कर्णालीमा लगानी सम्मेलन आयोजना गरिने

सुर्खेत २५ पौष ।
कर्णाली प्रदेशमा प्रदेश स्तरीय लगानी सम्मेलन गर्न कर्णालीप्रदेश योजना आयोगले तयारी थालेको छ । विहीवार वीरेन्द्रनगरमा वसेको प्रदेश योजना आयोगको ७८ औं बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजनागर्ने निर्णय गरेको हो । वि.स.२०७८ सालको बैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्वराज खड्काले जानकारी दिनुभयो ।
कर्णालीमा लगानी मैत्री वातावरण सृजना गर्न र विकास साझेदार संस्था आकर्षण बढाउन प्रदेश स्तरिय लगानी सम्मेलन आयोजना गरिने उपाध्यक्ष खड्काले बताउनुभयो । परियोजना बैंकको काम सकिएपछि लगानी सम्मेलन आयोजना हुने भएकाले कर्णालीमा सम्मेलन आयोजना गर्न योजना आयोगले तयारी शुरु गरेको खड्काले बताउनुभयो ।
उहाँका अनुसार यस अगाडी नेपाल सरकारले वि.स.२०७६ मा आयोजना गरेको नेपाल पुर्वाधार सम्मेलनमा कर्णालीबाट ६७ वटालाई आयोजना समावेश गरिएको थियो । बैठकले कर्णाली प्रदेश विकास परिषद्को बैठक आयोजना गर्नका लागी संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र रोकाया तथा कर्णाली प्रदेश स्तरिय लगानी सम्मेलनका लागी संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य योगेन्द्रवहादुर शाहीलाई जिम्मेवारी दिइएको उपाध्यक्ष खड्काले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय आयोजना (आ.व. २०७६/७७–२०८०/८१ ) को विस्तृतिकरणको संलग्न दस्तावेज आयोगबाट कर्णाली प्रदेश सरकार मन्त्रि परिषद्मा स्वीकृतिका लागि सिफारिस गर्ने, आयोगको कार्य सम्पादनलाई थप प्रभावकारी एवम नतिजामुखी बनाउन तर्जुमा भएको बार्षिक कार्ययोजना स्वीकृत गरि कार्यान्वयनमा लिने निर्णय गरेको खड्काले जानकारी दिनुभयो । सबैभन्दा बढी कर्णालीमा विकास साझेदारहरुलाई आर्कषण गराउन तथा कर्णालीलाई समृद्ध बनाउन लगानीकर्तालाई आकर्षित गर्ने र त्यसका लागि लगानी सम्मेलन आयोजना गरिने उहाँको भनाइ छ ।
प्रदेश विकास परिषद्को बैठक आगामी चैत्रमा
कर्णाली प्रदेश विकास परिषद्को बैठक आगामी चैत्रमा आयोजना गरिने भएको छ । वि.स. २०७७ साल चैत्रमा आयोजना गरिने कर्णाली प्रदेश विकास परिषद् बैठकमा एकरुपतामा लिनका लागी पञ्चवर्षिय योजनाको जानकारी गराइने प्रदेश योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र रोकायाले जानकारी दिनुभयो ।
रोकायाका अनुसार विकास परिषद् बैठकमा स्थानीय तहको आवाधिक योजना निमार्णको लागी सहजीकरण, प्रदेश महत्वको आयोजनाहरुको अध्यावधिक गर्न छलफल गरिने छ । त्यस्तै बैठकमा प्रदेश समसामयिक विकास सम्बन्धी समस्याको समधानका लागी छलफल गर्ने, प्रदेश र स्थानीय तह विच साझेदारी गर्ने विषय लगायतका विषयमा छलफल हुने डाक्टर रोकायाले जानकारी दिनुभयो ।






