खत्याड जोड्ने सडक नबन्दा स्थानीयलाई मर्का

![]()
गमगढीदेखि खत्याड गाउँपालिका जोड्ने सडक निर्माण प्रक्रियामा रारा राष्ट्रिय निकुञ्जले छेकेपछि स्थानीयलाई मर्का परेको छ ।
गमगढीदेखि खत्याड जोड्ने सडक खन्न निकुञ्जले छेकेपछि त्यहाँका स्थानीय २ दिन हिँडेर गमगढी पुग्ने गरेका छन् । अर्कोतिर खत्याड गाउँपालिकाका स्थानीयले जिप, मोटरसाइकल चढेर जानु पर्दा गमगढीबाट घुच्चीलेक हुँदै छिमेकी जिल्ला जुम्ला गोठीज्यूला बजार पुगेर त्यहाँबाट कालाकाँडा भएर गम्था माँझचौर पुग्नु पर्दा झन् मर्का हुने गरेको स्थानीय बताउँछन् । उक्त सडक खण्ड हिमपात बर्खाको बेला अवरुद्ध हुँदा हिँडेरै ओहोरदोहोर गर्नु पर्ने बाध्यता छ । ’निकुञ्जले गर्दा सडक बनेन, हामीलाई सारै दुःख भयो,’ खत्याड गाउँपालिका ८ कारामबहादुर रावतले भने, ’पिठ्युँमा झोला र हातमा लौरो टेकेर पसिना बगाउँदै हिँड्नु पर्ने अवस्था छ ।’
हिउँदको बेला निकुञ्जको घोरेटो बाटोमा हिउँ बरफ, जम्दा हिँड्न जोखिम हुने, चिप्लिएर चोट लाग्ने उनको भनाइ छ । ’निकुञ्जबाट हामीले पाउनु पर्ने सेवासुविधा केही छैन,’ उनले भने, ’उल्टै सडक छेकेर हामीलाई सारै दुःख कष्ट भयो ।’
नागरिकता बनाउन, लालपूर्जा लिन, जग्गाको कित्ताकाट र डिभिजन वन कार्यालय, सिँचाई तथा खानेपानी कार्यालय, पूर्वाधार विकास, कृषि तथा पशुसेवालगायत सरकारी कार्यालयका योजना सम्झौता गर्न बजेट भुक्तानी लिन २ दिन हिँडेरै गमगढी पुग्नु पर्दा खत्याडवासी निकुञ्जप्रति रुष्ट छन् ।
जिल्ला सदरमुकाम गमगढी आउन कि २ दिन हिँड्नु पर्ने कि त जुम्ला गोठीज्यूला भएर जानु पर्ने बिडम्बना रहेको खत्याड गाउँपालिका–२ का वडाध्यक्ष हेमराज मल्लले सुनाए । उनले भने, ’राराबाट हामीले पाउनु पर्ने केही छैन । उल्टै सडक खन्न बाधा हुँदा पैताला दुखाएर हिँडनु पर्ने भयो । मोटरबाटो सुविधा नहुँदा खत्याडमा कार्यरत कर्मचारी शिक्षक विद्यार्थीलाई बिदाको समयमा रारा घुम्न गाह्रो भएको छ ।’
गमगढीदेखि राराको माथिल्लो मिलिचौरसम्मको १६ किलोमिटरसम्म जिप, मोटरसाइकलद्वारा गए पनि त्यहाँदेखि लगातार ६ घण्टा हिँडेर सेरी निगालबोट पुगेपछि मात्र स्थानीयले जिप भेट्ने गरेका छन् । खत्याड गाउँपालिकाले गम्थादेखि निगालबोट समानेसम्म सडक बनिसकेको र निकुञ्ज क्षेत्र भित्रकै करिब १७ किलोमिटर सडक खन्न बाधा अड्चनले स्थानीयले सास्ती खेप्नु परेको छ ।
निकुञ्जले खत्याड जोड्ने सडक छेक्यो गाउँपालिकाकी उपाध्यक्ष सरिता रोकायाले भनिन्, ’सडक सुविधा नहुँदा गमगढी आउजाउ गर्न सारै दुःख छ ।’ उनका अनुसार सेरी निगालबोटदेखि रारा माझघट्टसम्मको १३ किमि सडक निर्माणका लागि चालु आर्थिक वर्षमा पालिकाले वातावरणीय अध्ययन प्रक्रिया अघि बढाएको छ । निकुञ्ज भित्रको अप्ठेरो जंगलको बाटो हिँडेर ओहोरदोहोर गर्नु पर्दाको जोखिम, लुटपाट, वन्यजन्तुको डरैडरेले महिला, पुरुष कर्मचारी आउजाउ गर्ने गरेका छन् ।
जैविक विविधता नास हुने र वन्यजन्तुलाई असर पर्ने भएकोले निकुञ्जभित्र सडक लैजान नपाइने रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर तथा सूचना अधिकारी जयहरि धितालले जनाए ।
गमगढीदेखि खत्याड गाउँपालिका जोड्ने सडक निर्माणमा निकुञ्ज बाधक बनेपछि वैकल्पिक सडकको लागि सेरी नारङ्गे गिलाह तारापानीसम्मको १३ किलोमिटर सडक खन्ने काम ओझेलमा परेको छ । खत्याडवासीको हिँडाइको पीडालाई अन्त गर्न गमगढी रारा हुँदै खत्याड जोड्ने छोटो दुरीको सडक निर्माणको निम्ति पनि पहल भइरहेको संघीय सांसद ऐनबहादुर शाहीले बताए ।






