कोहलपुरमा ट्याक्टरको ठक्करबाट अटोमा सवार एक जनाको मृत्यु, चालक पक्राउ
बाँके ,४ मंसिर ।
बाँकेको कोहलपुरमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटोमा सवार एक जनाको मृत्यु भएको छ। दुर्घटनामा बैजनाथ गाउँपालिका–२ पितमारीका ४५ वर्षीय भिमबहादुर कामीको मृत्यु भएको हो।
बिहीबार साँझ करिब ७ बजे कोहलपुर नगरपालिका–१ कौशिलानगरमा कोहलपुरबाट चिसापानीतर्फ जाँदै गरेको भे १ ह ४०८० नम्बरको अटोलाई भे १ त ८७९४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका कामीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पुर्याइएको थियो। उपचारकै क्रममा उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डम्बरपालले जानकारी दिनुभयो।
दुर्घटनालगत्तै ट्याक्टर र चालक घटनास्थलबाट फरार भएका थिए। दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै स्थानीयवासी तथा मृतकका आफन्तले इलाका प्रहरी कार्यालय कोहलपुरअगाडि प्रदर्शन गरेका थिए। उनीहरूले दोषीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही गर्न माग गर्दै राति करिब १० बजेसम्म प्रहरीलाई दबाब दिएका थिए।
प्रदर्शनपछि प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र चालकको खोजी तीव्र बनाएको थियो। सोही क्रममा रातभरको खोजीपछि नेपालगञ्ज उपमहानगरपालिका–२० बाट भे १ त ८७९४ नम्बरको ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको डीएसपी डम्बरपालले बताउनुभयो।
दुर्घटनापछि फरार भएका चालक पक्राउ परेसँगै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। दुर्घटनाको कारण र अन्य विवरणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।





