सम्पादकीय : सामूहिक दुर्घटना बीमाले दिएको राहत
प्राकृतिक विपत्तिमा परेका कर्णालीबासीका लागी राहत स्वरुप कर्णाली प्रदेश सरकारले सामूहिक दुर्घटना बीमा वापतको रकम पीडितलाई दिएको छ । २०७६ चैतदेखी ७ साउन २०८१ सम्ममा ३ सय ४४ पीडित परिवारलाई प्रदेश सरकारले सामूहिक बीमा वापत ६ करोड ८८ लाख रुपैंया राहतस्वरुप उपलव्ध गराएको छ । विभिन्न चरणमा गरेर सरकारले सो रकम पीडित परिवारलाई प्रदान गरेको हो । २०७६ मा कर्णाली प्रदेश सरकारले प्रदेशमा स्थायी बसोबास गरेका र अन्य प्रदेशमा स्थायी कर्णालीका नागरिकलाई प्राकृतिक विपद्को कारणबाट हुने मानविय क्षतिलाई सामूहिक विपद् दुर्घटना बीमा कार्यक्रममार्फत सुरक्षा दिन विपद् जोखिम बीमा सम्बन्धि कार्यबिधि जारी गरेको थियो सोही अनुसार उनीहरुले बीमा बापतको रकम पाएका हुन ।
बीमा भएका जति हरेकले यो सुविधा भने नपाउन पनि सक्छन । जानीजानी आफैले लगाएको चोट पटकको कारण मृत्यु भएमा, आत्महत्या या त यसको प्रयोगको कारण मृत्यु भएमा, मादकपदार्थ वा लागुपदार्थको सेवनको कारण मृत्यु भएमा, गैरकानुनी तरिकाले उडेको उडानबाट भएको मृत्युको कारणबाट मृत्यु भएको हकमा भने यो सामूहिक दुर्घटना बीमा बापतको रकम विमितका आफन्तले पाउने छैनन । त्यसैगरी घोडादौड, बन्जी जम्प, प्याराग्लाईडिङ, मोटरसाईकल रेसजस्ता साहसिक खेल खेल्दा, बिमितले कुनै प्रचलित कानुन भङ्ग गरेको कारणबाट भएको मृत्युमा पनि यो सुबिधा उपलव्ध हुने छैन । त्यसैगरी पूर्व निर्धारित युद्ध, हुलदंगा, अतिक्रमण या क्रान्ति लगायतका क्षतिमा पनि यो मृत्यु दाबि बापतको रकम दावि बापत भुक्तानी दिनु नपर्ने भनि स्पष्ट उल्लेख गरिएको छ ।
विभिन्न प्राकृतिक विपत्तिजन्य दुर्घटनामा परि मृत्यु भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख र आवास बीमा अन्तर्गत पाँच लाख रुपैया पाउने प्राव्धान रहेको छ । प्राकृतिक विपद् भन्नाले हिमपात, असिना, हिमपहिरो, हिमताल विष्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भू–स्खलन, डुवान, खडेरी, आँधी, हुरी, बतास, सितलहर, तातो हावाको लहर, चट्ङ्याङ, भुकम्प, ज्वालामुखी विष्फोटन, डढेलो वा यस्तै प्रकृतिका अन्य विपद्मा परेकाहरुलाई यो बीमा रकम दावी भएमा भुक्तानी दिने छ ।
सोही कार्यविधि बमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राष्ट्रिय बीमा कम्पनीबिच १ असोज २०७६ मा कर्णालीका नागरिकको सामूहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको थियो । सम्झौता अनुसार कर्णाली प्रदेशका १७ लाख ७० हजार नागरिकको सामूहिक दुर्घटना बीमा गरिएको थियो । प्राकृतिक रुपमा भित्रिने विपत्तिबाट केही मात्रामा भएपनि राहत भएको छ । यो सामूहिक बीमाले सामान्य र उच्च आर्थिक अवस्था भएकालाई सामान्य लागेपनि आर्थिक रुपमा विपन्न र कमजोरका लागि भने यो असाध्यै राम्रो छ । सामान्य घरको एकजना जसको आड र भरोसामा घरको गुजारा बालबच्चाको लालन पालन, पढाईलेखाई चलेको हुन्छ उनीहरुको लागि असाध्यै राम्रो र प्रभावकारी रहेको देखिन्छ ।
यसको निरन्तरता हुनु आवश्यक छ । यसरी सामूहिक बीमामार्फत कर्णालीका ३ सय ४४ घरपरिवारले ६ करोड ८८ लाख बराबरको बीमा भुक्तानी पाएका छन् । आश्रित परिवारको लागि जिवनप्रतिको आशा जगाउने एउटा काम अन्तर्गतको यो पनि हो । तर जसले पाउनुपर्ने हो उसले पाउँछ कि पाउँदैन ? त्यहींका पनि टाँठाबाठाले मात्र पो यो सुबिधा लिएका पो छन कि ? त्यो कुरामा पनि ध्यान जान जरुरी छ । त्यसैगरी आश्रित परिवारले पाउने सुरक्षित बातावरणमा मात्र त्यो दिनुपर्छ । अनि सन्तान छन भने उस्तै परे त्यो सन्तानको पालन पोषण र उच्च शिक्षासम्मको लागी सुरक्षित हुने बातावरण बनाउनु पर्छ ।