कर्णालीमा पूर्व बाल क्लब सदस्य संगठित, बालअधिकारका लागि १२ बुँदे घोषणा

सुर्खेत ,२३ साउन ।

कर्णाली प्रदेशमै पहिलो पटक विभिन्न समयमा बाल क्लबमा बसी विशिष्ट योगदान दिई अनुभव सँगालेका पूर्व बाल क्लब सदस्यहरूको प्रथम ऐतिहासिक भेला, २०८३ सिसिआर कर्णालीको आयोजना र सेभ द चिल्ड्रेन, युनिसेफ, प्लान इन्टरनेशनल नेपाल सँगको साझेदारीतामा सम्पन्न भएको छ । आयोजक संस्था सिसिआर कर्णालीका अध्यक्ष टीकाराम आचार्यको सभा अध्यक्षतमा, कर्णाली प्रदेश सभा, सामाजिक विकास समितिका सभापति मा. पूर्ण बहादुर खत्रीको प्रमुख आतिथ्यतामा, मा. कल्याणी खड्का, मा. उर्मिला विश्वकर्मा, मा. दान बहादुर हमाल लगायत प्रदेश बाल क्लब सञ्जालका उपाध्यक्ष अनुराधा चौलागाई, स्याक्स सुर्खेतका संयोजक पवित्रा शाही, सेभ द चिल्ड्रेनका रत्नराज ओझा, युनिसेफका दीपक श्रेष्ठ, प्लान इन्टरनेशनलका दीक्षा भट्टको आतिथ्यता रहेको थियो ।

पूर्व बाल क्लब सदस्य शर्मिला वि.सी.को संयोजकत्वमा गठित कार्यदलको सक्रियतामा भेलाको व्यवस्थापन गरिएको थियो । विषय प्रवेश कार्यदलको संयोजक शर्मिला वि.सी.ले कर्णालीमा बालबालिकाको तथ्यांकसँगै बालबालिकाका सवालहरू प्रस्तुत गरेसँगै कार्यक्रमको सेसनहरू सञ्चालन गरिएको थियो । कार्यक्रमको सहजीकरण पूर्व बाल क्लब सदस्य एवम् आयोजक संस्था सिसिआर कर्णालीका कार्यकारी निर्देशक टेकराज आचार्यले गर्नुभएको थियो ।
भेलामा, बालअधिकारको क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै, सुर्खेतका नागरिक समाजका अगुवा, पिताम्बर ढकाल, टीकाराम आचार्य, रमा भण्डारी, तत्कालीन जिल्ला बाल कल्याण समितिका बाल प्रतिनिधि टेकराज आचार्य, नेपालमा बाल क्लब दर्ताको कानूनी लडाई लडी सम्मानित सर्वोच्च अदालतबाट २०५८ श्रावण २५ गते बालबालिकाको बाल क्लब दर्ता गर्नु भनी आदेश आउनुमा नेतृत्व गर्नुभएको तिलोत्तमा पौडेललाई सम्मान गरियो । त्यसैगरी सुर्खेतबाट बाल अधिकारको क्षेत्रमा स्थापना देखि निरन्तर कार्यगर्दै आएको सेभ द चिल्ड्रेन र स्याक्स नेपाललाई समेत सम्मान गरियो ।
बाल सहभागिता हिजो, आज र भोलि विषयमा प्यानल छलफलको सहजीकरण पूर्व बाल क्लब सदस्य, राकेश पौडेल र वक्ताको रूपमा पूर्व बाल क्लब सदस्य हाल गुर्भाकोट नगर उपप्रमुख मैना वि.क., पूर्व बाल क्लब सदस्य हाल युनिसेफमा कार्यरत प्रेम चन्द र पूर्व बाल क्लब सदस्य हाल सफल युवा उद्यमी दीपक बुढा रहनुभएको थियो ।
पूर्व बाल क्लब सदस्यहरू र वर्तमान बाल क्लबमा आबद्ध सदस्यहरू बीच अन्तरक्रिया सेसन रमा भण्डारी, पूर्व बाल क्लब सदस्यहरू, बाले विश्वकर्मा, तारा प्रसाद पौडेल, अनिता नेपाली, हिमा उपाध्यायले संयुक्त रूपमा गर्नुभयो ।

भेलाले पूर्व बाल क्लब सदस्यहरूको संगठित हुने र बाल अधिकारको क्षेत्रमा योगदान दिन एक कार्यविधि पारित गरेको छ । उक्त कार्यविधि अनुसार १ वर्षे कार्यकाल र १५ सदस्यीय समिति गठन गर्न कर्णाली प्रदेशका १० वटै जिल्लाका एक एक जना प्रतिनिधि गरी १० जना र १ जना दलित, १ जना महिला, १ जना अपाङ्गता, १ जना यौनिक तथा लैंगिक अल्पसंख्यक र १ जना सदस्य सचिव रहने गरी १५ सदस्यीय समिति हुने प्रावधान उक्त कार्यविधिमा रहेको छ । उक्त कार्यविधि अनुसार संयोजकमा सुर्खेत जिल्लाका तेज सेनाम, उपसंयोजकमा जुम्ला जिल्लाका अनिता वि.क., सदस्यहरूमा दैलेखबाट हरिकला खड्का, कालिकोटबाट बाले विश्वकर्मा, मुगुबाट अनिता भियाल, डोल्पाबाट रणबहादुर कार्की, जाजरकोटबाट जयन्ती खत्री सुधार, सल्यानबाट प्रकाश नेपाली, चयन हुनु भएको छ ।
भेलाले १२ बुँदे कर्णाली घोषणा पत्र जारी गरेको छ । समग्र बालबालिकाको क्षेत्रमा योगदान दिने प्रतिवद्धता सहितको घोषणा पत्र तयार भएको छ:
१. हामी सबै बाल समूहका पूर्व सदस्यहरू बालक्लब पूर्व सदस्य सञ्जालमा सहभागी हुन, सहभागी हुन प्रेरित गर्न सहमत भएका छौँ ।
२. यस सञ्जाललाई संस्थागत रूप दिन र सुदृढीकरणमा सहयोग गर्न तयार भएका छौँ ।
३. तत्कालीन समयका बाल संरक्षण र उत्तरदायित्व लिएका सरकारी संरचनाहरूको सुदृढीकरणमा निरन्तर सहयोग गर्ने ।
४. सिप, क्षमता र रुचिका आधारमा कार्य जिम्मेवारी विभाजन गर्ने ।
५. आत्मनिर्भरतालाई अवलम्बन गरी त्यसको विकास र सुदृढीकरण गर्ने ।
६. भूगोल, विचार, संस्कृति, अनुभव एवं विविधतालाई सम्मान गर्दै गैर राजनीतिक र धार्मिक तटस्थता कायम गर्ने ।
७. अनुसन्धान, तथ्य र तथ्यांकमा आधारित बोली, भाषा र व्यवहारको सम्मान र प्रवद्र्धन गर्ने ।
८. संवाद, सहकार्य, समन्वय र साझेदारीमा आधारित कार्य गर्ने ।
९. समावेशी समता र समानता मुखी व्यवहार र संस्कृतिलाई अवलम्बन र प्रवद्र्धन गर्ने ।
१०. अधिकारमुखी अवधारणालाई अवलम्बन र सम्मान गर्ने ।
११. बालअधिकार प्रवद्र्धन, संरक्षण र सुनिश्चित गर्न जो जहाँ भए पनि सक्रिय भूमिका मार्फत योगदान दिने ।
१२. बाल समूह र बाल आवाज उठाउन, बालबालिकाहरूको आवाज परिवार, समुदाय र संस्थागत तहमा सुनुवाइका लागि पैरवी गर्ने ।
(अतिरिक्त व्यवस्था: तत्कालका लागि हरेक जिल्लाबाट १/१ जना प्रतिनिधि छनौट गरी कार्य समिति गठन गर्ने । उक्त १० सदस्य प्रतिनिधिले १ जना संयोजक, १ जना उपसंयोजक छनौट गर्ने र सोही समितिले १ जना महिला, १ जना दलित, १ जना जनजाति, अपाङ्गता भएका १ जना र लैंगिक अल्पसंख्यक प्रतिनिधि छनौट गर्ने छ ।)
कार्यक्रमको समग्र व्यवस्थापन बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले गरेको थियो ।

कर्णालीमा पूर्व बाल क्लब सदस्य संगठित, बालअधिकारका लागि १२ बुँदे घोषणा

कर्णालीमा पूर्व बाल क्लब सदस्य संगठित, बालअधिकारका

Leave a comment

Your email address will not be published. Required fields are marked *