प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चंखेली गाउँपालिकाको वडा नम्बर ३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली,असिस्टेन्ट सब इन्जिनियर हर्कधन बुढालगायत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७४÷०७५मा संचालित चंखेली गाउँपालिका–३ को वडा कार्यालयको फिल्ड निर्माणमा वास्तविक भए गरेको कार्यभन्दा बढि मूल्यांकन गरी साइटमा नगरेको परिमाणको झुट्टा बिल बनाइ ११ लाख ९४ हजार ४ सय २६ रुपैयाँ हिनामिना गरेको पुष्टि हुन आएकाले निमित्त प्रमुख शाही,इन्जिनियर वली र असिस्टेन्ट सब इन्जिनियर बुढाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो, कैद र जरिवाना माग गरिएको अख्तियारले जनाएको छ ।
यसैगरी तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा,सचिव मानबहादुर ऐडी र कोषाध्यक्ष डल्ली बुढाले वडा कार्यालयको निर्माण कार्यमा फिल्डको वास्तविक निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरेको नगराएको परिमाणकाको मूल्यांकन गराइ वास्तविक रुपमा भएको कार्यभन्दा बढीको भुक्तानी गरी ११ लाख ९४ हजार ४ सय २६ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो माग गर्दै आरोप पत्र दायर भएको अख्तियारले जनाएको छ ।
चंखेली गाउँपालिकाको वडा नम्बर ३का वडा अध्यक्ष सालिग्राम ऐडीले फिल्ड निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस तथा प्रतिवेदनसहित दिइ भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को (उपदफा) ३ बमोजिमको कसुर गरेको ठहर गर्दै ऐडीलाई सोही दफा ८ को (३) बमोजिमको सजाय माग गर्दै आरोपपत्र दायर भएको छ ।






