सुरुङ खोलेर आठ कैदी फरार

सुर्खेत, १५ कार्तिक
डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठजना कैदीबन्दी सुरुङ खनेर शुक्रबार राति फरार भए । जिल्ला प्रहरी कार्यालय डोल्पाले उनीहरूको खोजतलासको लागि जिल्लाका सबै सुरक्षा निकायलाई परिचालन गरिसकेको छ । सुरुङ खन्ने तरिका हेर्दा उनीहरूले शुक्रबार राति मात्रै नभई धेरै अगाडिदेखि भाग्ने योजना बनाएको देखिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक विनय सिंहले जानकारी दिए । उनका अनुसार कारागारभित्र १५ फिट लामो सुरुङ खनेको देखिएको छ । बाँकी भागमा सेफ्टी ट्याङ्कीको सहायतासमेत लिएको पाइएको छ । शुक्रबार राति पानी परेका कारण ड्युटीमा रहेका प्रहरीले उनीहरू भागेको थाहा पाउन सकेनन् ।
‘शुक्रबार राति पानी परेका कारण ड्युटीमा रहेका प्रहरीले थाहा पाएनन्,’ प्रहरी निरीक्षक सिंहले भने, “बिहान करिब ६ बजे मात्र प्रहरीले उनीहरू फरार भएको थाहा पायो ।’ डोल्पा जिल्लाका कारागार प्रशासक दीर्घराज आरसीका अनुसार कैदीबन्दीहरूले आफूहरू सुत्ने कोठाको सिरानीपट्टिबाट सुरुङ खनेका थिए । उनीहरूको कोठानजिकै सेफ्टी ट्याङ्कीसमेत रहेकाले सुरुङ खन्ने र त्यसको सहायताले बाहिर निस्कने योजना बनाएको देखिन्छ ।
‘सुत्ने कोठाको सिरानीबाट उनीहरूले सुरुङ खनेका रहेछन् । त्यो कसैलाई पनि थाहा भएन,’ आरसीले भने, ‘म बाहिर थिएँ,  बिहान पौने ६ बजे सुरक्षाकर्मी र हाम्रा कर्मचारीले उनीहरूको कोठा चेक गर्दा नभेटाएपछि बल्ल उनीहरू भागेको थाहा भयो ।’
कारागारबाट फरार हुनेमा पाँचजना जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका छन् । तीनजना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति छन् । फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाय, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धन बुढा भनिने हरिबहादुर बुढा छन् । उनीहरू सबै जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए ।
त्यस्तै, जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका–३ का ३२ वर्षीय निशान भनिने आदेश भण्डारी पनि फरार भएका छन् । उनीहरू चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार फरार कैदीबन्दीको खोजीका लागि अहिले सबै सुरक्षा निकाय परिचालन गरिएको छ ।
एक सयजनाको क्षमता रहेको डोल्पा जिल्ला कारागारमा घटनाको समयमा १७ जना कैदीबन्दी थिए । आठजना फरार भएपछि अहिले नौ जना मात्रै बाँकी रहेका छन् । कारागारमा बेला–बेला सर्च गर्ने गरिए पनि पछिल्लो पटक दसैँयता सर्च अभियान सञ्चालन गरिएको थिएन । कारागार प्रशासक आरसीका अनुसार कैदीबन्दीबीच झगडा वा विवाद भएको अवस्थामा मात्रै सर्च अभियान चलाउने गरिएको थियो । पछिल्लो समय उनीहरूबीच कुनै विवाद नभएकाले पनि नियमित सर्च हुन नसकेको उनको भनाइ छ ।
‘हामीले कैदीबीच केही झगडा भयो वा केही विवाद भयो भने मात्रै त्यस्तो सर्च अभियान चलाउने गरेका थियौँ । पछिल्लो समय उनीहरूबीच त्यस्तो केही पनि विवाद भएको देखिएको थिएन,’ उनले भने । पुरानो प्रहरी सहायक निरीक्षकको सरुवा भएपछि नयाँ आएको र त्यसपछि सर्च गर्ने विषयमा छलफल भए पनि कार्यान्वयन हुन सकेको थिएन । ‘सई साब पनि नयाँ आउनुभयो । खाली साँझ पौने ६ बजे र बिहान पौने ६ बजे चेक मात्र गर्ने गरेका थियौँ,’ उनले भने, ‘नयाँ जिम्मेवारीमा आउनुभएका सुरक्षाकर्मीले सर्च गरौँला भन्दै गर्दा यस्तो घटना भइहाल्यो ।’ कारागारको नियमित सर्च नहुनु र कैदीबन्दीले लामो सुरुङ खनेर बाहिरिँदासमेत सुरक्षाकर्मीले समयमै जानकारी नपाउनु घटनापछि गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको छ ।
सुरुङ खोलेर आठ कैदी फरार

बाँदर र बँदेलको हैरानीले खेती प्रणाली नै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!