लामिछाने पक्राउ विरोधमा सुर्खेतमा रास्वपा कार्यकर्ताको प्रदर्शन

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा शनिवार विहानैदेखि सुर्खेतका रास्वपाका कार्यकर्ताले वीरेन्द्रनगरको मंगलगढी चोकमा प्रदर्शन शुरु गरेका छन् ।
प्रदेश र जिल्ला स्तरका रास्वपा नेता, कार्यकर्ताले मंगलगढीचोकमा प्लेकार्ड, व्यानर लिएर सडकमा उत्रिएका उनीहरुले चर्काे नाराबाजीका साथ पक्राउको विरोध गरिरहेका छन् । उनीहरुले सभापति लामिछानेलाई विना शर्त रिहाईको माग गरिरहेका छन् ।
सहकारी ठगी र संगठित अपराधको अभियोगमा लामिछानेलाई शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाएको छ ।
लामिछानेलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।






