राष्ट्र उत्थान उद्युवित्तको फागुन ४ देखि आईपीओ, लगत्तै नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदै

काठमाडौं, २९ माघ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यमा आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता आईपीओको बिक्री खुला गर्ने लागेको हो ।
कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र जारी पुँजी (२६ करोड) को ०.५ प्रतिशत अर्थात् १३ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९५ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आईपीओ खरिदका लागि आगामी ४ फागुनदेखि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए आगामी फागुन १८ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
कम्पनीको पुँजीको संरचनामा अधिकृत पुँजी ५० करोड र हालको जारी पुँजी २६ करोड तथा चुक्तापुँजी १७ करोड ५० लाख छ । विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण सेयरको बाँडफाँट पश्चात कम्पनीको चुक्ता पुँजी २६ करोड पुग्ने कम्पनीले जनाएको छ ।
नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदै
नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता अर्थात ८ करोड २८ लाख ७५ हजार रुपैयाँको आईपीओ जारी गर्न लागेको हो ।
आईपीओ निष्काशनका लागि संस्थाले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । संस्थाका कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाईं ठकुरीका अनुसार आईपीओ निष्काशनका लागि गते ६ गते नै बोर्डमा निवेदन दिएको थियो । अब बोर्डले अनुमति दिएपछि संस्थाले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।






