आहा ! जुम्लाको गुठिचौर उपत्यका

‘तनाव’, ‘टेन्सन’ जस्ता शब्द धेरैको मुखबाट पटक–पटक सुनिन्छ ।
खोज्न थालियो भने तनाव छैन भन्ने मानिस भेटाउन मुस्किल पर्छ । सानोतिनो कामको चापदेखि ठुला–ठूला नोक्सानीले मान्छेलाई तनावग्रस्त बनाउँछ । दैनिक मानिसको जीवनमा हुने उतारचढावले पिरोलेको तनावले शरीरको हार्मोनमा पनि उथलपुथल गराइरहन्छ ।

दैनिक कामकाज, थकान र तनाव बिर्सिएर केही समयका लागि भएपनि एकान्तको खोजीमा हिँड्ने मानिसहरूका लागि उपयुक्त गन्तव्य हुनसक्छ जुम्लाको गुठिचौर उपत्यका ।
सुन्दर, शालीन, चारैतिरको हरियालीले यहाँ आउने जोकोहीको मन मस्तिष्कलाई शान्त तुल्याउँछ।त्यसमाथि प्रकृतिसँग लुकामारी गरी रमाउने धेरैको रोजाइको विषय हुन्छ। मानिस स्वभावैले प्रकृति प्रेमी छ ।
यस्ता मानिसहरूका लागि गुठीचौर गाउँपालिका– २ मा पर्ने गुठी चौर आकर्षक गन्तव्य हुन सक्छ। गुठिचौर उपत्यका भेडी पालन र सुन्दरताका कारण चर्चित छ। जुम्ला सदरमुकाम खलङ्गाबाट पूर्वी भेगमा पर्ने गुठिचौर उपत्यकाको फाँटिलो भू–भाग पुग्न जुम्लाको सदरमुकामबाट करिब ३-४ घण्टा पैदल हिँड्नु पर्छ ।
सदरमुकामबाट धिता, देपालगाउँ, गर्जायाङकोट हुँदै गुठिचौरको फाँट पुगिन्छ। गाडी वा मोटरसाइकलमा एक डेढ घण्टामा यहाँ पुग्न सकिन्छ। फराकिलो पाटनको पश्चिमपट्टी भेडा-बाख्रा अनुसन्धान केन्द्र छ ।

जहाँ सुनिने भेडाको भ्या–भ्या एउटा मधुर संगीतजस्तो लाग्छ। बर्खामा गाई गोरु राख्ने गुठी चौर पछिल्ला वर्षहरुमा धेरैले रुचाएको आकर्षक गन्तव्य बनिरहेको छ। स्कुल, कलेजका विद्यार्थीहरू प्रायः शुक्रबार हिँडेर गुठी चौर जाने, साँझ उतै बस्ने र शनिबार फर्किने गरिरहेका छन् ।
फराकिलो पाटन चिरेर बगेको खोला, चरिरहेका बस्तुभाउ हेरिरहूँ लाग्ने देखिन्छन् ।
पूर्व पट्टी गुठी चौर गाउँपालिका–२ को कोल्त्या गाउँ छ । जसले एक्लै आउने पर्यटकलाई समेत आतड भरोसा दिन्छ। उक्त गाउँमा १ सय ३० घरधुरी छन्। यी दुई संरचनाका बीचमा फराकिलो पाटन छ ।
पाटनलाई बिच–बिचमा चिरा पारेर खोलाहरु सदाबाहार बगिरहन्छन्। फराकिलो पाटनका बिच–बिचमा अस्थायी प्रकृतिका गोठहरु छन् । ती गोठमा गाई र भैँसीको दूध, दही पाइन्छ।जाजरकोट देखिका गोठालाहरु बर्खामा गुठी चौर आउने गरेको कोल्त्या गाउँका अगुवा मुनबहादुर बुढा बताउँछन्। गोठालासँग कुरा मिलायो भने थोरै पैसामा खिर खान पाइन्छ, भने गोठाले जीवनका अनुभूतिहरू पनि सुन्न पाइन्छ ।
हाल आएर विभिन्न खालका जडीबुटी मात्रै देख्न सकिने गुठीचौरमा कुनै समय जंगली जनावरहरू पनि पाइन्थे । नेपालकै चर्चित भेडा पालन हुने भेडी गोठ क्षेत्र गुठी चौरको सुन्दरताले कसको मन लोभिँदैन र ? गुठिचौरदेखि उत्तरतिरको लाक्ना डाँडा चढेपछि कान्जिरुवा हिमाल आँखै अगाडि देख्न सकिन्छ, भने जुम्लाकै पातारासी हिमशृङ्खला लमतन्न परेको देखिन्छ ।

यो डाँडामा पाँचौँले, भुत्ले, चटामरी लगायतका हिमाली जडीबुटी समेत पाइन्छ। यहाँको प्रसिद्ध गणेश स्थानको मन्दिरले रमणीय गुठी चौरको धार्मिक महत्त्वसमेत बोकेको छ । ओढारभित्र अवस्थित यो गणेश स्वरूपको ढुंगा कसैले कुँदेको नभई आफैँ उत्पत्ति भएको विश्वास गरिन्छ। बर्खामा गाई गोरु राख्ने गुठी चौर पछिल्ला वर्षहरुमा धेरैले रुचाएको आकर्षक गन्तव्य बनिरहेको छ ।







