झुप्रा लघु जलविद्युतका पाँच दशक वीरेन्द्रनगरलाई उज्यालो बनाउँने  आयोजना कसरी बन्दैछ इतिहास ?

ओम शाही 

सुर्खेत, ५ भदौ ।

आजभन्दा झन्डै पाँच दशकअघि सुर्खेतमा बिजुली सुविधा अहिलेको जस्तो सहज थिएन । राष्ट्रिय प्रसारण लाइन पुगेको थिएन । जिल्ला सदरमुकाममा सरकारी कार्यालय विस्तार हुँदै थिए, बजार बढ्दै थियो र विद्युतको माग पनि बढ्दो थियो । त्यही समयमा झुप्रा खोलाको पानीबाट बिजुली निकालेर सुर्खेतलाई उज्यालो बनाउने योजना अघि बढ्यो । 

वि.स. २०३४ सालमा स्वर्गीय राजा वीरेन्द्रले तीन सय ४५ किलोवाट क्षमताको झुप्रा साना जलविद्युत आयोजना समुद्घाटन गरेका थिए । उपलब्ध प्राविधिक अभिलेखमा यो आयोजना ‘रन अफ रिभर’ प्रकृतिको र राष्ट्रिय प्रसारण प्रणालीबाट अलग्गै रहेको जिल्ला सदरमुकाम सुर्खेत केन्द्रित आयोजना थियो । 

त्यो समयका लागि तीन सय ४५ किलोवाट सामान्य क्षमता थिएन । सुर्खेतमा स्थानीय जलस्रोत प्रयोग गरेर जिल्ला सदरमुकामलाई विद्युत उपलब्ध गराउने यो आयोजना नेपालका साना जलविद्युत् विकासको प्रारम्भिक चरणको महत्वपूर्ण कडी पनि थियो । २०३१ पछि साना जलविद्युत विकास बोर्ड स्थापनाको अवधिमा झुप्रा, डोटी र जुम्ला जिल्लामा साना जलविद्युत् आयोजना विकास भएको ऐतिहासिक अध्ययनहरूले देखाउँछन् । 

झुप्रा आयोजनामा तत्कालिन समयमा एक सय १५ किलोवाट क्षमताका तीनवटा टर्बाइन–जेनेरेटर जडान गरिएको थियो । तीनवटै पूर्ण क्षमतामा चलेको अवस्थामा कुल उत्पादन तीन सय ४५ किलोवाट हुन्थ्यो । तर, आयोजना सञ्चालनमा आएको करिब एक दशकपछि नै यसको कुल बिजुली उत्पादनमा ह्रास आउन थाल्यो । 

जल तथा ऊर्जा आयोगको अभिलेख अनुसार त्यतिबेला झुप्रा आयोजनाबाट पाँच सय ४८ घरेलु र आठ औद्योगिक उपभोक्ताले विद्युत् सेवा लिइरहेका थिए । पावरहाउस वीरेन्द्रनगर बजारबाट करिब ६ किलोमिटर उत्तर पूर्वस्थित झुप्रा खोलामा थियो । तर, तीनमध्ये एउटा टर्बाइन बिग्रिएको थियो । 

झुप्रा खोलामा पर्याप्त पानी नहुँदा दुईवटा एक सय ५ किलोवाटका युनिट मात्र सञ्चालनमा थिए । त्यसैले तीन सय ४५ किलोवाटको जडित क्षमता भए पनि उत्पादन तथा वितरण करिब दुई सय ३० किलोवाटभित्र सीमित गर्नुपरेको थियो । विद्युत अभाव व्यवस्थापन गर्न त्यतिबेला कम एम्पियरका फ्युज प्रयोग गर्ने, विद्युतबाट खाना पकाउन रोक्ने र केही फ्ल्याटरेट उपभोक्ताको लाइन काट्नेजस्ता उपाय अपनाइएका थिए ।

जल प्रवाह कम हुन थालेपछिको संकट

झुप्रा खोलाको पानी बारे चर्चा गर्दा प्रायः पुरानो आयोजना भएकाले बन्द भयो भन्ने बुझाइ पाइन्छ । तर, २०४२/०४३ पछिको अध्ययनले भने यसको समस्या धेरै पहिले नै देखाइसकेको थियो । अध्ययनले झुप्रा खोलाको बहाव घट्नुमा आयोजनाको इन्टेकभन्दा माथिल्लो क्षेत्रमा सिँचाइका लागि पानी मोडिनु र जलाधार क्षेत्रमा वन विनाशलाई कारणका रूपमा उल्लेख गरेको थियो । 

अर्थात् जलविद्युत उत्पादनको आधार नै रहेको पानीको स्रोतमा दबाब चार दशकअघि नै देखिएको थियो । यो तथ्य अहिले वीरेन्द्रनगर उपत्यकामा चुलिएको खानेपानी संकटले पुष्टि गर्छ । झुप्रा जलविद्युत आयोजनामा बिजुली निकाल्न प्रयोग गरिने पानी नै अहिलेको वीरेन्द्रनगर उपत्यकाको खानेपानीको मुख्य स्रोत हो । 

यो आयोजना बिग्रिएको मात्र होइन, आयोजनालाई चलाउने प्राकृतिक स्रोतको व्यवस्थापन पनि तत्कालिन समयमा चुनौती बनेको थियो । झुप्राको अर्को चुनौती सुर्खेतको तीव्र विकास थियो । तत्कालिन समयमा सुर्खेत क्षेत्रीय सदरमुकामका रूपमा विकसित हुँदै गएको र सरकारी तथा अर्धसरकारी कार्यालय थपिँदै गएका थिए । सडक विस्तार तथा दैलेख र जुम्लातर्फ यातायात सम्पर्क बढ्ने अपेक्षाले भविष्यमा विद्युतको माग झनै बढ्ने अनुमान गरिएको थियो ।

तत्कालिन सरकारी अध्ययनले २०४६/०४७ सम्म सुर्खेतको पिक लोड पाँच सय किलोवाटभन्दा बढी पुग्ने अनुमान गरेको थियो । तीन सय ४५ किलोवाट जडित क्षमता भएको झुप्रा आयोजना आफैँ पूर्ण क्षमतामा चल्न नसकेको अवस्थामा त्यो माग धान्नु कठिन थियो । 

त्यसैले अध्ययनले नेपालगन्जबाट करिब ३५–४० किलोमिटर प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत ग्रिडसँग जोडिनुलाई सुर्खेतको बढ्दो विद्युत् माग सम्बोधन गर्ने व्यावहारिक समाधानका रूपमा औँल्याएको थियो । अर्थात्, झुप्रा कमजोर हुँदै जानुको एउटा कारण आयोजना मात्र थिएन । सुर्खेतको विद्युत मागले नै त्यसको क्षमतालाई उछिनिसकेको थियो । समय बित्दै गयो । 

नेपाल विद्युत् प्राधिकरण स्थापना भयो र राष्ट्रिय प्रसारण प्रणाली विस्तार हुँदै गयो र सुर्खेत पनि राष्ट्रिय ग्रिडमा जोडियो । स्थानीय सानो जलविद्युत् आयोजनामा निर्भर हुनुपर्ने अवस्था अन्त्य भयो । तर, झुप्राको नाम भने नेपाल विद्युत् प्राधिकरणको अभिलेखबाट अझै हटेको छैन । प्राधिकरणका पछिल्ला वार्षिक प्रतिवेदनमा झुप्रा लघु जलविद्युतका रूपमा सूचीकृत गरिएको छ । 

प्राधिकरणले सामान्य सञ्चालनमा नरहेको आयोजनामा समावेश गरेको छ । अर्थात्, पाँच दशकअघिको जडित क्षमता र आजको अभिलेखमा रहेको क्षमता उही छ । तर, त्यो क्षमताबाट नियमित विद्युत् उत्पादन भने सधाका लागि बन्द भएको छ । उति बेला सुर्खेतको ऊर्जा आपूर्ति गर्ने आयोजना अहिले जंगलले ढाकिएको छ । आयोजनाका बाँधदेखि ड्यामस्थल र विद्युतगृहका संरचना उस्तै छन्‌् । तर, सञ्चालनमा ल्याउन सकिने अवस्थामा भने देखिदैनन् ।

सौर्य प्लान्टको काम ६० प्रतिशत 

तत्कालिन समयमा वीरेन्द्रनगरको ऊर्जा आपूर्तिको मुख्य केन्द्र बन्द भएपछि अहिले सोही स्थानमा नेपाल विद्युत प्राधिकरणले दुई मेगावाटको सौर्या ऊर्जा प्लान्ट निर्माण गरिरहेको छ । लेकवेशी नगरपालिका–१०, स्थित साटाखानीमा नेपाल विद्युत प्राधिकरणले दुई मेगावाट क्षमताको सौर्य विद्युत प्लान्ट निर्माण गरिरहेको हो । प्राधिकरणको आफ्नै स्वामित्वमा रहेको पाँच विगाह १२ कट्ठा जग्गामा झुप्रा सौर्य विद्युत आयोजना निर्माण गरिरहेको छ । प्राधिकरणले 

तीन हजार चार सय १६ सोलार प्यानलमार्फत एसी करेन्ट दुई र डिसी करेन्ट २.४ मेगावाट बिजुली उत्पान गर्ने लक्ष्य रोखेको छ । निर्माण व्यवसायी प्राजेल ग्रिन इनर्जी लिमिटेडका सिनियर सिभिल इन्जिनियर आकास मदनवालका अनुसार हालसम्म आयोजनाले ६० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । 

‘नेपाल सरकारले दिएको जिम्मेवारी अनुसार हामीले तोकिएको समय अगावै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘३४ सय बढी सोलार प्यानलबाट दुई मेगावाट बिजुली उत्पादन गरेर राष्ट्रिय ग्रिडमा जोड्ने लक्ष्य छ । फिल्डस्तरमा सबै निर्माण सामग्री आइसकेकाले आगामी डिसेम्बरसम्म काम सम्पन्न गर्नेगरी अघि बढेका छौं ।’ 

उनका अनुसार उत्पादित बिजुली वीरेन्द्रनगर–११, स्थित सुब्बाकुना शवस्टेशनमा ल्याएर राष्ट्रिय ग्रिडमा जोडिने छ । त्यसका लागि झण्डै साढे तीन किलोमिटर लामो प्रशारण लाइन विस्तार भइसकेको उनले बताए ।

झुप्रा लघु जलविद्युतका पाँच दशक  वीरेन्द्रनगरलाई उज्यालो बनाउँने   आयोजना कसरी बन्दैछ इतिहास ?

सम्पादकीय :  वन्यजन्तु संरक्षणमा जिम्मेवार वन 

झुप्रा लघु जलविद्युतका पाँच दशक  वीरेन्द्रनगरलाई उज्यालो बनाउँने   आयोजना कसरी बन्दैछ इतिहास ?

सिधनियाघाट पुल निर्माण ७५ प्रतिशत पूरा तटबन्धको

Leave a comment

Your email address will not be published. Required fields are marked *