ग्याँसको कालोबजारी गरे कारवाही गर्ने प्रशासनको चेतावनी

सुर्खेत, ३० फागुन ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्याँस तथा इन्धनको कृतिम अभाव सिर्जना गरे कारवाही गर्ने चेतावनी दिएको छ । मध्यपूर्वी देश इरान र इजराय युद्धमा धकेलिएपछि इन्धनको अभाव हुनसक्ने भन्दै सरकारले आपूर्तिलाई सहज बनाउन आधा भरिएको सिलिण्डर विक्रि गर्न सुरु गरेको थियो । ब्यापारीहरुले यही मौकाको फाइदा उठाउँदै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ग्याँसको कालोबजारी गर्न खोजेपछि प्रशासनले यस्तो चेतावनी दिएको हो ।
‘यस जिल्लाका विभिन्न उपभोक्ताहरुद्वारा बजारमा खाना पकाउने ग्याँस (एल.पि. ग्यास) तथा इन्धनको सहज प्राप्तिमा कठिनाई भएको भन्ने गुनासो आएकोले कोही कसैले पनि अनावश्यक रुपमा इन्धन तथा ग्याँस सिलिन्डर होल्डिङ्ग नगरी ग्याँस तथा इन्धन आपूर्तिलाई सहज तुल्याउन हुन अनुरोध छ,’ शुक्रबार सूचना जारी गर्दै प्रशासनले भनेको छ । साथै, अनावश्यक रुपमा ग्याँस सिलिन्डर होल्डिङ्ग गरेको पाइएमा, बढि मूल्य लिई ग्याँस तथा पेट्रोलियम पदार्थ विक्रि गरेमा र नयाँ सिलिन्डरको बजारीकरण गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।






