ने प्रावधान छन् ।
जुम्लाको हिमा गाउँपालिका ९५.७२ प्रतिशत,चन्दननाथ नगरपालिकाका ९८.१९ प्रतिशत, कनकासुन्दरी गाउँपालिकाका ९७ प्रतिशत,सिंजा गाउँपालिका ९५.५ प्रतिशत स्थानीय साक्षर भएका छन् । त्यस्तै पातारासी गाउँपालिकाका ९५.२४ प्रतिशत,तातोपानी गाउँपालिकाका ९५.७७ प्रतिशत,गुठिचौर गाउँपालिकाका ९५.७३ प्रतिशत र तिला गाउँपालिकाका ९५.४ प्रतिशत साक्षर भएको सरकारी तथ्यांकले पुष्टि गरेको छ ।
यस्तै जुम्लाको ७२ हजार ३ सय १९ जनसंख्या मध्ये (९६.०७) प्रतिशत अर्थात ६९ हजार ४ सय ४७ जना भन्दा माथि साक्षर भएको देखाइएको छ । यस्तै प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले साक्षर हुनुनै असल सभ्य नागरिक पहिचान भएको बताए । अब पुर्ण साक्षर जिल्ला घोषणा तिर लाग्नुपर्ने बताए । गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले जिल्ला साक्षर हुनु गर्वको कुरा भएको बताए ।
यस्तै नेकपा माओवादी केन्द्र जुम्लाका संयोजक नवराज न्यौपाने, नेपाल शिक्षक महासंघ जुम्लाका अध्यक्ष हर्कबहादुर महतले शुभकामना मन्तव्य राखेका थिए ।






