१० औँ राष्ट्रिय खेलकुदको ‘दिनगन्ती’ सुरु
ओम शाही
सुर्खेत, १७ कार्तिक ।
कर्णाली प्रदेशमा आगामी १६–२७ मंसिरमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ३० दिने काउन्ट डाउन (दिनगन्ती) सुरु भएको छ । सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले संयुक्त रूपमा काउन्ट डाउनको शुभारम्भ गरेका हुन् । वीरेन्द्रनगरस्थित अधिकांश खेल सञ्चालन हुने प्रादेशिक रंगाशामा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले प्रतियोगितालाई उत्सवका रूपमा ग्रहण गर्न आग्रह गरे । प्रतियोगिता भव्य र सभ्य बनाउन संघीय सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता उनले जनाए । मन्त्री पोखरेलले भने, ‘प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहदा दिनगन्ती सुरु गर्ने विषयमा मुख्यमन्त्री, मन्त्रीज्यूसँग बसेर निर्णय गरेका थियौं । सोही बमोजिम कर्णालीवासीलाई १० औँ राष्ट्रिय खेलकुद आएको भान दिलाउन पनि हामीले यो काम गरेका हौं । यसको प्रमोसन गर्ने कार्यहरु पनि सुभारम्भ भएका छन् । हरेक दिन तयारीसँगै उत्साह पनि बढ्दै जाने अपेक्षा गरेका छौं ।’ संघीय सरकार मुख्य आयोजक रहेको प्रतियोगिताको सह–आयोजकको जिम्मेवारी कर्णाली प्रदेशले पाएको छ । प्रतियोगिताको मिति नजिकिँदै जाँदा तयारीलाई तीव्रता दिन काउन्टडाउन सुरु गरिएको राखेपले जनाएको छ । राखेपका सदस्य सचिव रामचरित्र मेहताले प्रतियोगिताका लागि आवश्यक खरिद प्रक्रिया, खेलाडी छनोट र बन्द प्रशिक्षणलगायत अधिकांश तयारीका काम अघि बढिसकेको जानकारी दिए । उनका अनुसार खेलाडी तथा अफिसियलका लागि आवास व्यवस्थापन, प्रचार–प्रसारलगायत प्राविधिक काम अन्तिम चरणमा छन् । प्रतियोगिताअन्तर्गत केही खेल भने ८ मंसिरबाटै सुरु हुनेछन् ।
यसपटक प्रतियोगिता सञ्चालन हुने निश्चितता बढ्दै गएको छ । यसअघि नियमित दुई वर्षमा सम्पन्न हुनुपर्ने प्रतियोगिता खेल पूर्वाधारको अभाव, संघीय सरकारको चरम उपेक्षालगायत प्राविधिक कारणले चार पटक सरेको थियो । कर्णालीमा पहिलोपटक हुन लागेको प्रतियोगिता दुई वर्षअघि अर्थात् २०८१ मंसिरमै सम्पन्न भइसक्नुपर्ने थियो । पछिल्लो पटक राखेप अध्यक्ष मन्त्री पोखरेलको अध्यक्षतामा २८ साउन २०८३ मा सम्पन्न १२५ औँ बोर्ड बैठकले पाँचौ पटक आगामी १६–२७ मंसिरमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
कर्णालीले ३ कात्तिक २०७९ मा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको थियो । त्यसपछि पहिलोपटक २ देखि ९ मंसिर २०८१ सम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको थियो । तर, प्रदेश रंगशाला निर्माण सम्पन्न नभएका कारण उक्त मितिमा प्रतियोगिता हुन सकेन । त्यसपछि २३ देखि ३० चैत २०८१ सम्म दोस्रोपटक र ३ देखि १० जेठ २०८२ सम्म तेस्रोपटक मिति तोकियो । ती दुवै मितिमा पनि प्रतियोगिता हुन सकेन । त्यसपछि चौथोपटक २०८२ फागुनमा प्रतियोगिता आयोजना गर्ने गरी मिति तोकिए पनि प्रतियोगिता सम्पन्न हुन सकेन ।
कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार आगामी मध्य मंसिरमा प्रदेश राजधानी वीरेन्द्रनगरमा भव्य समारोहका बीच प्रतियोगिताको शुभारम्भ हुनेछ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र गैरआवासीय नेपाली संघ गरी ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३२ खेल विधामा झण्डै ६ हजार बढी खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् । हमालले साढे ६ हजार खेलाडी र तीन हजार अफिसियल प्रतियोगितामा सहभागी हुने बताए ।
उनका अनुसार प्रतियोगितामा समावेश हुने खेलमध्ये २८ विधाका खेल कर्णालीका सुर्खेत, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्लामा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । बाँकी चार खेल नेपालगञ्जमा सञ्चालन गर्न प्रस्ताव गरिएको उनले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने खेलाडी, अफिसियल र पाहुनाको आवास व्यवस्थापनका लागि निजी क्षेत्रसँग समन्वय गरिएको पनि उनले बताए । धेरै खेल विधा सञ्चालन हुने वीरेन्द्रनगरमा उपलब्ध झण्डै ६ हजार बेडमा बसाइको व्यवस्था गरिनेछ । बाँकी सहभागीका लागि खेल विधा सञ्चालन हुने जिल्लाका होटल तथा सार्वजनिक भवनमा आवास व्यवस्थापन गरिने हमालले बताए ।
‘प्रतियोगिता सञ्चालनमा कुनै समस्या छैन’
काउन्ट डाउनको शुभारम्भ गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आगामी मंसिर १६ गते दशौँ राष्ट्रिय खेलकुदको भव्य समुद्घाटन हुने घोषणा गरे । प्रतियोगिताको तयारी र सुनिश्चितताका लागि औपचारिक दिनगन्ती सुरु गरिएको उनको भनाइ थियो । मुख्यमन्त्री शाहीले प्रतियोगिता सम्पन्न गर्न विभिन्न चुनौती रहे पनि तिनको सामना गर्दै निर्धारित कार्ययोजनाअनुसार अघि बढिरहेकाले कुनै समस्या नभएको स्पष्ट पारे । उनले सह–आयोजक प्रदेशका हैसियतले प्रतियोगिता तयारी र सञ्च
‘पूर्वाधार निर्माण तथा खेलाडीको तयारीका लागि नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, कर्णाली प्रदेश सरकार र स्थानीय तहका रूपमा वीरेन्द्रनगर नगरपालिका गरी तीनै तहका सरकार संयुक्त रूपमा खटिरहेको छ,’ उनले भने । तयारीका क्रममा देखिएका चुनौतीलाई सकारात्मक ढङ्गले सामना गरेर नतिजा निकाल्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री शाहीले छोटो समयको तयारीका कारण केही व्यावहारिक वा व्यवस्थापकीय अपुगता रहन सक्ने स्वीकार गरे । तयारीका क्रममा कुनै कमीकमजोरी वा अपुगता देखिएमा सञ्चारकर्मी, नागरिक समाज तथा खेलप्रेमीलाई रचनात्मक सल्लाह र सुझाव दिन उनले आग्रह गरे । प्राप्त सुझावलाई आत्मसात् गर्दै कमजोरी सुधार्न सरकार पूर्ण रूपमा कटिबद्ध रहने मुख्यमन्त्री शाहीले बताए ।





