पर्यावरणीय कृषि प्रवद्र्धनमा युवाको भूमिका बढाउन अर्घाखाँचीमा प्रदेशस्तरीय सम्मेलन

अर्घाखाँची, ८ असोज ।
युवाको कृषि क्षेत्रमा अर्थपूर्ण सहभागिता, नेतृत्व विकास, अनुभव आदानप्रदान तथा पर्यावरणीय कृषि प्रवद्र्धनमा युवाको भूमिका बढाउने उद्देश्यले अर्घाखाँचीमा प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन–२०८३ सम्पन्न भएको छ ।
सामाजिक सेवा अध्ययन केन्द्रको पहल तथा साझेदार संस्थाहरूको सहकार्यमा असोज ६ गतेदेखि ८ गतेसम्म शितगंगा नगरपालिकास्थित इभरल्याण्ड होटल तथा राप्ती नदी क्षेत्रमा सम्मेलन सञ्चालन गरिएको हो । सम्मेलनमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट युवा किसान, समुदायमा आधारित संस्था, सहकारी तथा युवा मञ्चका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सम्मेलनमा रोल्पाको सुनछहरी, बर्दियाका विभिन्न स्थानीय तह, बाँकेको कोहलपुर, कपिलवस्तु तथा गुल्मीको धुर्कोटलगायत क्षेत्रबाट युवा किसान सहभागी भएका थिए । विश्व खाद्य मञ्चअन्तर्गतको युवा फोरमका प्रतिनिधिको समेत सम्मेलनमा सहभागिता रहेको आयोजकले जनाएको छ ।

सम्मेलनको सुरुवात स्थानीय तथा रैथाने बीउ प्रदर्शनी तथा दर्ताबाट गरिएको थियो । सहभागी युवाले आफ्ना क्षेत्रका स्थानीय बीउ तथा कृषि अभ्यास प्रस्तुत गर्दै कृषि जैविक विविधता संरक्षण, स्थानीय बीउको महत्व तथा रैथाने कृषि प्रणाली प्रवद्र्धनका विषयमा अनुभव आदानप्रदान गरेका थिए ।
तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा पर्यावरणीय कृषि युवा सञ्जालको पृष्ठभूमि, उद्देश्य तथा आगामी कार्यदिशा, संस्थागत परिचय, बाल अधिकार तथा संरक्षण, पर्यावरणीय कृषिका सिद्धान्त तथा अभ्यास र किसान अधिकारलगायत विषयमा विभिन्न सत्रमा छलफल गरिएको थियो ।
पर्यावरणीय कृषि युवा सञ्जालका सहजकर्ता तथा पर्यावरणीय कृषि संयोजक आशीष थानीले युवा नेतृत्व, स्थानीय कृषि अभ्यास तथा युवाबीच सञ्जाल र सहकार्य विस्तारका विषयमा प्रस्तुति दिनुभएको थियो । सामाजिक सेवा अध्ययन केन्द्रका परियोजना अधिकृत केशव राज घिमिरेले संस्थाको परिचयसँगै बाल अधिकार तथा संरक्षण नीतिबारे जानकारी गराउनुभएको थियो । पर्यावरणीय कृषिका सिद्धान्त तथा व्यावहारिक अभ्यासका विषयमा कृष्ण गोपाल थारुले सहजीकरण गर्नुभएको थियो ।
सम्मेलनमा संयुक्त राष्ट्रसंघीय किसान तथा ग्रामीण क्षेत्रमा काम गर्ने मानिसहरूको अधिकारसम्बन्धी घोषणापत्र तथा साना किसानका अधिकारका विषयमा समेत प्रस्तुति र छलफल गरिएको थियो । सहभागी युवाले पर्यावरणीय कृषि प्रवद्र्धनका क्रममा उत्पादन, बजार, नीति, संस्थागत सहयोग तथा कृषि क्षेत्रमा युवाको सहभागितासँग सम्बन्धित चुनौतीबारे समूहगत छलफल गरेका थिए ।

सम्मेलनले युवालाई कृषि क्षेत्रमा नेतृत्वदायी भूमिकामा जोड्दै स्थानीय कृषि ज्ञान, सीप तथा अभ्यासलाई एकअर्काबीच आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ । स्थानीय तथा रैथाने बीउ संरक्षण, जैविक विविधता, दिगो उत्पादन प्रणाली तथा किसान अधिकारका विषयमा युवाबीच साझा बुझाइ विकास गर्न सम्मेलनले सहयोग पुर्याएको बताइएको छ ।
सामाजिक सेवा अध्ययन केन्द्रले सामाजिक न्याय, दिगो विकास, खाद्य सम्प्रभुता, जलवायु न्याय तथा समुदाय सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ । पछिल्लो समय संस्थाले युवा तथा साना किसानसँग सहकार्य गरी पर्यावरणीय कृषि, स्थानीय तथा रैथाने बीउ संरक्षण, जैविक कृषि तथा दिगो खाद्य प्रणाली प्रवद्र्धनमा काम गर्दै आएको जनाएको छ ।






