सम्पादकीय :भवन बनेर मात्र अस्पताल चल्दैन

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–६ रिउस बगरमा १० करोड रुपैयाँभन्दा बढी लगानी गरेर दश शय्याको आधारभूत अस्पताल निर्माण हुनु आफैँमा सकारात्मक उपलब्धि हो । सडक सञ्जालले नछोएको कर्णालीको विकट बस्तीमा स्वास्थ्य सेवाको पूर्वाधार तयार हुनु राज्यको उपस्थितिको एउटा संकेत पनि हो । तर, अस्पतालको भवन उद्घाटन हुँदैमा नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चित हुँदैन । अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण, विद्युत् र पहुँच मार्गको व्यवस्था नहुने हो भने करोडौँको लगानीबाट बनेको संरचना पनि उपयोगविहीन हुने जोखिम रहन्छ ।

मुगुम कार्मारोङको अस्पतालले अहिले यही चुनौती सामना गरिरहेको छ । भवन निर्माण सम्पन्न भएर उद्घाटन भइसके पनि आवश्यक उपकरण जडान भएका छैनन् । अस्पतालमा एक चिकित्सकसहित आठ जना कर्मचारी छन्, तर स्थायी दरबन्दी स्वीकृत भएको छैन । पालिकाको बजेट र प्रदेश सरकारको सहयोगमा सीमित जनशक्तिबाट सेवा सञ्चालन भइरहेको छ । समग्र पालिकाका स्वास्थ्य संस्थामा २७ जनाको दरबन्दी रहेकामा १३ जनाको मात्र पदपूर्ति हुनु स्वास्थ्य क्षेत्रप्रति राज्यको प्राथमिकता कमजोर देखिएको एक उदाहरण हो ।

अस्पतालको प्रभावकारी सञ्चालनका लागि सबैभन्दा पहिले दक्ष र पर्याप्त जनशक्तिको सुनिश्चितता हुनुपर्छ । चिकित्सक, नर्स, प्रयोगशालाकर्मी, फार्मेसी तथा अन्य आवश्यक प्राविधिक कर्मचारीको दरबन्दी स्वीकृत गरी नियमित पदपूर्ति गर्नुपर्छ । दुर्गम क्षेत्रमा कर्मचारी टिकाइराख्न अतिरिक्त सुविधा, प्रोत्साहन र सुरक्षित कार्य वातावरणको व्यवस्था पनि उत्तिकै आवश्यक छ । उपकरण खरिद गरेर मात्र पुग्दैन, तिनको सञ्चालन र मर्मतसम्भार गर्न सक्ने जनशक्ति पनि आवश्यक पर्छ ।

सडक र विद्युत् अर्को महत्वपूर्ण पक्ष हो । अस्पतालसम्म पुग्ने व्यवस्थित सडक नहुँदा बिरामीले घण्टौँ र केही दिनसम्म पैदल यात्रा गर्नुपर्ने अवस्था छ । कतिपय बिरामीले अझै डोकोमा चढेर आफन्तको पिठ्युँमा बोकिएर उपचारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता भोगिरहेका छन् । अस्पताल निर्माणको उद्देश्य नै नागरिकलाई घरनजिकै स्वास्थ्य सेवा उपलब्ध गराउनु हो भने अस्पतालसम्मको पहुँच सुनिश्चित गर्नु पनिराज्यको पहिलो प्राथमिकता हुनुपर्छ । गमगढी–नाक्चेनाग्ला सडकलाई नारामा मात्र सीमित नराखी पर्याप्त बजेट र समयबद्ध कार्ययोजनासहित अघि बढाउनुपर्छ । अस्पतालसम्म पुग्ने सडकलाई तत्काल प्राथमिकतामा राखिनुपर्छ ।

त्यस्तै, अस्पतालको नियमित सञ्चालन, प्रयोगशाला, औषधि भण्डारण र स्वास्थ्य उपकरण सञ्चालनका लागि भरपर्दो विद्युत् अनिवार्य छ । राष्ट्रिय प्रसारण लाइन विस्तार सम्भव नभएसम्म वैकल्पिक ऊर्जाको दिगो व्यवस्था गर्नुपर्छ । सडक र विद्युत् पूर्वाधारबिना अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने कल्पना अधुरो हुन्छ । संघ, प्रदेश र स्थानीय सरकारले स्पष्ट जिम्मेवारी बाँडफाँट गरी जनशक्ति, उपकरण, सडक र विद्युतको सुनिश्चितताका लागि संयुक्त कार्ययोजना बनाउनुपर्छ । उद्घाटनका बेला गरिएका प्रतिबद्धता व्यवहारमा उतार्न पनि अब ढिलाइ गर्नु हुँदैन ।

राज्यको सफलता कति करोडको भवन बन्यो भन्नेमा होइन, त्यसबाट कति नागरिकले सहज रुपमा उपचार पाए भन्नेमा मापन हुनुपर्छ । मुगुम कार्मारोङको अस्पताललाई उद्घाटनको उपलब्धिमा सीमित नराखी साँच्चिकै सेवामुखी स्वास्थ्य संस्थाका रुपमा विकास गर्नु तीनै तहका सरकारको साझा जिम्मेवारी हो । अस्पतालको भवन ठडिनु सुरुवात हो, नागरिकले उपचार पाउनु मात्र यसको वास्तविक सफलता हुनेछ ।

सम्पादकीय :भवन बनेर मात्र अस्पताल चल्दैन

अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!