सिंजा युवा एकता भलिबल कपको उपाधि नराकोटलाई
गाेल्डेन बुढा
जुम्ला ,१७ कार्तिक ।
दुर्गम बस्ती जोडुलाई खेलकुदको माध्यमबाट राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आयोजित पहिलो सिंजा युवा एकता भलिबल कपको उपाधि सिंजा गाउँपालिका–३ नराकोटस्थित मिट पोइन्ट युवा क्लबले जितेको छ। मंगलबार सम्पन्न प्रतियोगिताको फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै मिट पोइन्टले उपाधि आफ्नो पोल्टामा पारेको हो।गत शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १६ टिम सहभागी थिए। प्रतिस्पर्धात्मक खेलमा सिंजा गाउँपालिका–५ गोरास्थित श्री सुर स्मृति युवा क्लब उपविजेता बनेको छ। विजेता मिट पोइन्टले नगद ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता श्री सुर स्मृति युवा क्लबले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।विजेता टिमलाई सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले पुरस्कार प्रदान गरेका थिए भने उपविजेता टिमलाई गाउँपालिका उपाध्यक्ष शीतली रोकायले पुरस्कार प्रदान गरिन्।रेभोलुसन युथ क्लबको आयोजनामा सिंजा गाउँपालिका–६ स्थित माध्यमिक विद्यालय जोडुको खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियो।
भौगोलिक विकटताका कारण ओझेलमा परेको जोडु बस्तीको पहिचान स्थापित गर्ने र स्थानीय युवामा रहेको खेल प्रतिभालाई प्रतिस्पर्धामार्फत बाहिर ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।क्लबका अध्यक्ष किशोर बुढाका अनुसार प्रतियोगिता केवल भलिबल खेलमा सीमित नभई दुर्गम क्षेत्रका युवालाई एकताबद्ध गर्ने, उनीहरूको क्षमता र प्रतिभा उजागर गर्ने तथा सामाजिक सद्भाव बढाउने अभियान पनि हो। खेलकुद प्रवर्द्धनसँगै स्थानीय संस्कृति र वातावरण संरक्षण तथा सामाजिक सेवाका गतिविधिलाई समेत अघि बढाउने क्लबको लक्ष्य रहेको उनले बताए।पहिलोपटक आयोजित प्रतियोगितामा १६ टिमको सहभागिता र स्थानीयको उत्साहपूर्ण उपस्थितिले दुर्गम बस्तीमा पनि खेलकुदप्रतिको आकर्षण बढ्दै गएको सन्देश दिएको आयोजकको भनाइ छ। यस्ता प्रतियोगितालाई निरन्तरता दिन सके स्थानीय खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनुका साथै जोडुको पहिचानसमेत फराकिलो बन्ने अपेक्षा गरिएको छ।





