प्रतिनिधि सभाको बैठक बुधवार सम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक बुधवार सम्मका लागि स्थगित भएको छ । यसअघिको मंगलवार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको बैठक सूचना टाँसेर बुधवार सम्मका लागि स्थगित गरिएको हो । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध गरेका थिए ।

सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेसका सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखे । उनले सहकारीमा भएको अनियमितताको विषयमा छानविन गर्न सरकार गैर जिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरे ।

सांसद थिङले आफ्नो कुरा राखेपछि सत्तापक्षका सांसदहरुले पनि उठेर बोल्न समय माग गरेपछि सभामुखले रास्वपाका सांसद मनिष झालाई समय दिए पनि कांग्रेसका सांसदहरु उभिएर विरोध गरिरहेका हुन् ।

सदनमा दुवै पक्षका सांसदहरु उभिइरहँदा सभामुख देवराज घिमिरेले सदन अवरुद्ध हुँदा जनताको आवाज उठाउन अवरोध हुने भन्दै सांसदहरूलाई आ–आफ्नो स्थानमा आशन ग्रहण गरी सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।

सदनमा उभिएर विरोध गरिरहेका सांसदहरूलाई सभामुख घिमिरेले पटक–पटक बस्न आग्रह गरेपनि दुवै पक्षका सांसदहरुले सभामुखको आग्रहलाई नमानेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । प्रतिनिधि सभाको अर्को बैठक बुधवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधि सभाको बैठक बुधवार सम्मका लागि स्थगित

सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

प्रतिनिधि सभाको बैठक बुधवार सम्मका लागि स्थगित

महिलालाई सेनिटरी प्याड निर्माण तालिम