स्याउ पाक्ने बेलामा बाटो बन्द हुँदा मर्कामा किसान

बाजुरा, १८ साउन ।
स्याउ पाक्ने बेला बर्सेनि बाटो बन्द हुने गरेपछि अहिले यहाँका किसान निकै मर्कामा पर्ने गरेका छन् । गत जेठको अन्तिमदेखि अहिलेसम्म यहाँको मार्तडी–कोल्टी सडक अवरुद्ध बन्दै गएको छ । यो सडक असोज–कात्तिकभन्दा यता सञ्चालन हुने सम्भावना छैन ।
जीविकोपार्जनका लागि स्याउ खेती सुरु गर्दै आएका यहाँका किसानको स्याउ पाक्ने बेला सधैँ यसरी नै सडक अवरुद्ध हुने गरेपछि पछिल्लो समय यहाँका किसान मर्कामा पर्ने गरेका हुन् । यहाँ साउन १५ देखि भदौको अन्तिम सातासम्म स्याउ पाक्ने गर्छन् । मार्तडी–कोल्टी सडक पनि यति बेला नै बन्द हुने गर्छ। गत जेठदेखि अवरुद्ध बनेको सडक अझै खुलेको छैन ।
बुढीनन्दा नगरपालिका–९ का स्याउ किसान प्रकाश रोकायाले भने, “मेरो चार–पाँच सय वटा स्याउका बोट छन् । ती अधिकांश बोट अहिले राम्रोसँग फलेका छन् । यता बारीमा स्याउ पाक्ने समय भयो । उता मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि स्याउ कसरी बजारसम्म पुर्याउने भन्ने चिन्ता लागेको छ ।”
उनले थपे, “बाटो बन्द नभएको भए व्यापारी स्याउ लिन स्याउबारीमै आउने गर्थे । यता बाटो बन्द भएपछि उनीहरू यहाँ आउँदैनन् । आफैँले त्यो स्याउ पिठ्युँमा बोकेर बजारसम्म पुर्याउन सकिँदैन ।” मार्तडी–कोल्टी सडक अवरोधका कारण नै यहाँका स्याउ किसान बर्सेनि यसरी नै मर्कामा पर्ने गरेका छन् । यो समस्या समाधानका लागि धेरै पटक सम्बन्धित निकायमा भन्ने गरिएको छ । तर उताबाट हाम्रो यो समस्याको केही सुनुवाइ नभएको रोकायाले बताए ।
जिल्लाको पूर्वी–उत्तरी क्षेत्रका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकामा स्याउ राम्रो फल्ने गर्छ । पछिल्लो समय यहाँ उत्पादन भएको स्याउ देशका विभिन्न ठाउँमा पुग्ने गरेको छ । हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका किसानको स्याउ कर्णाली करिडोर हुँदै देशका विभिन्न ठाउँमा जाने गरेको भए पनि यता बुढीनन्दा नगरपालिकामा उत्पादन भएको स्याउ भने बजारसम्म लान समस्या हुने गरेको छ ।
मार्तडी–कोल्टी सडक लामो समयसम्म अवरुद्ध बन्ने गरेकाले यहाँको स्याउ बजारसम्म लान समस्या हुने गरेको हो । हिउँदमा यहाँको सडक सुचारु हुने गरेको भए पनि वर्षाको समय सधैँ सो सडक अवरुद्ध हुने गरेकाले यहाँको स्याउ बजारसम्म पुर्याउन समस्या हुने गरेको स्याउ किसानको गुनासो रहेको छ ।
फाट्टफुट्ट रूपमा खप्तड छेडेदहको काँडा, गौमूल र बडीमालिकाका केही ठाउँमा पनि स्याउ उत्पादन हुन्छ । तर यहाँ कम मात्रामा स्याउ उत्पादन हुन्छ । पहिला यहाँ लोकल जातको मात्र स्याउ उत्पादन हुने गर्थ्यो । अहिले यहाँका किसानले गाला, फुजी र गोल्डेन नयाँ जातको स्याउ उत्पादन गर्ने गरेका छन् ।
विगतका केही वर्षयता यहाँ उत्पादन भएको झन्डै छ सय मेट्रिकटन स्याउ देशका विभिन्न सहरमा बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । यहाँ १७० हेक्टर जमिनमा स्याउ खेती गरिन्छ । गत वर्ष एक हजार २० मेट्रिकटन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए ।
उनले भने, “यहाँको स्याउ बजारसम्म पुर्याउनका लागि अहिले कृषि ज्ञान केन्द्रले ढुवानी अनुदानको व्यवस्था गर्दै आएको छ ।” पहिला लोकल स्याउ मात्र उत्पादन हुने गरेको यहाँ अहिले फुजी, गाला र गोल्डेन जातको समेत स्याउ उत्पादन हुने गरेको छ । यसरी उत्पादन भएको यो स्याउ अहिले देशका विभिन्न ठाउँमा बिक्री हुने गरेको साहनीले बताए ।






