तुलसीपुरमा कसौडीभित्र भेटिएका दुई सय वर्ष पुराना सिक्का पुरातत्व विभागले परीक्षण गर्ने

दाङ, ५ असार ।
दाङमा बाटो खन्ने क्रममा गाडेको अवस्थामा फेला परेको सिक्का परीक्षणका लागि पुरातत्व विभागका अधिकारी दाङ आउने भएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पुरातत्व विभागका मानिससँग कुरा भइरहेको हुँदा उनीहरू छिट्टै दाङ आउने र ती पुरातत्विक महत्वका सिक्काहरू परीक्षण हुने सेतोपाटीलाई बताए ।
‘ऐतिहासिक र पुरातात्विक महत्व बोकेका सिक्काहरू फेला परेको हुँदा त्यो राष्ट्रिय सम्पत्ति हो,’ एसपी काफ्लेले भने, ‘परीक्षणपछि हामी त्यो सबै सिक्का पुरातत्व विभागका मानिसहरूको जिम्मा लगाउने छौं । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सिक्का भेटिएको जानकारी विभागलाई आएको र एक–दुई दिनमै परीक्षणका लागि टोली जाने बताए ।

‘हामी साथीहरूलाई पठाउँदैछौं । उहाँहरूले हेरेर आएपछि कस्ता सिक्का हुन् कति पूराना हुन् भन्ने थाहा हुन्छ,’ उनले भने । गत बुधबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौरस्थित सिमराटोलको खेत हुँदै बाटोको नयाँ ट्रयाक खन्ने क्रममा कसौडीमा राखेर गाडेको अवस्थामा ऐतिहासिक चाँदीका सिक्का जेसिबी चालक सुवाशचन्द्र चौधरीले फेला पारेका थिए ।
त्यसपछि उनले ती सिक्का तुलसीपुर–१५ मलवारस्थित आफ्नो घरमा लगेर लुकाएर राखेको कुराका आधारमा प्रहरीले घरमै पुगेर शनिबार ती सिक्का फेला पारी ल्याएको थियो । कसौडीमा फेला पारेका पाँच सय ३७ थान चाँदीका प्राचीन सिक्कामध्ये ७६ वटा भारतीय सिक्का छन् । ती सिक्का ब्रिटिस सरकारको पालाका हुन् । त्यस्तै चार सय ६१ वटा सिक्कामा श्री ३ लेखिएको छ ।
जेसिबी चालकले गाडेको अवस्थामा सिक्का फेला पारेपछि निकाल्ने क्रममा श्री ३ लेखेको सात वटा सिक्का खसेपछि जेसिबीका सहचालकले ती सिक्का आफ्नो घरमा लगेर राखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।
सल्यान कपुरकोटका अर्का जेसिबी चालक राजन खड्कालाई सहमतिअनुसार चौधरीले भागबन्डा नगरेपछि उनै खड्काले जग्गा धनी शोभा भण्डारीलाई गाडेको धन फेला परेको कुरा खोलेका थिए । २५ वर्षीय जेसिबी चालक चौधरीलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । साथै प्रहरीले बाटो खनिरहेको ठाउँमा अरू त्यस्तै पुरातात्विक महत्वका वस्तु हुन सक्ने भन्दै बाटो खन्न रोक लगाइसकेको छ ।
त्यति महत्वका सिक्का फेला पारेपछि चालक चौधरीले प्रहरी वा स्थानीयलाई खबर नगरी सुटुक्क घर पु¥याएको हुँदा उनीमाथि आशंका पैदा भएको एसपी काफ्लेले बताए । त्यो कसौडीमा त्यत्ति सिक्का मात्रै थियो वा अरू केही गरगहना पनि थिए। त्यसको छानबिन र अनुसन्धान हुन आवश्यक परेको हुँदा चालक चौधरीलाई थुनामा राख्नु परेको हो,’ एसपी काफ्लेले भने, ‘चालक चौधरी र सहचालकसँग थप सोधपुछ तथा अनुसन्धान गरेपछि मात्रै थप तथ्य खुल्न सक्छ।’
स्थानीयले कसौडीमा गाडेको अवस्थामा फेला परेको सिक्का त्यत्ति पिँधसम्म मात्रै हुनै नसक्ने दाबी गरेका छन्। त्यस्तो आशंका गर्नेमध्ये एक जना जग्गा धनी शोभा भण्डारी पनि हुन। शनिबार इप्रका तुलसीपुरमै उनले पहिलेका मानिसहरूले पिँधमा मात्रै सिक्का राखेर नगाड्ने र गाडे पनि पुरै भरेर मात्रै गाड्ने चलन रहेको दाबी गरिन्। बाटो निर्माण समितिका अध्यक्ष नोखिराम वलीले गाडेको धनमा फेला पार्नेले घोटाला गरेको तथा सबै तथ्य नबोलेको आशंका व्यक्त गरे ।
स्थानीय तथा नेपाली कांग्रेस दाङका पूर्वसभापति कीर्तिबहादुर खड्काले पनि पुराना मानिसहरूले कहिले पनि भाँडोमा धन–पैसा राखेर गाड्दा भरी राखेर मात्रै गाड्ने प्रचलन थियो भन्ने कुरा सुन्दै आएको हुँदा जेसिबी चालक चौधरीसहितका मानिसले गडबडी गरेको हुन सक्ने बताए ।
स्रोत : सेतापाटी






