कांग्रेस रुकुम पूर्वको सभापतिमा केशरमान सर्वसम्मत

रुकुम (पूर्व): नेपाली कांग्रेस रुकुमपूर्वको सभापतिमा केशरमान रोका मगर सर्वसम्मत निर्वाचित भएका छन् । सिस्ने गाउँपालिका रुकुमकोटमा भएको जिल्ला अधिवेशनमा शनिबार सर्वसम्मत रूपमा रोका मगर सभापतिमा निर्वाचित भएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका रोका मगर यस अघिका पनि जिल्ला सभापति हुन् ।

जिल्ला अधिवेशनले रोका मगरको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । जसको उप–सभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम मगर, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी चयन भएका छन् । यस्तै धनप्रताप बुढा मगर र खडगबहादुर घर्ती सह–सचिवमा चयन भएका छन् ।
कार्यसमिति सदस्यहरूमा संगिता बुढा मगर, बालकुमारी खड्का घर्ती, रमुना विक, भरत घर्ती मगर, दलु बुढा, हुमलाल जैसी, बाबुराम कँुवर, मेखलाल बुढा, बसन्तकुमार बुढा र रामबहादुर नेपाली चयन भएका छन् ।
दुई दिनसम्म चलेको अधिवेशनले सर्वसम्मत जिल्ला कार्यसमिति चयन गरेको छ । सुरुमा भने सभापति रोकासहित, भीमबहादुर खड्का, तेजेन्द्र खाम मगरलगायत ६ जनाले जिल्ला सभापतिमा दाबी गरेका थिए ।
अन्तिममा पार्टीका सम्पूर्ण कार्यकर्ताको भावनाअनुसार निर्वाचन नगरी सहमतिमा रोका मगरलाई पुनः सभापतिमा चयन गरिएको नेपाली कांग्रेस रुकुमपूर्वले जनाएको छ ।
पूर्व सहायक मन्त्रीसमेत रहेका रोका मगर पुथाउत्तरगंगा गाउँपालिकाका स्थायी बासिन्दा हुन् । छुट्टै जिल्ला बनेपछि कांग्रेसको यो पहिलो जिल्ला अधिवेशन हो ।






