स्थानीय चुनाव लक्षित गर्दै जुम्लामा नेकपाको जागरण अभियान
गोल्डेन बुढा
जुम्ला,१७ कार्तिक।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जुम्लामा राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। पार्टी संगठनलाई पुनः सक्रिय बनाउने, विगतका राजनीतिक तथा सांगठनिक कमजोरीको समीक्षा गर्ने र जनतामाझ गुमेको विश्वास पुनः आर्जन गर्ने उद्देश्यसहित नेकपाले जिल्लाव्यापी अभियान थालेको हो। अभियानमार्फत आगामी निर्वाचनका लागि स्थानीय नेतृत्व पहिचान र उम्मेदवार छनोटको आधारसमेत तय गरिने पार्टीले जनाएको छ।पार्टी केन्द्रको आयोजनामा आइतबार प्रदेश निर्वाचन क्षेत्र (क) अन्तर्गत सदरमुकाम खलंगा र साेमबार प्रदेश निर्वाचन क्षेत्र (ख) अन्तर्गत सिञ्जा गाउँपालिकाको नराकोटबाट अभियानको उद्घाटन गरिएको हो। पार्टी जिल्ला अध्यक्ष राजबहादुर खत्रीले विगतका गतिविधिको समीक्षा गर्दै कमीकमजोरी सच्याएर संगठनलाई थप सशक्त बनाउने उद्देश्यले अभियान सुरु गरिएको बताए।अभियानको अभिमुखीकरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, कर्णाली प्रदेश सहइन्चार्ज तथा पूर्वमन्त्री नरेश भण्डारीले स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर पार्टीले जागरण अभियान सञ्चालन गरेको स्पष्ट पारे। उनका अनुसार १८ गते जुम्लाका एक नगरपालिका र सातवटै गाउँपालिका तथा २० गते जिल्लाका ६० वटै वडामा अभियान विस्तार गरिनेछ। प्रदेश निर्वाचन क्षेत्र (ख) हुँदै (क) बाट अभियान अघि बढाइएको उनले जानकारी दिए।भण्डारीले अभियान केवल संगठन विस्तारमा सीमित नभई आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्न सक्ने जनाधार भएका व्यक्तिको पहिचान गर्ने माध्यमसमेत भएको बताए। पार्टीमा क्रियाशीलता, लगनशीलता, इमानदारिता र निर्वाचन जित्न सक्ने क्षमतालाई उम्मेदवार छनोटको प्रमुख आधार बनाइने उनको भनाइ छ।’पार्टीमा सक्रिय नभई निर्वाचनका बेला मात्रै उम्मेदवारको दाबी गर्नु उचित होइन,’ उनले भने, ‘आफू र पार्टीलाई क्षति हुने गरी विना तयारी उम्मेदवारी दाबी गर्नुको अर्थ छैन। उम्मेदवार बन्न चाहनेले पर्याप्त तयारी गर्नुपर्छ। पार्टीमा क्रियाशील, इमानदार र जनतामाझ स्थापित व्यक्तिलाई प्राथमिकता दिइनेछ।’उनले पार्टीका राम्रा काम जनतामाझ पुर्याउने, विगतमा भएका कमजोरी स्वीकार गर्ने र आवश्यक सुधार गर्ने अभियानको मुख्य उद्देश्य रहेको बताए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिवेशको विश्लेषण गरेर अभियान अघि बढाइएको उल्लेख गर्दै उनले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउन जनताको विश्वास जित्नुपर्नेमा जोड दिए।भण्डारीले पार्टीको नाम र झन्डा बोकेर हिँड्ने तर निर्वाचनका बेला पार्टीकै उम्मेदवारलाई समर्थन नगर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। पार्टीको नेता तथा कार्यकर्ता भन्ने तर निर्वाचनमा फरक कित्तामा उभिएर आफ्नै पार्टीविरुद्ध गतिविधि गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो। आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर लाग्न उनले कार्यकर्तालाई आग्रह गरे।नेकपाका जिल्ला सहइन्चार्ज पदमबहादुर रोकायाले विगतको जनमतलाई आधार बनाएर आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनमा पार्टीलाई विजयी गराउनुपर्ने बताए। पार्टीभित्र बसेर आफ्नै उम्मेदवारविरुद्ध षड्यन्त्र गर्ने र निर्वाचनमा असहयोग गर्नेहरूको भूमिकाको हिसाब राख्नुपर्ने उनको भनाइ थियो।जुम्लाको लामो राजनीतिक अनुभव र विगतका निर्वाचन परिणामलाई मध्यनजर गर्दै पार्टीभित्रका कमजोरी पहिचान गर्नुपर्नेमा जोड दिँदै रोकायाले नेतृत्वमा रहेका व्यक्तिले पनि आफ्ना कमीकमजोरी सुधार गर्नुपर्ने बताए। उनले अभियानमा सक्रियतापूर्वक सहभागी हुन, जनताका गुनासा र सुझाव सुन्न तथा संगठनलाई जनतासँग जोड्न नेता–कार्यकर्तालाई आग्रह गरे।
अभियानमा नेकपाका जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पदमबहादुर रोकाया, केन्द्रीय सदस्य वीरबहादुर कुँवर, नवराज न्यौपाने, चन्द्रवीर तिरुवा, लक्ष्मी कन्यबुढा, नरेन्द्रनाथ योगी, हिमालय खत्री, शान्ति मल्ल भण्डारी, अमरजंग शाहीसहित केन्द्रीय तथा प्रदेशस्तरका नेता र सयौँ अगुवा कार्यकर्ताको सहभागिता थियो।पार्टीले जिल्लाका सबै स्थानीय तह र वडामा अभियान सञ्चालन गरेर संगठनको अवस्था, जनताको अपेक्षा, नेतृत्वको कार्यक्षमता र आगामी निर्वाचनको सम्भावनाबारे समीक्षा गर्ने जनाएको छ। जागरण अभियानलाई पार्टीभित्रको आत्मसमीक्षा, संगठनात्मक पुनर्संरचना र चुनावी तयारीको आधार बनाउने नेकपाको रणनीति देखिएको छ।





