जब उनले जागिरको मोह त्यागिन्…

बाल्यकालमा हुर्कदै गर्दा कलिलो मस्तिष्कले धेरै सपना देख्छ । कतिपय देखेर र कतिपय सुनेर सपनाहरु पनि बुनिन्छन् । यही क्रममा गन्तव्य पहिल्याउन अन्यौंलता उत्पन्न हुन्छ । वीरेन्द्रनगर–६ मा जन्मिएकी प्रज्ञा चलाउने श्रेष्ठको पनि बाल्यकालमा वकिल बन्ने सपना थियो । माध्यमिक तहसम्मको पढाइ पूरा गर्दासम्म पनि वकिल नै पढ्ने चाहना थियो उनको । तर सरल स्वभावकी प्रज्ञाको वकिल बन्ने चाहनामा त ब्रेक लाग्यो । त्यसपछि उनले बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्ने सपना बुनिन् । यो यात्रामा पनि पूर्णविराम लाग्यो । त्यसपछि उनले जागिरको मोह त्यागेर हाल वीरेन्द्रचोकमा फरक प्रकृतिको व्यवसाय वेवी सप आरम्भ गरेकी छन् । आजको जम्काभेटमा उनीसँग गरिएको कुराकानीका सम्पादित अंशः
(प्रज्ञा चलाउने श्रेष्ठ )सञ्चालक, प्राञ्जल वेवी सपिङ सेन्टर, सुर्खेत

बाल्यकालका अधुरा सपना

वीरेन्द्रनगरमा जन्मिएकी प्रज्ञा चलाउने श्रेष्ठले इगरव्रिज बोर्डिङ स्कुलबाट पढाइ आरम्भ गरिन् । पाँच कक्षासम्म त्यही स्कुलमा पढेकी प्रज्ञाले जन माध्यमिक विद्यालयमा ६ कक्षामा भर्ना भइन् ।

एकवर्ष त्यही स्कुलमा पढे पनि बाँकी पढाइ पूरा गर्न उनी काठमाडौं गइन् । काठमाडौंको सत्यसाई स्कुल नक्सालमा ९ कक्षासम्म पढिन् । एसएलसी भने डिल्लीबजार कन्या स्कुलबाट दिएको प्रज्ञाको भनाइ छ ।

एसएलसी दिँदासम्म वकिल नै बन्न पढ्ने चाहना थियो । तर उनली एसएलसी पछि डिल्लीबजार कन्या स्कुलमा बैंकिङ क्षेत्रमा प्रवेश गर्ने लक्ष्यसहित व्यवस्थापन संकायमा प्लस टूसम्मको पढाइ पूरा गरिन् ।

‘बाल्यकालका कयौं सपना बढ्दै, हुर्कदै र बुझ्दै जाँदा ब्रेक लगाउनुपर्ने रहेछ’ प्रज्ञाले भनिन्, ‘सोचेका हरेक चाहना पूरा हुने भए सबै मान्छे कहाँबाट कहाँ पुग्थे होला । तर बाटो मोडिए पनि गन्तव्यलाई सही मार्गमा लैजान आफू विचलित हुनु हुँदैन ।’

‘बैंकमा जागिर नपाएपछि व्यवसाय रोजेँ’

व्यवस्थापन संकायबाट प्लसटू पास गरेपछि बैंक अफ काठमाडौंको सुर्खेत शाखामा इन्टनसीपका लागि काम गर्न थालिन् । वकिल बन्ने सपनामा पूर्ण ब्रेक लागेपछि बैंकिङ क्षेत्रमै भविष्य बनाउने गरी लागेको प्रज्ञा बताउँछिन् ।

झण्डै नौ महिनासम्म उनले बैंक अफ काठमाडौंमा इन्टनसीप गरिन् । व्यवस्थापन संकायमै स्नातकसम्मको पढाइ पूरा गर्ने र बैंकमा काम गर्ने उदेश्यसहित वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा भर्ना भएकी थिइन् ।

बैंकमै काम सिकेकालाई नभइ अन्य नयाँ–नयाँ व्यक्तिलाई स्थायीत्व गर्न थालेपछि प्रज्ञाको मन खिन्न भयो । बैंकको काम छाडेपछि प्रज्ञाको पढाइ रोकियो ।
‘विना तलब लामो समयसम्म काम गरेँ, तर राम्रालाई नभई आफ्नालाई मात्र बैंकले कर्मचारी नियुक्त गर्ने रहेछन् । यो बुझेपछि काम गर्न छोडें’ प्रज्ञा भन्छिन्, ‘बैकिङ क्षेत्रमा कहिल्यै नलाग्ने प्रणसहित व्यवसायमा होमिने योजना बनाएँ ।’

फरक व्यवसाय, परिवारको साथ

बैंकिङ क्षेत्रमै भविष्य उज्वल बनाउने सपनामा ब्रेक लागेपछि व्यवसाय नै सञ्चालन गर्ने योजना उनले तय गरिन् । किनकी उनी सानै हुँदा उनका बुवा (हरिचन्द्र चलाउने) र आमा (बालकुमारी चलाउने) वीरेन्द्रचोकमा व्यवसाय गर्थे ।

स्कुल पढ्दा केहिलेकाँही बुवाआमालाई सघाउन काम पनि प्रज्ञाले गर्थिन् । परिवारका सदस्यहरुले पनि आफ्नै खुट्टामा उभिन सिक्नुपर्छ भनेर हौसला दिएकै कारण व्यवसायमा लाग्न प्रज्ञालाई सहज भयो । व्यापार सम्बन्धी सामान्य जानकारी बुझेकी उनले फरक खालको व्यवसाय आरम्भ गर्ने सोच बनाइन् ।

प्रज्ञाले २०६५ सालमा वीरेन्द्रचोकमा वेवी सप (वच्चाहरुका सामग्रीहरु भएको पसल) शुरु गरिन् । व्यवसाय सञ्चालन गर्दा ग्राहकहरुलाई भड्काउनेदेखि नक्कली सामान विक्री गर्न थालि भन्ने बचन सुन्नु प¥यो’ प्रज्ञाले भनिन्, ‘म विचलित भइँन, एकदिन अवश्य ग्राहकको मन जित्छु भनेर आफ्नो कर्मप्रति पूर्णवफदार भएर ग्राहकहरुको मनजित्ने गरेर व्यवसाय अघि बढाएँ ।’

व्यवसाय आरम्भ गरेको ११ वर्ष पुगेको छ । यो विचमा व्यवसायलाई दिगो बनाउने कयौं संघर्ष गरेकी प्रज्ञाले ग्राहकहरुको चाहना अनुसार बच्चाहरुका सामग्री एकै ठाउँमा किन्ने बानी पारेकी छन् । वेवि सप ब्राण्ड नै स्थापित गरेकी प्रज्ञाले बढ्दो शहरी करणसँगै अबको योजनामा शाखा विस्तार गर्ने सोचमा छिन् । उनको व्यवसायलाई अझै सफल बनाउन घर परिवारको पूर्ण साथ र समर्थन छ । श्रीमान्को योगदानका कारण उनलाई पूर्णकालिन व्यवसाय सञ्चालनमा थप हौसला मिलेको छ ।

ग्राहकप्रति उत्तरदायी बन्नुपर्छ

लगनशील र इमान्दारिता नै जिन्दगी हो । संघर्षविना जिन्दगीले गन्तव्य तय गर्न सक्दैन । हरेक विचलनहरुलाई सफलतामा रुपान्तरण गरेर अघि बढे फल अवश्य पाइन्छ । आफूले गरिरहेको कामबाट सन्तुष्ट हुन सिके जिन्दगीलाई थप ऊर्जाशिल बनाउन सकिन्छ । व्यवसायमा लागेको जोकोही पनि ग्राहकप्रति उत्तरदायी बन्नुपर्छ ।

ग्राहकहरु के चाहन्छन्, सामान खरिद गर्न आएमा कसरी समान किन्न प्रेरित गराउने भन्ने कला पनि आफूमा हुनुपपर्छ । ग्राहकहरुबाट पैसा कमाउनकै लागि गुणस्तरहीन सामग्री विक्री गर्ने योजना कहिल्यै बनाइँन । ग्राहकहरुलाई अझै गुणस्तरिय सामग्री विक्री गर्ने र समायानुकल रुपान्तरण गर्दै व्यवसायलाई दिगो बनाउने योजना छ ।

तपाईको प्रतिक्रिया