एकिकृत स्वास्थ्य शिविरमा ३ सय बढीको स्वास्थ्य परीक्षण

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ स्थित हिरिमिनिया स्वास्थ्य चौकीमा सोमबार सम्पन्न एकिकृत स्वास्थ्य शिविरमा ३ सय ६० जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । डुडुवा गाउँपालिकाको आयोजना र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप)को सहायोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा स्त्री रोग, परिवार नियोजन, योन तथा प्रजनन, महिलाको पाठेघर तथा सामान्य चेकजाँच गरिएको थियो ।
विशेषगरी डुडुवा गाउँपालिकाको वडा नम्बर ६ का स्थानीयलाई लक्षित गरी शिविर आयोजना गरिएको भएता पनि शिविरमा डुडुवाका अन्य वडा र नेपालगन्जका बिरामीले पनि स्वास्थ्य सेवा लिएको बि ग्रुप एड्भोकसी अफिसर सुमित्रा गिरिले जानकारी दिइन् । गिरिका अनुसार महिलाहरुमा हुने क्यान्सर, प्रजनन्को अवस्थालगायतका जानकारी लिन शिविर आयोजना गरिएको हो ।
शिविरमा ८० प्रतिशत भन्दा बढी महिलाहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । जसमा धेरैजसो महिलाहरुको योन तथा प्रजनन् क्षमताको चेकजाँच गरिएको गिरिले बताइन् । शिविरमा सामान्य समस्या देखिएका धेरैजसो महिलाई औषधि उपलब्ध गराइएको छ भने । ३ जनामा केही समस्या देखिएका कारण नेपालगन्जमा रहेको भेरी अस्पतालमा पठाइने गिरिले बताइन् । बाँकी कसैमा पनि क्यान्सरको लक्षण नदेखिएको गिरिले जानकारी दिइन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाही नेपालीहरुमा नियमित स्वास्थ्य चेकजाँच गर्ने परम्परा नभएको र मधेसी समुदायमा स्वास्थ्यसम्बन्धी चेतना कम भएका कारण हिरिमिनाया स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिएको बताए ।






