विश्वविद्यालय परिसरमा वृहत वृक्षारोपण

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा “वृहत वृक्षारोपण कार्यक्रम २०८१” भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख आतिथ्यता, आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेशका माननीय मन्त्री राजीव विक्रम शाहको विशेष आतिथ्यता र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमज्यूको अध्यक्षतामा “२०२४ सालमा २०२४ विरुवा” भन्ने मूल नाराका साथ मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा “वृहत वृक्षारोपण कार्यक्रम २०८१” भएको छ ।
मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कर्यालयद्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं माननीय मुख्यमन्त्री कडेलले विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसरमा विरुवा रोपेर उद्घाटन गरे । उनले पर्यावरण जोगाउन र हरियाली बढाउन गरिएको यस कार्यको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
वृक्षारोपण लगत्तै विशेष अतिथि एवं माननीय मन्त्री शाह सम्मिलित सहभागी टोलीले कुइनेपानी स्थित विश्वविद्यालय परिसरको अवलोकन भ्रमण गर्नुका साथै उक्त क्षेत्रको सदुपयोग गर्दै सम्भावित पूर्वाधार तथा विकास निर्माणका सम्बन्धमा छलफल गरेका थिए । कार्यक्रममा उपकुलपति गौतमले यस अभियानमा जोडिएका र साथ सहयोग गर्ने महानुभावहरुलाइ हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त वृहत वृक्षारोपण कार्यक्रम विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, प्राध्यापक, कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी, पत्रकार लगायत आम शुभेच्छुक सर्वसाधारणको उत्साहपूर्ण उपस्थिति र सहभागिताका बीच सम्पन्न भएको थियो ।
यो अभियान विश्वविद्यालयका सम्पूर्ण ग्र्याजुएट स्कुल, विभाग तथा आंगिक क्याम्पस परिसरमा समेत निरन्तर अगाडी बढ्ने छ ।







