सशस्त्र द्वन्द्वपीडित परिवारका लागि सीपमूलक तालिमको व्यवस्था गरिने


कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सशस्त्र द्वन्द्वपीडित परिवारका व्यक्तिहरूलाई व्यावसायिक सीपमूलक तालिम प्रदान गरिने घोषणा गरेका छन् । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको १४औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित ‘संक्रमणकालीन न्याय सम्बन्धी संशोधित विधेयकको कार्यान्वयन पक्ष र भावी कार्यदिशा’ विषयक अन्तर संवाद कार्यक्रममा मन्त्री भण्डारीले यो घोषणा गरेका हुन् ।
उनले द्वन्द्वपीडित परिवारका सदस्यहरूले आफ्नो आवश्यकता बमोजिम तालिम माग गरेमा त्यसको व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्री भण्डारीले विगतका पीडालाई बिर्सेर अहिले न्यायिक भूमिकामा रहन आग्रह गरे ।
त्यस्तै, कर्णाली प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य कल्याणी खड्काले द्वन्द्वपीडितहरूको मुद्दा ओझेलमा पार्न नहुने बताउँदै, द्वन्द्व प्रभावित व्यक्ति र तिनका परिवार अझै पनि पीडामा रहेको धारणा राखिन् । राज्यका निकायले केही सकारात्मक कार्यहरू गरे पनि अझै चित्त बुझाउन नसकिने भन्दै, द्वन्द्वपीडितहरूको मुद्दालाई संसद्मा उठाउने र आवश्यक नीति निर्माणका लागि पहल गरिने प्रतिवद्धता जनाइन् ।






