कर्णालीमा कार्यकर्ता तान्ने र जोगाउने दौडमा नेताहरु

सुर्खेत । साउन अघिसम्म नेकपा एमालेमा पार्टीका आन्तरिक गतिविधिहरु शुन्य थिए । आन्तरिक विवाद्का कारण वडादेखि प्रश तहका गतिविधिहरु भएका थिएनन् । भ्रातृ संस्थाहरुको गतिविधि पनि चलाएमान हुन सकेका थिएनन् ।
कहिलेकाँही हुने पार्टीका गतिविधि पनि गुट केन्द्रित हुन्थे । तर भदौं २ गतेपछि भने एमालेको राजनीति तातिएको छ । एमालेका तत्कालिन बरिष्ठ नेता माधवकुमार नेपालले छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेपछि वडादेखि प्रदेश सम्मको राजनीतिक गतिविधि तातिएको छ ।
यतिबेला एमाले र नेकपा एकीकृत सामाजवादीका नेताहरु कार्यकर्ता जोगाउन गाउँ दौडाहमा लागेका छन् । एमालेका नेताहरुले कार्यकर्तालाई नयाँ पार्टीमा जान नदिन गाउँ, वडा र जिल्लास्तरका गतिविधिहरु तीव्र पारेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु भने आफ्ना गुटका नेताहरुलाई नयाँ पार्टीमा तान्न गाउँ पसेका छन् । कार्यकर्तालाई नयाँ पार्टीमा तान्न एकीकृत समाजवादीले कालीकोटमा अगुवा कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
अब सबै जिल्लादेखि वडातहसम्म कार्यकर्ता भेला गर्ने एकीकृत समाजवादी केन्द्रीय सदस्य एवम् प्रदेश सांसद देवी ओलीले बताइन् । भदौं २२ गतेसम्म कर्णालीमा नयाँ पार्टीमा अधिकांश नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीमा आउने उनको दाबी छ । निर्वाचन आयोगले दल त्याग गर्न २२ भदौ सम्मको समय दिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) मा नयाँ दलमा जाने जनप्रतिनिधिलाई २१ दिनको समय दिने व्यवस्था गरिएको हो । सोही अनुसार कर्णालीका अधिकांश स्थानीय तहका जनप्रतिनिधि पनि नयाँ पार्टीमा आउने वलीले बताईन् ।
यस्तै एकीकृत समाजवादीका नेता एवं कर्णालीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा प्रदेशमा अहले पनि आफूहरु बहुमतमा रहेको दाबी गरेका छन् । उनले ६० प्रतिशतभन्दा बढी नेताहरु आफ्नो पार्टीमा आउने बताए । कालिकोट, डोल्पा, जुम्ला, रुकुमपश्चिम र मुगुमा एकीकृत समाजवादीको पकड हुने उनको दाबी छ ।
तर एमालेले नयाँ पार्टीमा नेता तथा कार्यकर्ताहरु नजाने बताएको छ । केही व्यक्तिहरुले पार्टी छोड्दैमा एमालेलाई असर नपर्ने एमाले प्रदेश कमिटीका अध्यक्ष गोरख बोगटीले बताए ।‘
केही व्यक्तिहरु नयाँ पार्टीमा जालान्, तर दुईचार जनाले पार्टी छोड्दैमा एमालेलाई असर पर्दैन’ उनले भने, ‘एमालेका कार्यकर्ताहरु एमालेमै छन्, जोगाउनुपर्ने अवस्था छैन ।’ उनले प्रदेशदेखि वडातहमा कार्यकर्ता भेला, प्रशिक्षण र जिम्मेवारी फाँडफाँड गरिरहेको भन्दै यसलाई कार्यकर्ता जोगाउने अभियानका रुपमा नबुझ्न आग्रह गरे ।
जिल्ला भेला गर्दै एमाले
नेकपा एमालेले कर्णाली प्रदेशका सबै जिल्लामा जिल्ला भेला गर्ने तयारी गरेको छ । एमालेले १६ गते दैलेख, १७ गते हुम्ला र १८ गते कालीकोटमा जिल्ला भेला गर्न तयारी गरेको हो । अन्य जिल्लामा पनि भेलाहरु गर्ने एमालेले जनाएको छ ।
तर अन्य जिल्लाको भेलाको मिति भने तोकिएको छैन । जिल्ला भेलालाई प्रदेश संयोजक एवम् एमाले उपाध्यक्ष युवराज ज्ञवाली लगायतको टोलीले सम्बोधन गर्नेछ । जिल्ला भेला तथा प्रदेश कमिटीका गतिविधिहरुलाई निरन्तरता दिन एमाले नेता ज्ञवाली कर्णाली प्रदेशमा आएका छन् ।
पार्टीका २०७५ जेठ दुई गतेका संरचना ब्यँुतिएपछि ज्ञवाली पहिलो पटक कर्णाली आएका हुन् । ज्ञवालीले आज (सोमबार) हुने केन्द्रिय सदस्यहरुसँग छलफल तथा भेलालाई सम्बोधन गर्नेछन् ।






