सन्त नेता किशुनजीको जीवनबाट सबैले प्रेरणा लिनुपर्छ : उपसभापति खड्का


नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनबाट सबैले प्रेरणा लिनुपर्ने बताएका छन् । उनले भट्टराईको आदर्श, निष्ठा, अनुशासन र आम नेपाली जनताप्रति समर्पित र अनुशासित हुने व्यवहारको अनुसरण गर्नुपर्ने बताए ।
‘सामाजिक र राजनीतिक जीवनमा समर्पित भएका मानिसहरुको जीवनपद्धती कस्तो हुनुपर्दछ, उनीहरुको आचार र विचार कस्तो हुनुपर्दछ भन्ने कुरा पार्टीका संस्थापक मध्येका एक सन्त नेता किशुनजीबाट हामीले सिक्नु आवश्यक छ,’ शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश पार्टी कार्यसमितिले निर्माण गर्न लागेको सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति भवनको शिलान्यास गर्दै उपसभापति खड्काले भने, ‘मुलुकको जिम्मेवारी लिँदा कसरी जनताप्रति समर्पित भएर काम गर्नु पर्दछ भन्ने अनुपम, अनुकरणीय उदाहरण देशकाप्रति, संसारका अघि प्रस्तुत गरेर दीक्षा, शिक्षा दिएर जानु भएको छ ।’
उपसभापति खड्काले राजनीतिक जीवनको अधिकांस समय आफूले सन्त नेताकै शिक्षा दीक्षामा जोडिन पाएको बताए । ‘उहाँकै नाममा भवन निर्माणको सुरुवात गरेको छ,’ उनले भने, ‘कर्णाली प्रदेशको सिंगो पार्टी सञ्चालन गर्न र जनताप्रतिको उत्तरदायि हुन यो शुभ अवसरले प्रेरणा दिनेछ ।’
उपसभापति खड्काले सामाजिक जीवन पद्धतीमा सन्त नेता किशुनजीले दिनु भएको सुसंस्कारयुक्त सामान्य, सरल, सहज, लोभबाटमुक्त, डरबाटमुक्त, भयबाटमुक्त पूर्णयतया देश र जनताप्रति समर्पित हुने उहाँको अनुकरणीय जीवनबाट पाठ सिक्दै कर्णाली प्रदेशको पार्टी संगठनमा, पार्टी निर्माण र राजनीतिमा लाग्ने सबैमा प्रेरणा दिने विश्वास व्यक्त गरे ।





