सल्यानमा पालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज


सल्यानका स्थानीय तहबाट श्रम स्वीकृति र पुनः स्वीकृति सम्बन्धी सेवा सुरु गरेका छन् ।

सरकारले २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम सल्यानका स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयन गरेका हुन ।

१० स्थानीय तह रहेको सल्यानमा हालसम्म कुमाख, छत्रेश्वरी, कपुरकोट गाउँपालिका र शारदा नगरपालिकाले रोजगार शाखाबाट श्रम स्वीकृति लिने र पुनः स्वीकृतिका लागि अनलाइन आवेदन गर्ने काम सुरु गरेको जनाएका छन् । यसका लागि अब काठमाडौँ धाउनुपर्ने झन्झटको अन्त्य भएको छ ।

कुमाख गाउँपालिकाका रोजगार संयोजक जीवन शर्माले पुनः श्रम स्वीकृति गरी ई स्टिकर प्रदान गर्नु काम भइरहेको बताए । अहिलेसम्म कुमाख गाउँपालिकाबाट तीन जना सेवाग्राहीले श्रम स्वीकृति लिइसकेको उनको भनाई छ ।

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने शर्माले बताए ।

सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनु पूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बिमाका लागि तिर्नुपर्ने हुन्छ । मोबाइल बैङ्किङमार्फत रकम तिर्न सकिन्छ । कल्याणकारी कोषका लागि १ हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि न्यूनतम दुई हजार र बिमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ । उक्त सबै काम भए पछि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने शर्माको भनाई छ ।

आफ्नै गाउँघरबाट छिटोछरितो सेवा प्राप्त भएको कुमाख गाउँपालिका ४ हरि बहादुर विष्टले बताए । वैदेशिक रोजगारीका शिलशिलामा विदेश गई बिदामा घर फर्किएको र पुनः रोजगारीमा जानका लागि गाउँपालिकाबाट नै श्रम स्वीकृति लिएको उनले बताए । श्रम स्वीकृति लिनकै लागि सुर्खे वा काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको विष्टको भनाई छ ।

यसअघि श्रम स्वीकृतिको काम गर्न काठमाडौँ जानुपर्ने बाध्यता हुँदा खर्च धेरै लाग्ने गरेको भन्दै बिष्टले आफ्नो गाउँमै रहेको सेवा केन्द्रबाट श्रम स्वीकृति गरि इ–स्टिकर पाउँदा आफ्नो समय र पैसा बचत भएको बताए ।

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज बनाउन भन्दै २०८० वैशाख १ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति को लागि आवेदन पेश गर्ने कार्य स्थानीय तहको रोजगार सेवा केन्द्रबाट गराउन गत चैत १६ गतेको नेपाल सरकार प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री स्तरीय निर्णय भएको थियो ।

सल्यानमा पालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज

मुगुमा भूमिहीनको लगत संकलनमा ढिलाइ

सल्यानमा पालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज

मानव विकास सूचकाङ्कमा नेपाल एक सय ४६