आठबीस नगरपालिका–८ का वडा अध्यक्ष सहित अन्य २ जना भ्रष्टाचारी ठहर

विशेष अदालत काठमाडौँले विद्यालयको रकम हिनामानी गरेको अभियोगमा वडा अध्यक्ष र प्रध्यानाध्यापकलाई दोषी ठहर गरेको छ ।
दैलेखको आठबीस नगरपालिकाको ८ नम्बर वडाका तत्कालीन अध्यक्ष मुक्तिप्रसाद उपाध्याय, गणेश आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तकबहादुर कामी र प्रधानाध्यापक अनिलकुमार शाहीलाई बिहीबार विशेषले दोषी ठहर गरेको हो ।
उनीहरुले आर्थिक वर्ष २०७६÷७७ मा विद्यालयमा आइटीको सामान खरिद गर्दा चार लाख ९८ हजार रूपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दैै आयोगले २०७९ जेठमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।
विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार बिहीबार न्यायाधीशहरु खुशीप्रसाद थारु, तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले दोषी ठहर गर्दै तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना गरेको हो ।






