नेपालगन्ज उपमहानगरपालिका भित्र १५ दिनभित्र रातो प्लेटका इ–रिक्सा सडकबाट हटाइने


नेपालगन्ज उपमहानगरपालिका भित्रका सडकमा रातो नम्बर प्लेटका ई रिक्सा चल्न नपाउने भएका छन् ।
इ–रिक्साका कारण ट्राफिक अव्यवस्था सँगै दुर्घटनाको जोखिम बढेपछि रातो प्लेटका ई रिक्सा सडकमा चल्न नदिइने भएको हो । शुक्रवार जिल्ला प्रशासन कार्यालय बाँकेमा सरोकारवालाहरूको उपस्थितिमा भएको सर्वपक्षीय बैठकले १५ दिनभित्र सडकबाट रातो प्लेटका इ–रिक्सा हटाउने निर्णय गरेको हो ।
बैठकमा ९० प्रतिशत इ–रिक्सा चालक सँग चालक अनुमति पत्र नभएकाले त्यसलाई पनि कडाई गर्ने निर्णय गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, बाँके प्रहरी प्रमुख सुवास चन्द्र बोहरा लगायत उपस्थित रहेको बैठकमा नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले ई रिक्सा चालकलाई चालक अनुमति पत्र वितरणमा यातायात व्यवस्था कार्यालयले असहयोग गरेको बताए ।
बैठकमा बाँके प्रहरी प्रमुख बोहराले रातो नम्बर प्लेटका ई रिक्सा हटाउनका लागि तत्कालै देखि तयारी थाल्ने बताए । बाँकेमा ई रिक्सा दुई किसिमले चल्दै आएका छन् ।
कालो प्लेट भएका ई रिक्साहरू यातायात कार्यालयमा भाडाको सावरीमा दर्ता भई यात्री ढुवानी गर्न पाउने अनुमति प्राप्त गरेका छन् । सो बापत उनीहरूले कानून अनुसार लाग्ने कर समेत तिर्नु पर्ने व्यवस्था छ । रातो प्लेट भएको ई रिक्साले निजी सवारी साधनमा तत्कालीन गाविस वा नगरपालिका मार्फत दर्ता भई सञ्चालनमा रहेका छन् ।






