६ जिल्लामा मुख्य राजमार्ग अवरुद्ध

सुर्खेत, ११ असोज ।

पहिरोका कारण कर्णालीका ६ जिल्लाका सडक अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबारदेखि परेको अविरल वर्षाका कारण कालीकोटको शुभकालिका–१ गगने खोलामा आएको पहिरोले कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । सुर्खेतको बराहताल गाउँपालिका–७ अम्रिसेमा पनि पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध छ । 

त्यस्तै, कर्णाली राजमार्गअन्तर्गत जुम्लाको तातोपानी–१ स्थित राँका सडकखण्डमा खसेको पहिरोले सडक अवरुद्ध छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार रकुम पश्चिमको सानिभेरी गाउँपालिका–२ स्थित सम्लेखालामा आएको पहिरोले पुष्पलाल मध्यपहाडी राजमार्ग अवरुद्ध बनेको छ । उनका अनुसार हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा पहिरोका कारण कर्णाली कोरिडोर बन्द भएको छ । 

त्यस्तै, सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा आएको पहिरोले राप्ति राजमार्ग बन्द छ । सल्यानकै वनगाड कुपिण्डे नगरपालिका–८ मा सडक माथिबाट आएको पहिरोले सुर्खेत–सल्यान सडक अवरुद्ध छ भने, त्रिवेणी गाउँपालिका–३ ढुंगेबगरमा लुहाम–कालिमाटी सडक पूणरुपमा बन्द रहेको प्रहरीले जनाएको छ । जल तथा मौसम विज्ञान कार्यालयले आगामी आइतबारसम्म कर्णालीका पहाडी र हिमाली जिल्लामा भारी वर्षाको चेतावनी दिएपछि १० वटै जिल्लाका जोखिमयूक्त मुख्य राजमार्ग र यिनका सहायक मार्गमा पूर्णरुपमा यातायात सञ्चालनमा रोक लगाइएको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक राठौरले कर्णालीमा अधिकांश जिल्लामा वर्षा जारी भएपनि हालसम्म कुनै अप्रिय घटना घटेका छैनन् । मौसम विभागले शुक्रबार देशको पूर्विभागमा सक्रिय रहेको मौसमी प्रणाली शनिबारदेखि पश्चिम भागमा सर्ने चेतावनी दिएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरिएको उनले जानकारी दिए । जोखिमको आँकलन गरेर अवरुद्ध सडक खुलाउने प्रयास थालिएको बताइएको छ । 

६ जिल्लामा मुख्य राजमार्ग अवरुद्ध

भिरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *