सुन्तला बेच्न, लजाउँछन पुरुष !

भक्तबहादुर शाही।
यतिबेला जिल्ला सदरमुकामको डेकेन्द्रचोक, देवकोटाचोक, एनएमवी चोक र गणेश चोकमा डोकोमा विक्री लागि सुन्तला राखिएका छन् । सुन्तला विक्री गर्नका लागि अधिकाँश महिला नै छन् । एक दुई जना अपवाद बाहेक पुरुष भेटिदैनन् । डोकोमा सुन्तला विक्री गर्न पुरुष लजाउँछन् । हामीले कैयौं पटक विक्री गर्न जानुहोस भन्दा नाई म घरकै काम गरुला, तिमी नै जाउँ भन्छन । छाक टार्नको लागि डोको सुन्तला बोकेर आउनु प¥यो । दैलेख क्षेत्र नं.–२ को दुल्लू नगरपालिका–६ छिउडी पुसाकोटबाट डोकोमा सुन्तला बोकेर विक्री गर्न महिला दैलेख सदरमुकाम आउँछन् ।

विहान भाले नबास्दै आफुहरु दुल्लू नगरपालिकाको छिउडी पुसाकोट हिडने गरेको ४० बर्षिया हरिकला खड्काले बताईन । उनले भनिन्,‘मेरो श्रीमान् मजदुरीका लागि मुग्लान गएकाले म आफै विक्री गर्न आएको हौं । तर अन्य साथीहरुका श्रीमान् घरमै हुनुहुन्छ । हामी डोकोमा सुन्तला बेच्न लाज मान्छौं भनेर परिवारलाई सुन्तला विक्रीका लागि पठाउँछन र पेट पाल्नको लागि आउनै प¥यो ।’
सुन्तला विक्रीबाट मासिक १० हजार कमाउने गरेको बताईन । ‘हामीले सुन्तलाको मालिकबाट बोटमै ५० रुपैयाँ किलो खरिद गछौं । यहाँ एक किलो सुन्तला एक सय विक्री गर्छौ । आवत जावत गर्न चार सय खर्च भईहाल्छ । दिनको ७ सय रुपैयाँ आम्दानी हुन्छ । त्यसैले छोराछोरी पढाई, लेखाई र घर खर्च चलाउँछौ’ उनले भनिन् । खड्काका २ छोरी १ छोरा छन् ।
हरिकलाको जस्तै सोही वडाकी छत्रा थापाको भनाई छ । थापाको श्रीमान् पनि गाउँमा रोजगारी नहुँदा मुग्लान हानिए । घर खर्च चलाउनको लागि आफुले संघर्ष गरिहेको पिडा सुनाईन । संघीयताले गाउँमा सिंहदरबार ल्याएपनि आम नागरिकले त्यसको अनुभुति गर्न नपाएको थापाको भनाई छ । जनप्रतिनिधीले आफन्त, छरछिमेकी नातागोतालाई मात्र रोजगारी दिन थालेपछि गाउँका अन्य पुरुष मुग्लान जानुपर्ने बाध्यता भएको बताईन ।
चुनावताका नेताहरुले भोट फकाउनको लागि धेरै आश्वासन दिएपनि जिते सके कोही पनि नफर्किने गरेको गुनासो पोखिन । ‘हामीले जे जति दुःख पायौं, पायौं । अबका युवाले विदेश जान नपरोस । गाउँमै सरकारले रोजगारी दिईयोस’ उनले थपिन ।
व्यापारमा पनि विभेद
सुर्खेत मोडेल कलेजबाट विविएस गरेका दुल्लू नगरपालिका–६ का ३० बर्षिय उपेन्द्र खड्का देवकोटा चोकमा सुन्तला विक्री गरिरहेका भेटिए । ‘पुरुष सुन्तला विक्री गर्न नआउनु एक लाज मानेर नै हो । सुन्तलाको मात्रा धेरै भए पुरुष आफै विक्री गर्न आउनुहुथ्यो होला ।’ डोको बोकेर यसरी ग्राहक कुरेर बस्न लजाउँछन । त्यसकारण महिलाले आउने गरेको बताए । कतिपय पुरुष गाउँमै जुवातास खेलेर बसेका हुन्छन । कतिपयका श्रीमान् कमाउन भारतका लागेका कारण महिला आउनुपर्ने बाध्यता हो, उनले भने ।
दुल्लू नगरपालिका सुन्तला उत्पादन धेरै हुने गरेपनि संकलन केन्द्र नहुँदा अधिकाँशले डोकोमा बोकेर सदरमुकाम ल्याएर विक्री गर्नुपर्ने बाध्यता छ । कतिपय व्यापारीले बोटबाटै सुन्तला खरिद गर्ने गरेको शोभा खड्काले बताईन । हामी त जीवन गुजाराका लागि अरुबाट खरिद गरेर यहाँ जिल्लामा ल्याएर विक्री गछौं । धेरै सुन्तला हुने गाउँबाटै विक्री गर्छन उनले भनिन् । सुन्तला विक्रीबाटै आफूहरुले २० देखी २१ हजारसम्म कमाउने गरेको जानकारी दिईन ।
जिल्लामा बर्षेनी पत्रकारले इन्टरभ्यू लिने गर्दा आफुहरुलाई दिक्क लाग्न थालेको बताईन । तपाई जहिले पनि हाम्रो इन्टरभ्यू मात्र लिनु हुन्छ । हाम्रा दुःख उस्तै छन् । दुःख कमी हुदैन,सरकारले सुन्दैन खड्काले प्रश्न गरिन ?
पाँच हजार मेट्रिकटन बढी सुन्तला उत्पादन
जिल्ला कृषि विकास कार्यालयले दिएको तथ्यांक अनुसार आर्थिक बर्ष ०७९÷०८० मा जिल्लाभर ६ सय १२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ भने सोही बर्ष ५ हजार नौं सय ९२ मेट्रिकटन उत्पादन भएको थियो भने आ.व. ०७८÷०७९ भन्दा ९.५७ उत्पादनमा बृद्धि भएको देखिन्छ ।
त्यसैगरी चालु आर्थिक बर्षमा जिल्लाभर ६१४ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । उत्पादन मेट्रिकटन ५ हजार ८ सय ७६ रहेको छ भने उत्पादकत्व ९.५७ झरेको छ । वगैचा व्यवस्थापन कमी, विभिन्न रोग किराको प्रकोप र जलवायु परिवर्तनको असर गर्दा उत्पादनमा कमी आएको र यसको असर सबै भन्दा बढी दुल्लू नगरपालिकामा देखिएको कृषि कार्यालयका प्रमुख दशरथ पाण्डेले बताए ।
उनले भने, ‘यो बर्ष क्षेत्रफल बढेको छ । चार बर्षपछि मात्र सुन्तलाले उत्पादन दिन्छ । सुन्तला खेतीको क्षेत्रफल बढने, उत्पादन घटने तथ्यांकमा देखिएको हो ।’ अघिल्लो बर्षको तुलनामा झण्डै ११६ मेट्रिकटन सुन्तला उत्पादनमा विभिन्न रोग, जलवायु परिवर्तन, वगैचा व्यवस्थापन कारण कमी आएको कृषि अर्थ विज्ञ झलकबहादुर भण्डारीको भनाई रहेको छ ।







