‘दरबन्दी अनुसार शिक्षक भए शिक्षामा सुधार आउँछ’

तिलकबहादुर खत्री प्रधानाध्यापक, शिव माध्यमिक विद्यालय, जाजरकोट

जाजरकोटको भेरी नगरपालिका–१ मा रहेको शिव माध्यमिक विद्यालय प्रधानाध्यापक हुन् तिलकबहादुर खत्री । २०७१ साल साउनमा विद्यालयमा हाँजिर भएका उनले नौ महिनाको अवधिमै विद्यार्थी र अभिभावकको मन जिते ।

सुरुवातदेखि नै विद्यालयको शैक्षिण गुणस्तर सुधार्ने प्रयास गरे । २०७२ बैशाखको अभिभावक भेलाले उनलाई विद्यालयको नेतृत्व सुम्पियो । नेतृत्व लिएपछि विद्यालयमा प्राविधिक धारको पढाइ सुरु गरे ।

छोटो समयमै विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने प्रयास थाले । प्रस्तुत छ, उनै खत्रीको जीवन भोगाइ र शिक्षणको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :

संघर्षपूर्ण बाल्यकाल
ग्रामीण क्षेत्रमा हुर्किएका तिलकबहादुर खत्रीको बाल्यकाल संघर्षपूर्ण छ । कमजोर आर्थिक अवस्थाका कारण बाल्यकालदेखि नै संघर्ष गर्नुप¥यो । पढ्नका लागि राम्रो वातारण भएन । सामग्रीको अभाव झेल्नुपरयो ।

उमेर सानो भए पनि घरमा जिम्मेवारी ठूलो सम्हालनु प¥योे । गाई गोठालो, मेलापात र घाँसदाउरा गर्नु दैनिकी थियो । ‘अंकल र हामीले सँगै गाई चराउँथ्यौं’ उनी भन्छन्, ‘आलोपालो गोठालो जानुपर्ने भएका कारण म एकदिन विद्यालय र एकदिन गोठालो जान्थेँ ।’

उनले कक्षा ६ सम्म अध्ययन गर्दा एकदिन गोठालो र अर्को दिन स्कूल गरे । विसं २०४४ साल चैत २२ गते आमा सीतली र बुवा बिर्खबहादुरको कोखबाट उनको जन्म भएको हो । छेडागाड नगरपालिका १२ सिरुगारमा स्थायी निवासी उनले संघर्षपूर्ण बाल्यकाल विताए ।

पढाइमा अब्बल
निम्न बर्गिय परिवारमा हुर्किएका तिलक पढाइमा भने अब्बल थिए । ८ बर्षको उमेरसम्म भाइको धरालो तथा गोठालो गरेका खत्रीलाई शिक्षक जगतराज रेग्मीले विद्यालय जाने अवसर जुराइदिए । त्यसपछि गाउँकै जनकल्याण माध्यमिक विद्यालयबाट कखरा सिके ।

जनकल्याणमा उनले कक्षा ६ सम्म अध्ययन गरे । कक्षा २ देखि ६ सम्म कक्षामा सधै प्रथम भए । कक्षा ७ देखि १० सम्मको पढाइ नारायण माध्यमिक विद्यालयबाट पुरा गरे । ७ देखि १० सम्म कहिले दोस्रो र कहिले तेस्रो भए । २०६१ सालमा एसएलसी पास भएपछि त्रिभूवन उच्च माध्यमिक विद्यालय खलंगाबाट प्सटु गरे ।

जाजरकोटकै भेरी ज्ञानोदय क्याम्पसबाट स्नातक गरेका उनले तत्कालीन सुर्खेत क्याम्पस शिक्षा (हालको सुर्खेत बहुमुखी क्याम्पस)बाट स्नातकोत्तर गरेका छन् । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट एलएलवी गरेका उनले खुल्ला विश्वविद्यालयबाट एमफील गरेका छन् । हाल सिक्किम प्रोफेशनल विश्वविद्यालयमा पीएचडी अध्ययनरत उनी पढाइमा कहिल्यै असफल भएनन् ।

विद्यालय उमेरदेखि उनी भलिवल, उद्घोषण, साहित्य र खेलनमा रुचि राख्छन् । विद्यालय तथा विश्वविद्यालय र विभिन्न सेवा आयोगका एकल तथा सहलेखनमा करिब एक दर्जन पुस्तक प्रकाशीत रहेका छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका जर्नलमा एक दर्जन बढी लेखहरू प्रकाशित रहेका छन् ।

कमाउँदै र पढ्दै
तिलकले उच्च शिक्षा अध्ययनका लागि पनि निकै संघर्ष गर्नुप¥र्यो । प्लसटु सकेपछि आफै कमाउँदै पढ्दै गर्न थाले । प्लसटु सक्नेवित्तिकै शिक्षण पेशामा जोडिए । २०६४ सालदेखि आफैले कखरा सिकेको जनकल्याण विद्यालयमा शिक्षण गरे । निजी स्रोत भएका कारण थोरै सेवा सुविधामा काम गरे । करिव तीन बर्षपछि त्यहाँ छोडेर लङ्गरिभर इङ्लिस मिडियम बोडिङ स्कूलमा शिक्षण गरे ।

त्यहाँ पनि ६ महिना मात्रै पढाए । त्यसपछि चन्द्रज्योति निम्न माध्यमिक विद्यालयमा छेडागाड १२ मा अध्यापन गर्न पुगे । चन्द्रज्योतिमा करिव एकबर्ष मात्रै शिक्षण गरे । पुनः डेढ बर्षपछि जनकल्याण माध्यमिक तहको गणित शिक्षकको रूपमा फर्किए । यो संघर्ष उनले उच्च शिक्षा अध्ययनका लागि गरेका थिए । स्नातकदेखि कमाउँदै पढ्दै गरे । २०७१ सालमा स्थायी शिक्षकका लागि प्रतिस्पर्धा गरे ।

सौभाग्य, पहिलो प्रयासमै प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको लिखित परीक्षामा उत्तीर्ण भए । माध्यमिक तहको गणित विषयमा स्थायी नियुक्ती लिएर शिव माध्यमिक विद्यालयलाई कर्मथलोका रुपमा रोजे । सुरुवादेखि नै विद्यालयलाई अब्बल विद्यालय बनाउने प्रयास गरे । शैक्षिक सुधारका लागि सक्दो पहल गरे । उनको मेहनतबाट विद्यार्थी र अभिभावक प्रभावित भए ।

करिव नौ महिनामै विद्यालयले प्रधानाध्यापकको नेतृत्व सुम्पियो । २०७२ बैशाखमा भएको अभिभावक भेलाले प्रधानाध्यापकको जिम्मेवारी दियो । उत्पादनमूखि जनशक्ति तयार गर्ने उद्देश्यले कृषि र पशु विज्ञान विषयको पठनपाठन सुरु गराएका छन् ।

प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीहरु लोकसेवा आयोगमा स्थायी हुँदा खुशी हुन्छन् । ‘प्राविधिक विषय पढेका विद्यार्थीमध्ये हरेक बर्ष कोही न कोही सरकारी जागिरमा जोडिएका हुन्छन्’ उनी भन्छन्, ‘विद्यार्थीहरुले स्थायी भएको देख्दा असाध्यै खुशी लाग्छ ।’

विद्यार्थीको अनुपातमा शिक्षक हुनुपर्छ
नयाँ शिक्षा प्रणाली लागू भएपछि विद्यालय स्तरबृद्धि भएका छन् । पहिले कक्षा ५ सम्म पढाइ हुने विद्यालयले अहिले कक्षा ८ सम्म पढाइ हुन्छ । कक्षा ८ सम्म पढाउने विद्यालयले एसएलसी वा प्लसटु सम्मको पढाइ सुरु गरेका छन् ।

तर स्तरबृद्धि भएका अधिकांश विद्यालयमा दरबन्दी अनुसारका शिक्षक छैनन् । यसै पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अपेक्षाकृत छैन । दरबन्दी अनुसारका शिक्षक नभएका विद्यालयमा शैक्षिक गुणस्तर राम्रो हुने सम्भावना नै भएन । यद्यपि शैक्षिक गुणस्तर सुधार्न अभिभावक, सरकार र शिक्षक नै जिम्मेवार हुनुपर्ने उनको बुझाइ छ ।

‘गुणस्तर सुधार्न सरकारले दरबन्दी अनुसारका शिक्षक र भौतिक पूर्वाधार बनाइ दिनुपर्छ’ उनी भन्छन्, ‘अभिभावक र शिक्षक पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ ।’ सचेत अभिभावक र जिम्मेवार शिक्षक भए मात्रै शैक्षिक गुणस्तर सुधार्न सकिने उनको बुझाइ छ । उनले नेतृत्व गर्दै आएका विद्यालयमा माध्यमिक तहमा उनीबाहेक दरबन्दीका अन्य शिक्षक छैनन् ।

दरबन्दी अनुसारका शिक्षक नहुँदा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर विद्यालय सञ्चालन गर्नु परेको छ । समय सुहाउँदो शैक्षिक सामग्री, विद्यार्थीको अनुपातमा शिक्षक र पर्याप्त भौतिक संरचना भएमात्रै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुध्रिने उनको भनाइ छ ।

‘दरबन्दी अनुसार शिक्षक भए शिक्षामा सुधार आउँछ’

जनआन्दोलन दिवस तथा ११ औं साहित्य यात्रा

‘दरबन्दी अनुसार शिक्षक भए शिक्षामा सुधार आउँछ’

रेडियो नेपालको ७२ औं वार्षिकोत्सव

Leave a comment

Your email address will not be published. Required fields are marked *