अस्थायी संरचना बनाई पढाइ सुरु गर्ने तयारी


अस्थायी संरचना निर्माण गरेर भूकम्पबाट प्रभावित भएका विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएका सामुदायिक र निजी विद्यालयमा चाडपर्व सकिएसँगै पठनपाठन सुरु हुन लागेको हो ।
रुकुम (पश्चिम) र जाजरकोटको पठनपाठनमा भने भूकम्पले असर पु¥याएपनि अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ सुरु गर्न लागिएको छ । ती जिल्लाका केही स्थानीय तहका विद्यालयमा मंगलबारदेखि नै पठनपाठन सुरु हुने भएको छ भने केही स्थानीय तहका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार भूकम्पबाट ६ सय कक्षा कोठामा पूर्ण रुपमा क्षति भएको छ भने ८ सय कक्षा कोठामा आंशिक क्षति पुगेको छ । रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत इन्द्रबहादुर बिष्टले नगरपालिकाभित्रका भूकम्पप्रभावित विद्यालयमा मंगलबारदेखि पठनपाठन थाल्ने जानकारी दिए ।
उनले भने, ‘जहाँ आंशिक क्षति पुगेको छ, त्यहाँको सबै अवस्था बुझी पठनपाठन भोलिदेखि नै हुन्छ, पूर्ण रूपमा क्षति पुगेको ठाउँमा भने हामीले अस्थायी सिकाइ केन्द्र बनाएर तयारी अवस्थामा राखेका छौं । त्यसैले मंगलबारदेखि पठनपाठन सुरु हुन्छ ।’ उनका अनुसार भूकम्पबाट नगरपालिकाभित्रका ६४ वटा विद्यालयमा क्षति पु¥याएको थियो । जसमा ५२ वटा पूर्ण क्षति भएको छ ।
पठनपाठन थाल्न १३९ अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको छ । ‘अझै पनि प्रदेश सरकार, विभिन्न संघसंस्थाहरूले सहयोग गर्दै आएका छन्, अझै थप अस्थायी सिकाइ केन्द्र बनाएर सहज रूपमै पठनपाठन थाल्नेछौं, पाठ्यपुस्तकको व्यवस्था पनि गर्दै छौं’ उनले भने । जाजरकोटको नलगाड नगरपालिकामा पनि मंगलबारदेखि नै पठनपाठन सुरु हुने भएको छ ।
नलगाढ नगरपालिका भूकम्पबाट अधिक प्रभावित क्षेत्र हो । नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलवीर विकका अनुसार भूकम्पबाट ५४ वटा विद्यालयमा क्षति पुगेको छ । जसमा १२८ कक्षाकोठा पूर्ण रूपमा क्षति पुगेको छ ।
नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकले आंशिक रूपमा क्षति भएका विद्यालयमा मंगलबारदेखि पठनपाठन थालिने जानकारी दिए । ‘क्षति नभएका विद्यालयमा पठनपाठन हुन्छ, पूर्ण रूपमा क्षति भएका विद्यालयमा पनि अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने तयारी भइरहेको छ, केही दिन लाग्ला । बनिसकेपछि पढाइ हुन्छ’ उनले भने ।
सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञबहादुर खत्रीले भूकम्पबाट प्रभावित सबै विद्यालयमा पठनपाठन थाल्न पहल गरिरहेको बताए । उनले भने, ‘क्षति नभएका विद्यालयमा मंगलबारदेखि नै पढाइ हुन्छ, क्षति भएकोमा पनि अस्थायी टहरा बनाएर भए पनि पढाइ थाल्न भनेका छौं । हामीले पनि निरीक्षण गर्दै आएका छौं ।’ प्रदेश सरकारबाट सबै मिल्ने पहल र सहयोग हुने उनको भनाइ छ ।
अहिले जाजरकोटको छेडागाड, कुशेमा पाँचतारा युवा संरक्षण मञ्चले विद्यालयमा अस्थायी संरचना निर्माण गर्ने जिम्मेवारी लिएको छ भने नलगाड, भेरी र बारेकोटमा यूनिसेफले अस्थायी संरचना निर्माणको जिम्मेवारी लिएको छ । जिम्मेवारी पाएसँगै निर्माणका कामसमेत सुरु गरिएको छ ।






