कर्णालीमा खेल पूर्वाधार केही नयाँ बन्दै केही अलपत्र

अप्सरा विष्ट।
कर्णाली प्रदेशबाट नेपाली खेलकुदमा विश्व कीर्तिमान कायम गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु कर्णालीमा छन् । ती सबै खेलाडीहरु आफ्नो कडा मेहनत र परिश्रमले गर्दा त्यो ठाउँमा पुगेका हुन् ।
खेलकुदमा हेर्ने हो भने कर्णाली सबै भन्दा पछाडी छ । कर्णालीमा खेलकुदको पूर्वाधार हेर्ने हो भने पनि पछाडि नै छ । कर्णालीमा प्राप्त गुणस्तरीय पूर्वाधार नभएका कारण नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि कर्णाली पुच्छरमा परेको थियो ।
खेलकुदको बिकास निर्माणमा सबैभन्दा पछाडि परेको यो क्षेत्रमा खेलकुद पूर्वाधारको अवस्था पनि उत्तिकै दयनीय छ । यस प्रदेशका १० जिल्लामा राष्ट्रिय खेलकुद परिषद्को नाममा करिव ५० रोपनी मात्रै जग्गा भएको पाइएको छ ।
कर्णाली प्रदेश सरकारको बजेट व्यवस्थापनमा प्रदेशको गौरबको आयोजना प्रदेश रंगशाला निर्माण भइरहेको छ । उक्त रंगशालाको कर्णालीमा २०७८ साल मङ्सिर २० गतेबाट निर्माण कार्य सुरु गरिएको थियो । हाल निर्माण कार्य ७५ प्रतिशत काम सम्पन्न भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य विश्वामित्र सञ्ज्जालले जानकारी दिए ।
उक्त परियोजना २०८१ साल जेठ १४ गते हस्तान्तरण गर्ने गरी काम भइरहेको छ । प्रदेश सरकारले १ अर्ब ५९ करोड बजेटमा रंगशालाको निर्माण कार्य थालनी गरिरहेको छ । वीरेन्द्रनगरमा कभर्डहल र सेमिकभर्ड हल रहेका छन् । यसको हाल कर्णाली प्रदेश खेलकुद परिषद्ले पुनःनिर्माण तथा स्तरउन्नति गरिरहेको छ ।
तर, कर्णालीमा अरु जिल्लामा खेल पूर्वाधार छैन् । त्यसैगरी यस प्रदेशका रहेका सल्यान, जाजरकोट र मुगुमा हालसम्म खेल पूर्वाधार निर्माण भएका छैनन् । तर, परिषदका अनुसार कालीकोट, जाजरकोटमा कभर्डहल निर्माण गर्नका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बहुवर्षीय स्वीकृतिका लागि प्रस्ताव प्रेस गरेको छ । सो को स्विकृत भएपछि ठेक्का प्रक्रियामा जाने परिषद्ले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषदका नाममा दैलेखमा १५४० बर्गमिटर, रुकुममा २० रोपनी, र डोल्पामा २७ रोपनी जग्गा दर्ता छ । यहाँ पूर्वाधार बनाउनका लागि ठाउँ प्रशस्त छ । तर, पूर्वाधार बनाइएको छैन् । परिषदका सदस्य सचिव सञ्जालले राष्ट्रिय खेलकुद परिषदको नाममा रहेका जग्गा संघीय संरचनामा गईसक्दा पनि प्रदेशलाई सम्पत्ति हस्तान्तरण हुन् नसक्दा कारण पूर्वाधार निर्माणमा ढिलाई भएको बताए ।
यता, कालिकोट, दैलेख, जुम्ला र पश्चिम रुकुममा रहेका जिर्ण कभर्डहल १० औं राष्ट्रिय खेलकुदका लागि मर्मत सम्भार भइरहेको परिषद् जनाएको छ । संघीय सरकारले आर्थिक बर्ष २०८०÷०८१ मा हरेक एक स्थानीय तहमा खेल मैदान र प्रत्येक प्रदेशमा राष्ट्रियस्तरको सुविधा सम्पन्न एक रंगशाला निर्माण गर्ने योजना ल्याएको थियो । तर, कर्णालीमा प्रदेश स्तरको १० औ राष्ट्रिय खेलकुदका प्रतियोगिताका लागि रंगशाला निर्माणमा प्रदेश सरकारले आफै लगानी गरेको देखिन्छ तर संघीय सरकारले यसमा लगानी नगरेको सरोकारवालले बताउने गरेका छन् ।
खेल पूर्वधार निर्माणमा तिवता
कर्णाली राजधानी वीरेन्द्रनगरमा गौरवको आयोजनाका रुपमा रंगशाला निर्माणको काम भइरहँदा क्रिकेट मैदान पनि बन्दैछ । वीरेन्द्रनगरस्थित कालिन्चोकमा क्रिकेट मैदानको गत पुस २ गते शिलान्यास गरिएको थियो । उक्त मैदान चैत्र महिनामा सम्पन्न हुनेछ ।
जसका लागि यतिबेला मैदानको काम तिव्ररुपमा अगाडि बढेको छ । ९८ लाख लागत रहेको उक्त क्रिकेट मैदान निर्माणका लागि ठेकेदार कम्पनीले ७३ लाख १८ हजार ३३७ रुपैयाँमा सम्झौता थियो । कर्णालीमा बन्ने उक्त क्रिकेट रंगशाला पहिलो हो । हुम्लामा १ करोड ५१ लाखको लागतमा कभर्डहल निर्माणाधिन अवस्थामा रहेको छ । साथै, हक्की मैदानको ठेक्का आह्वान भएर सम्झौता प्रक्रियामा रहेको परिषदका सदस्य सचिवको भनाई छ ।
उनका अनुसार जुम्लामा पनि भलिबल खेलमैदानको प्याराफिट निर्माण हुँदैछ । ४८ लाखको लागत खेलमैदानको काम अगाडी बढेको छ ।
यस्तै, करिव ७ करोडको लगानीमा जाजरकोटको बहुबर्षिय स्वीकृतका लागि आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशमा प्रस्ताव पेश गरिएको छ । बहुवर्षीय स्वीकृत आएमा ठेक्का प्रक्रिया अगाडि बढ्ने सदस्य सचिव सञ्जालले बताए ।
उता मुगुमा भने जग्गा व्यवस्थापन नहुँदा खेल पूर्वाधारनै निर्माण हुन् सकेको छैन् । तर, जिल्ला खेलकुद विकास समितिले करिब १० लाख रुपैयाँको लागतमा रारामा कबाडीको मैदान निर्माणका लागि प्रस्ताव दिएको उनको भनाई छ ।
यस्तै, भौगोलिक विकटताका कारण डोल्पामा हालसम्म कुनै पनि खेल पूर्वाधार निर्माण भएका छैनन् । राष्ट्रिय खेलकुद परिषदले जग्गा उपलब्ध गर्न नसक्दा कारण पनि पूर्वाधार निर्माणमा ढिलाइ भएको देखिन्छ । सल्यानमा पनि जग्गा उपलब्धि नहुदा पूर्वाधार बन्न सकेको छैन् ।
बजेट अभावले रंगशाला अलपत्र
कर्णालीमा बजेट अभावका कारण धेरैजसो जिल्लामा रंगशाला अलपत्र रहेका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–३ धैरेनीचौरमा अत्याधुनिक रंगशाला निर्माणका लागि डीपीआर भएको ५ बर्ष भयो । २०७७÷०७८ देखि रंगशाला निर्माणको काम थालिएपनि हालसम्म अलपत्र अवस्था रहेको छ ।
रंगशालाको डीपीआरअनुसार २८ करोड १० लाख रुपैयाँको लागत अनुमान गरिएको थियो । संघीय सरकारको बजेटबाट रंगशालाको काम सुरु पनि भएको थियो । तर, हालसम्म ८७ लाख रुपैयाँ खर्च भएको रंगशाला अहिले अलपत्र छ ।
त्यस्तै, कालिकोट सदरमुकाम मान्ममा पनि कबडहल नहुँदा खेलाडीहरू असुरक्षित खेल मैदानको भर पर्दै आएका छन् । जिल्लामा आयोजना हुने र कुनै पनि खेलकुद प्रतियोगिता जिल्ला समन्वय समितिको मैदानमा हुँदै आएता पनि सहज र सुरक्षित रुपमा प्रतियोगिता खेल्नका लागि सुविधा सम्पन्न कबड हुनु पर्ने त्यहाँका खेलाडीहरुको भनाई छ । खालीचौर र विद्यालयका मैदानहरुमा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता खेल्नु परेको खेलाडीको पवन शाहीको पीडा बताए ।
पानी जम्ने, हिलो, धुलो, ढुङ्गा भएको र खाल्डाखुल्डी भएको मैदान जिल्ला स्तरीय प्रतियोगिता र अभ्यास गर्नुपरेको उनको भनाई छ । उनले भने, ‘यसलै गर्दा हामी कति घाइते भएका छौं । यहाँ पनि एउटा सुविधा सम्पन्न कबड हल वा खेलमैदान भएको भए पिछडिएको ठाउँबाट हामी पनि खेलकुदमा अगाडि हुन्थ्यो कि ?’
त्यस्तै, कालीकोट जिल्लाकै रास्कोट नगरपालिकामा पाँच बर्षअघि निर्माण सुरु भएको रास्कोट रंगशाला पनि अलपत्र छ । उक्त रंगशालाको निर्माण उपभोक्ता समितिको विवादले गर्दा अलपत्र परेको हो । विवादका कारण २०७८÷०७९ मा विनियोजन भएको ५० लाख रुपैयाँ फ्रिज गएको छ । तर, आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड र २०७६÷०७७ मा थप १ करोड गरी २ करोड खर्च भइसकेको रंगशाला निर्माणमा सुरुदेखि नै दलीय उपभोक्ता समिति बन्ने होडबाजीले गर्दा विवाद हुँदै आएको छ ।
मुसीकोट–२ पानीढुगांमा एक दशकअघि थालिएको रंगशाला निर्माणको काम पनि अलपत्र परेको छ । ११ बर्ष पहिला संसद विकास कोषमार्फत रंगशाला निर्माणका लागि करिब ६५ लाख रुपैयाँ खर्च गरी रंगशालाको काम सुरु भएको थियो ।
हाल अर्को चौरजहारी नगरपालिका–२ मा प्रादेशिक रंगशाला निर्माणको योजना अघि सारिएको छ । झण्डै ८५ करोड रुपैयाँ लागत स्टिमेटसहित बहुवर्षीय योजनाका रूपमा रंगशाला निर्माणको काम हाल ठेक्का सम्झौताको प्रक्रियामा रहेको छ ।
जग्गा प्राप्ति सम्बन्धि प्रक्रिया चलिरहेका कारण हालसम्मको उक्त रंगशालाको निर्माण कार्य सम्झौतामा ढिलाइ भएको प्रदेश खेलकुद परिषदले बताएको छ । दैलेखमा २०६६ सालमा नारायण नगरपालिका–२ मा रंगशाला निर्माणको काम थालनी गरिएको थियो । जिल्ला खेलकुद विकास समितिले माल्ली वन उपभोक्ता समितिसँग रंगशाला निर्माणका लागि ३ रोपनी जग्गा ५ लाख रुपैयाँमा किनेको थियो । तर, समिति जग्गा किनेपनि रंगशाला निर्माण हुन् सकेन । तर, हालसम्म रंगशालाको निर्माण कार्य अगाडि बढ्न सकेको छैन् । सुविधा सम्पन्न खेलमैदान बन्न नसक्दा यहाँ खेलाडीले १४ बर्षदेखि विद्यालयका असुरक्षित चौरमा नै गएर खेल अभ्यास गर्न बाध्य भएका छन् ।
खेलकुदको भौतिक संरचना निर्माण नहुनुमा भागबन्डामा उपभोक्ता र तिनलाई स्वार्थको लागि प्रयोग पाइन्छ । जसका कारण खेलकुदका भौतिक संरचना समयमा निर्माण हुने नसकेको देखिन्छ । यसले सिङ्गो कर्णालीको खेलकुद क्षेत्र पछाडि परेको पर्न गएको छ । यसले खेलकुद क्षेत्रमा लागेका खेलाडी र खेलकर्मी निराश छाएको पाइन्छ ।
खेलकुदलाई केवल प्रतियोगिता र जित हार मात्र नहेरेर यसमा सिङ्गो राष्ट्रको इज्जत, प्रतिष्ठा र पर्यटनसँग गाँसिएको छ भन्ने रुपमा बुझ्न आवश्यक देखिन्छ । त्यसैले गर्दा खेलकुदमा गरिएको लगानी खेर जाँदैन नजाने हुँदा आगामी सरकारले खेलकुदको भौतिक संरचना निर्माणमा लगानी गर्नु आवश्यक छ ।
खेलकुदमा विद्यालय ग्रासरुढ स्तरबाटै खेलाडी उत्पादन, प्रशिक्षण, प्रतियोगिता आयोजना गर्दै उत्कृष्ट खेलाडीलाई प्रोत्सान गर्दै समग्र खेलकुद विकासका लागि विद्यालय स्तरबाट अन्तर्राष्ट्रिय स्तरको ओलम्पिकमा जोडमा आवश्यक छ । खेलकुदमा राम्रो सम्भावना भएपनि लगानी कम हुँदा पछिल्लो समयका राम्रा खेलाडी विदेशीनु पर्ने बाध्यता छ ।
खेलकुदमा लगानी मैत्री वातावरण बन्ने हो भने खेलाडी विदेशीनुबाट राकिनुका साथै खेल क्षेत्र खेत्रबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सक्ने प्रचुर सम्भावना बोकेको भूमिको रुपमा कर्णाली प्रदेश हो भनेर चिनाउन सकिन्छ ।
प्रदेश खेलकुद परिषदको ५ ‘प’ को रणनीति अनुसार खेलकुद सम्बन्धीका गतिविधिलाई प्राथमिकता दिएमा अब हुने प्रतियोगितामा कर्णाली उत्कृष्ट नतिजा हाँसिल गर्नेछ । परिषदले ५ ‘प’ को रणनीतिमा पूर्वाधार, प्रतियोगिता, पुरस्कार, प्रतिभाको छनौंट र प्रशिक्षण रहेका छन् ।





