मुगुमा भूमिहीनको लगत संकलनमा ढिलाइ


मुगुमा स्थानीय तहले भूमिहीनको लगत संकलनमा चासो नदिँदा लगत संकलनमा ढिलाइ भएको छ । जिल्लाका चार स्थानीय तहले चासो नदिँदा भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीको लगत संकलनमा ढिलाइ भएको हो ।

राष्ट्रिय भूमि आयोग मुगुको आयोजनामा बिहीबार भूमिहीनको लगत संकलन प्रगति विवरणका विषयमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै आयोगको जिल्ला समिति मुगुका अध्यक्ष लालचन्द्र विकले स्थानीय तहले चासो नदिँदा ढिलाइ भएको बताए ।

दुई वर्ष पुगे पनि भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीको लगत संकलन कार्य पूरा हुन सकेको छैन् । हालसम्म भूमिहीनको यकिन तथ्यांक अझै नआएको अध्यक्ष विकले बताए ।

भूमिहीनको लगत संकलनका लागि पहिलोपटक २०७९ भदौ २९ गते ३५ दिने सूचना प्रकाशित गरिएको थियो । त्यो समयभित्र जिल्लाका कुनै पनि स्थानीय तहले भूमिहीनको लगत संकलन नगरेपछि दोस्रो सूचना २०८० फागुन १ गते पुनः ३५ दिने सूचना प्रकाशित गरेपछि छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र मुगुम कामारोङ गाउँपालिकाले मात्रै लगत संकल गरेर राष्ट्रिय जिल्ला भूमि आयोग समितिमा पठाएका छन् ।

यद्यपि, सोरु गाउँपालिकाले अझै लगत संकलन गरेर पठाएको छैन् । हालसम्म छायाँनाथ रारा नगरपालिकाले चार सय १७, खत्याड गाउँपालिकाले सात सय ५७ र मुगुम कामारोङ गाउँपालिकाले तीन सय ४० भूमिहीनको एकमुस्ट लगत संकलन गरेर पठाएका छन् । सोरु गाउँपालिकाले समय समाप्त हुनै लाग्दासमेत लगत संकलन गरेर पठाएको छैन् ।

भूमिहीनको लगत संकलनका लागि दोस्रोपटक प्रकाशित सूचनाको अवधि चैत ५ गते सकिँदै छ । समय सीमाभित्र पनि सोरु गाउँपालिकाबाट भूमिहीनको लगत नआए अन्य प्रक्रियामा जाने राष्ट्रिय भूमि आयोग मुगुले जनाएको छ ।